७ वैशाख २०८१ शुक्रबार
कला

मनको बर्डफ्लु

कथा

देवकी केसी

 

वसन्तले जीवनको चौविस वसन्तमा पाइला राखिसक्दा पनि कुनै कामधन्दा समात्न नसकेकोमा उसका आमाबाबुमा चिन्ता थपिएको थियो । ऊ सरहका थुप्रै साथीहरू अरब र युरापतिर पुगिसके । कोही फौजी बनेर देशको सेवामा लागिसके विए पढिसकिस् वसन्त अब त कुनै कामधन्दा समात्नु पर्यो नि ? वसन्त तेरो पनि विहे गर्ने बेला भइसक्यो । घरमा विहे गर्ने उमेरकी बहिनी छे । हाम्रो उमेर ढल्कन थालिसक्यो । आमाबाबुका यस्ता रातदिनका गुनासाले आमाबाबुको मुहारमा जति चिन्ताका रेखा थपिन्थे । त्योभन्दा धेरै चिन्ता वसन्तमा पनि थपिन्थ्यो ।

आमाबाबुको ऊप्रतिको गुनासो पनि स्वभाविक नै थियो । आमाबाबुका गुनासोप्रति वसन्तले कहिल्यै नकारात्मक दृष्टिकोण राखेन । तर, परिवारका लागि आफूले केही गर्न नसकेकोमा वसन्त लज्जित थियो । आफू जवान भइसकेको र अब घरको भार आफ्नो तालुले थेग्ने बेला भइसकेको वसन्तलाई राम्रैसंग ज्ञान थियो ।

तर उसका पनि आफ्नै बाध्यता थिए । आफ्ना अलि उच्च वर्गका साथीहरू जस्तो जापान, अमेरिका, अष्ट्रेलिया जाने हैसियत उसमा छैन । अरू साथीहरू जस्तो अरबतिर भेडाबाख्रा गोठालो हुन र कोरियातिर सुँगुर र कुखुराका दिसा सोहर्न उसलाई पटक्कै जान मन मानेन । वास्तवमा भन्नुपर्दा वसन्तलाई विदेशप्रतिको मोह पनि थिएन ।

स्वदेशलाई माया गर्नुपर्ने र स्वदेसमा नै आफ्नै सीप चलाउनुपर्ने भावना उसका मनमा ज्वारभाटा बनेर उर्लिरहन्थ्यो । देशकै सेवा गर्न तत्पर भएर वसन्त सिपाहीमा भर्ती हुन नगएको पनि होइन । पैसा र पावरले पेल्न नसकेपछि सद्धे माललाई पनि अंसख्य खोट देखाएर गलहत्याउने कुसंस्कारको जालोमा वसन्त पनि नराम्रोसंग अल्झियो ।

सबैतिरबाट ठक्कर खाएको ऊ बूढा आमाबाबु र तरुनी बहिनी ओत लाग्ने एउटा घर पनि धितो राखेर खाडीमा गोठालो बन्न जान चाहँदैनथ्यो । विदेशमा अरूका जुठ्यान सफा गर्न उसको अन्तरमन मान्दैनथ्यो । बरु जसोतसो ऋणको जोहो गर्दै गाउँमा नै कुखुरापालन गर्ने विचार गर्यो उसले । त्यसो त उसले कुखुरापालनको तालिम पनि हासिल गरेको थियो । आमाको कान र गला रित्तै पारेर बेच्यो । त्यतिले पनि नपुगेर अलिअलि ऋण काढ्यो उसले र गाउँमा कुखुरा फार्म संचालन गरी वसन्तले आफ्नो पौरख आफ्नै माटोमा पोख्न थाल्यो ।

सुरुमा दुई हजार कुखुरा चल्ला राखेर सुरुवात गर्यो उसले । उसका तालिम शिक्षा र पौरखले ती साना चल्लाहरूलाई राम्रै मलजल मिलेर होला ? ती साना फोहोरी चल्लाहरू खाइलाग्दा देखिन थाले । रातदिन नभनी कुखुराकै हेरचाहमा तल्लीन वसन्तको लगनशीलता कुखुरामा भाउको वृद्धि  र विकासले स्पष्ट हुन्थ्यो । ती कुखुरालाई हेर्दै वसन्त औधी खुसी हुन्थ्यो । स्वदेशको माटोमा पसीना पोखेर मोति फुलाउने आफ्नो सपना पूरा गर्नमा तल्लीन थियो वसन्त ।

