१६ चैत्र २०८० शुक्रबार
कला

प्रमोसन

लघुकथा

प्रज्ञाले हाकिमीय आदेशमा बोलिन्, ‘सुब्बा सा’प, कति गर्नुहुन्छ अफिसियल काम । हिँड्नुस् न प्रणय दिवस मनाउन ।’

अनायास सुब्बाको अनुहार उज्यालियो । उनले फुरुङ्ङ हुँदै भने, ‘हाकिम सा’प, के गर्नु होला ? अडिटका फायल मिलाउन अझै बाँकी छ ।’

प्रज्ञाले शानका साथ सम्झाइन्, ‘सुब्बा सा’प, मैले भनेपछि किन टेन्सन लिनुहुन्छ तपाईं ?’

सरर्र हुइँकियो कार । सिसाको झ्यालबाट परपरसम्म चिहाउँदै थिए आँखा।  

होटलको कोठामा प्रेमिल वातावरण थियो । बेयराले सेवा गर्दै थिए  । बियरको गिलास चेस गर्दै हाकिम बोलिन्, ‘जीवन दुईदिने घामछाया हो, सुब्बा सा’प, अहिले छ, भरे छैन । त्यसैले जिन्दगीमा जतिसक्दो रंगरस गर्न पनि जान्नुपर्छ है।’

मौका पर्खेर बसिरहेका सुब्बा सा’पले नौनीझै हुँदै भने,  ‘हजुर, हो नि, हजुरको आज्ञा शिरोपर छ । हजुरले यसैपटक मेरो बढुवा गरिदिनुहुन्छ भन्ने आस छ । सुब्बामै थन्किएर त यस्तो महँगीमा बाँच्न गाह्रो हुने रहेछ !’

हवाइलो कोठामा मधुर वार्तालाप चल्दै थियो । खुलेआम मन रौसिँदै थिए । दुवै अर्धनग्न भइसकेका थिए । अचानक प्रज्ञाको मोबाइलको घन्टी बज्यो । प्रज्ञाले अनुहारको डिम्पल माथिका जोडी आँखाले चूपचाप बस्न संकेत गर्दै आदेशको भाषा बोलिन्, ‘ओ माई डार्लिङ, सुन त अफिसियल काममा म व्यस्त  छु । आज म आउन्न । नानीहरूको ख्याल गर्नु है ।’

सुब्बा सा’प पनि म के कम । अर्धनग्न अवस्थामै घरमा फोन लाए, ‘क्यूटी मैयाँ, आज एउटा जरुरी कामले बाहिर जानुप¥यो । आज आउँदिनँ । भोलि भ्यालेन्टाइन डेमा तिमीलाई सरप्राइज छ ।’

– के सरप्राइज ? जन्तर हालिदिने हो ?

सुब्बा सा’प बोले, ‘होइन नि क्यूटी मैयाँ, मेरो प्रमोसन हुँदैछ के !’

प्रकाशित: १२ मंसिर २०७७ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App