८ वैशाख २०८१ शनिबार
कला

बेथितिको चाङ

कविता

केशवप्रसाद पौडेल

 

आज विश्वकर्मा परिवर्तन भयो  

पण्डितको झोला फेरियो

बन्चरो, कचिया, खुकुरीहरू परिवर्तन भए

अन्ध भक्तिभाव फेरियो  

तर, परिस्थिति र नियतिका धारहरू उस्तै छन्

वेलिएका रोटीहरू उस्तै छन्

आरनको तापमा घनले हानिएका फलामहरू

आज पनि पिटिएका पिटियै छन्

परिवर्तन भएको खै केही देखिँदैन  

जी हजुरको चरणोकमलले झन् चरमोत्कर्षको रूप लिएको छ  

फैलिएको छ, झाँगिएको छ

जदौ मालिक हजुरले  

राज्यलाई कुनै न कुनै रूपमा जताततै गाँजेको गाँजेकै छ

साम, दाम, दण्ड र भेदले राज गरेको गरेकै छ

पाउ मोली तलुवा चाटेकै देखिन्छ

त्यसैलाई आशीर्वाद प्रदान भएको भएकै छ

स्वाभिमान र उच्चानुशासन दण्डित भएको भएकै छ

सायद यस्तै महसुस हुँदैछ  

लाग्छ यसको स्थिरीकरण  

र  

निर्मलीकरण समयको क्रममा ढिलो –चाँडो हुनेछ

केवल सपनाको ओछ्यानमा पल्टिएको बेला

कल्पनाको सिरानीमा सोचका सिरकहरू ओढिरहेका बेला

केवल नआउने मुस्कानको मीठो लड्डु खाएको बेला ।

प्रकाशित: १२ मंसिर २०७७ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App