वसन्तको पौरखले आमाबाबुको ओठमा हाँसो फुलेका थिए । आफ्ना कान र गला रित्तै हुँदा पनि वसन्तको पौरखमा अत्यन्त खुसी थिइन् उनकी आमा पनि । बैंसालु रहरहरू फुल्दै गरेकोमा बहिनीको मुहारमा पनि बेग्लै खुसी थियो वसन्तको लगनशीलता प्रति । वास्तवमा भन्नुपर्दा मेहेनतमा त्यो घर नैे गद्गद् थियो । स्वदेशमा आफ्नो सीप सुम्पिने वसन्तको एक मात्र लक्ष्य पनि पूरा हुने समय आएको भान हुन्थ्यो । ऊ सोच्ने गर्दथ्यो– उसको यो व्यवसाय सफल हुनु भनेको युवा वर्गको हौसला बढ्नु हो । देशप्रतिको माया उँचो हुनु हो । स्वाभिमानको जित हुनु हो । स्वरोजगार बनेर विदेशीको दासबाट मुक्त हुनु हो । देशको काँध थाप्ने खम्बा बलियो हुनु हो । देशका गहना युवाहरू पलायन हुनबाट रोक्नु हो ।

वसन्तको कुखुरापालन व्यवसायमा चुलिदै गएको सफलताबाट स्वयं वसन्त र घरपरिवार मात्र होइन । हिजोका दिनमा वसन्त बरालिएर हिँड्यो भन्दे आरोप लगाउने आफन्तहरू पनि खुसी हुन थालेका थिए । आफ्नो हत्केलामा बिलाउने ती साना हिजोका फोहोरी चल्लाहरू आज आफ्नो मेहनतले गर्दा दुई हातले उचाल्नुपर्ने गरी फस्टाइसकेका थिए ।

अब त वसन्तको मेहनत पनि बजारसम्म पुर्याउने बेला भइसकेको थियो । बजारतिर यदाकदा अलिअलि वर्डफ्लुको हल्ला पनि सुनिन थालेका थिए । त्यसै कारण कुखुराको मासु र अण्डाको भाउ पनि ओरालो लाग्दै थियो । सुरुमा खासै नाफा नहुँदा पनि वसन्तले आधा जति कुखुरा बजार पुर्यायो । सुरुमा उसले त्यति ठूलो परिमाणमा नाफा हासिल नगरे पनि घाटा पनि उसले बेहोर्नु परेन । उत्पादनकर्ताले राम्रो माल उत्पादन गरेर के गर्नु बजार भाउको तालमेल नमिल्दा व्यवसायीको मेहनत एकक्षण नै पानी बन्छ भन्दै वसन्तको मनमा दिक्दारी उठ्न थालेका थिए । तैपनि धैर्यताका साथ वसन्तले आफ्नो लगनशीलतालाई निरन्तरता दिन भनछाडेनन् ।

बर्डफ्लुको हल्लाले बजार दिन प्रतिदिन तातिन थाल्यो । सुरुमा यसलाई हल्ला मात्र ठाने पनि अब भने यो हल्लाले कुखुराको मासु र अण्डाको व्यापार ठप्पै हुन थाल्यो । उपभोक्ताले वर्डफ्लुको त्राससंगै यसको प्रयोग गर्न पनि धमाधम छाड्न थाले । यसको प्रत्यक्ष प्रभाव वसन्त जस्तै स्वदेशलाई आफ्नो पसीनाले रसिलो पार्न चाहने युवावर्गमा पार्न थाल्यो । एकतिर आफ्नो उत्पादन बिक्री गर्न हतारो अर्कोतिर बजारमा कुखुराको व्यापार ठप्प आइलागेको स्वरोजगार बन्न खोज्ने वसन्त जस्ता साना युवा व्यवसायीहरूमाथि ।

वर्डफ्लुको सन्त्रासले कुखुरापालन व्यवसायीहरू सबै घाटामा चुर्लुम्ब डुब्ने अवस्थामा पुगेका थिए । अझ बढी बर्डफ्लुको सन्त्रासले सम्पन्न ठूला र स्थापित व्यवसायीलाई भन्दा बढी समस्या थोपरेको थियो वसन्त जस्ता साना, स्थापित हुन खोज्ने व्यवसायीहरूलाई । वर्डफ्लुको सन्त्राससंगै सरकारको ध्यान पनि साना देखि ठूला सबै कुखुरा फार्मतिर पर्न थालेका थिए । दिनदिनै वर्डफ्लु नियन्त्रणका लागि कुखुरा फार्मका कुखुराहरू नष्ट गर्न थालेका समाचारले प्राथमिकता पाउन थाले पछि वसन्तको मनमा पनि तुफान चल्न थाल्यो । घरघरमा अण्डाका लािग पालिएका दुईचारवटा कुखुराहरू पनि मानिसहरूले राज्यका वर्डफ्लु नियन्त्रण आइपुग्छन् कि भन्ने डरले पहिले नै आफ्नो भोजन बनाए ।

हर्लक्क बढेर चिल्ला सर्लक्क परेका कुखुराहरूलाई हेर्दै वसन्त खुसी हुन्थ्यो । अनि वर्डफ्लुको अनुगमन र नियन्त्रण टोली पुगेको समाचारले वसन्त झस्किन्थ्यो । जताततै वर्डफ्लुको चर्चाले अनायासै वसन्तको खुसी फुल्न लागेको घरमा दुःख थुप्रिन थालेका थिए । उसका आमाबाबुको ओठको मुस्कानमा पनि ग्रहण लाग्न थालेको थियो । आफ्नै पौरखमा बाँच्न चाहने धेरै युवा वर्गमा निरासा छाउन थालेको थियो । बर्डफ्लु हुन सक्ने आंशकाकै भरमा पनि कुखुराहरू नष्ट गरियो भन्दै कुखुरा व्यवसायीहरू सरकारसंग कष्ट भएका समाचारहरू पनि अखबारमा छ्यापछ्याप्ती आउने गर्दथे ।

एकदिन ती वर्डफ्लुको अनुगमन र नियन्त्रणका लागि भनेर खटाइएका सरकारी कर्मचारीहरू वसन्तको त्यो सानो कुखुरा फार्ममा पनि आइपुगे । सबै कुखुरामा बर्डफ्लुको संकेत देखिएको र सबै कुखुरा नष्ट ती  सरकारले खटाइएको कर्मचारीहरूका मुखबाट सुनेपछि वसन्तको मनमा थामि नसक्नुको पीडा भयो । उसले रोग लागेका बाहेक अरूलाई जिउँदो राख्न आग्रह गर्यो तर उसको आग्रहलाई त्यतिबेला स्वीकार गर्न नमिल्ने कुरा उनीहरूबाट व्यक्त भयो । दुईचार वटा कुखुराहरूमा वर्डफ्लुको संकेत देखिएपछि त्यसले पूरै कुखुराहरूमा वर्डफ्लु सार्न सक्ने र त्यसबाट मानिसमा संकेत वर्डफ्लुको गंभीर असर हुन सक्छ भन्दै कुखुराहरू नष्ट गर्नुपर्ने कुरा वसन्तलाई बताए । वसन्तको परिवारको अनुनयलाई सरकारका ती कर्मचारीहरूले सुनेनन् । यसबाट समुदायमा पनि सर्न सक्छ भनेपछि समुदायका मानिसहरू पनि त्रसित बने । त्यतिखेर सिङ्गो समुदाय  नै वर्डफ्लु शब्द सुन्ना साथ त्रसित देखिन्थे । त्यसमाथि उनीहरूको उपस्थितिले त समुदायमा वर्डफ्लुको आतंक नै बेजोडसंग मच्चिएको थियो ।

एकक्षणमा सेता पोसाक अनि हातगोडा जताततै पलास्टिक लगाएका मास्कले पूरै अनुहार ढाकेका कर्मचारीहरू वसन्तको कमाइमाथि खनिन थाले । ती सेता वस्त्रले ढाकिएका कर्मचारीहरू वसन्तलाई कात्रोमा बेरिएका मुर्दाजस्तै लाग्न थाल्यो । वर्डफ्लु नियन्त्रण अभियानमा सक्रिय ती कर्मचारीहरु हुल बाँधेर फार्मभित्र पस्दा कुखुराहरु आत्तिदै कराउन थाले । आफ्ना हातले सुमसुम्याउँदै माया खन्याएर पालेका ती कुखुराहरु आत्तिदै कराउन थाले । आफ्नो माया र सीप खन्याएर पालेका ती कुखुराहरू कर्मचारीहरूका यातनाबाट प्रताडित भएर बेजोडसंग कोलाहल गर्न थाले । उनीहरूको कोलाहालले वसन्तको मन आगोभैm तातो हुन पुग्यो । हुन त ती कुखुराहरू पालिएका पनि मारिन नै हुन् तर पनि आफ्नो आँखा अगाडि उनीहरूमाथि भएको यातनाबाट वसन्तले आपैmमाथि यातना बर्सिएको महसुस गर्न थाल्यो । यातनाबाट मृत्युवरण गर्दै गरेका कुखुराहरू हेरेर ऊ मनमनै आफूले महापाप गरेको ठान्ने थाल्यो ।

सेता पोसाकका कर्मचारीहरूका यातनाबाट चीत्कार गरिरहेका आफ्ना प्यारा कुखुराहरूलाई देखेर वसन्तको आँखाबाट आँसुको मूल फुट्यो । तिनीहरूको चित्कार सुन्दा यस्तो लाग्थ्यो ती चिच्याएर जीवनरक्षाका लागि गुहार माग्दै छन् । उनीहरूको चीत्कार सुन्न नसकेर वसन्तले आफ्नो औलाहरूले कान बन्दकम गर्यो । बाँच्ने आशा प्रायः संसारमा सबै प्राणीमा हुन्छ र अधिकार पनि । तर यति निर्दयी तरीकाले कुखुराहरूलाई दिएको यातनाबाट वसन्त स्तब्ध बनेको थियो । उसलाई ती सेता पोसाकमा पसेका सरकारका कर्मचारीहरू हिटलर जस्ता लागे । उसले मनमनै भन्यो  – सरकारका हिटलरहरू कुखुरा फार्मभित्र पसेर तानासाही प्रवृत्ति देखाउँदै छन् ।

वर्डफ्लु नियन्त्रणको अभियानमा सरकारले कुखुरा फार्महरूमा अनुगमन गर्दै कुखुराहरू मार्दै बोरामा हाल्ने खाडल खनेर गाड्ने  र बोरामा कोचेर जिउँदै जलाइएका दृश्य समाचारमा वसन्तले देखेको थियो । आज तिनै गतिविधि उसले प्रत्यक्ष आफ्नै आँखाले देख्यो । कुखुराहरूमाथिको त्यो क्रूरताले वसन्तको मन नराम्रोसंग अमिलियो । त्यो दृश्य हेर्न नसकेर वसन्त भुँइमा थचक्क बस्यो ।

आफ्ना हातले स्याहारेका ती कुखुराहरू एक झोक्का बतासले भैm लथालिङ्ग पारिदियो, उजडियो उसका कुखुरा फार्म पनि । ती कुखुराहरू जसलाई एकक्षण नदेख्दा र उनीहरूका आवाज सुन्न नपाउँदा वसन्तलाई छटपटी हुन्थ्यो । अब त त्यहाँ कुखुराको एक भुत्ला पनि नरहने गरी उजाड भइसकेको थियो उसको फार्म । उसको आमाको गला र कान जस्तै रित्तियो क्षणभरमै उसको कुखुरा फार्म पनि । उजाडिएको कुखुरा फार्मसंगै उसको सपना र आमाबाबुको ओठको हाँसो पनि उजाडिएको थियो ।

ती सेता कात्रो बेरिएका जस्ता पोसाक लगाएका कर्मचारीहरू सरकारले दिएको जिम्मेवारी पूरा गरेर खुसी हुँदै बाहिर निस्किए । आफ्नो कुखुरा फार्मको कुखुराहरू नष्ट गरेर बर्डफ्लुको खतराबाट समुदायलाई जोगाएको समाचारले अखबारमा प्राथमिकता पाए । तर वसन्तले कैयौं दिनसम्म पनि ती कुखुराहरूका चीत्कार, आफूले हत्केलामा खेलाएका ती साना चल्लाहरूलाई भुल्नै सकेन ।

सरकारको बर्डफ्लुको संक्रमणबाट नागरिकलाई जोगाउने प्रयास त जायज नै थियो । तर सरकारको बर्डफ्लु नियन्त्रण अभियानले के वसन्त जस्ता फुल्न लागेका युवाहरूको थाप्लो ऋणबाट नियन्त्रण गर्न सक्छ होला त ? यसतर्पm सरकारको खासै चासो देखिन्थ्यो । जति उनीहरूका चासो कुखुरा व्यवसायीहरूको फार्ममा गएर कुखुरा नष्ट गर्नुमा थियो त्यति ती व्यवसायीहरूको लगानीमा चासो पुगेको थिएन । सरकारको यो अभियान देख्दा यस्तो लाग्थ्यो बर्डफ्लु कुखुराहरूमा होइन सरकार चलाउने ठेकदारहरूको मनमा सल्किएको थियो । जब मनमा आगो लाग्न थाल्छ त्यसले संसार नै जलेको देख्न थाल्छ भनेझै सरकारको मनमा पनि बर्डफ्लु संक्रमण लागेको थियो । त्यसैले सरकार जताततै बर्डफ्लुको संक्रमण देखेर विनायोजना नै नियन्त्रणका कामहरू गरेझै देखिन्थ्यो । सरकारको यो अभियानमा कति निरोगीहरू पनि यातनाको शिकार बने, उनीहरूमाथि कति क्रूरता हुन पुग्यो त्यसतर्फ सरकारको खासै ध्यान पुग्न भने सकेन ।

ऋणबाट पोलेको आफ्नो थाप्लो सेलाउने आशमा बसन्तले गरेको मिहेनत बालुवामा पनि खन्याएझै भयो । ठूलो व्यवसायीहरूलाई भन्दा वसन्त जस्ता साना व्यवसायीहरूमा सरकारको यो अभियानले वज्रपात नै पर्न गयो । वसन्त जस्तै आफ्नै माटोमा पौरख देखाउन चाहने सबै युवाहरू निराशको बादल छायो । वसन्तको थाप्लो फेरि ऋणको बोझले गल्न थाल्यो ।

आफन्तहरूले वसन्तको ऋणले पोलेको थाप्लो शीतल पार्र्ने उपाय दिए खाडी मुलुकको पचास डिग्रीको तापक्रममा पसीना बगाउन उड्ने । वसन्तले आमाको रित्तिएको गला र कानलाई हेर्यो । आफ्नो व्यवसायले रित्तो पारेको आफ्नो आमाको कान र गला हेरेर वसन्तको मन नराम्रोसंग दुख्यो । बाबुका गालामा पनि निराशाका रेखाहरू स्पष्ट देखिन्थ्यो । बहिनीको ओठको लालीमा दुःख पोतिएको देख्यो वसन्तले । उसले आफ्नो घर हेर्यो । घरमा भित्ताहरू दलिन सबै भत्किसकेका थिए, अवश्य पनि घरले मर्मत खोजिरहेको थियो ।

यी सबै स्थितिलाई नियाल्दै गर्दा वसन्तको मस्तिष्कमा एउटा विकल्प आएर टक्क अडियो । विकल्प थियो उही आफन्तहरूले भनेजस्तै खाडी मुलुकको तातोसंग मितेरी गाँस्नु । बर्डफ्लु नियन्त्रणको अभियानमा सरकारले गरेको आंतकको छाप मानिसहरूमा यति नराम्रोसंग गडेको थियो कि वसन्तलाई गाउँमा व्यवसाय गर्न ऋण पत्याउै छाडे सबैले । तर विदेश जान भनेपछि ऋण दिनेहरू पनि निकै थिए । जसोतसो फेरि ऋण आफ्नो थाप्लोमा थपेर वसन्त खाडी उड्यो आमाबाबु, बहिनी, आफन्त, प्यारो घर सबैलाई छाडेर । सुखको वर्षात लिएर आउने आशमा । 

प्रकाशित: १२ मंसिर २०७७ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App