जीवन दाहाल
मेरो अफिसको छेउमा एउटा चिया पसल छ । मैले समेत चिया खाने गरेको । अब तपाईं भन्नु होला चिया पनि खाइन्छ भनेर । धन्दा नमान्नुस् हामी खाने जातका मान्छे हौ । त्यसैले हामी पानी पनि खान्छौं । त्यसैले त हाम्रो पानी बाँड्ने संस्थाको नाउँ खाने पानी संस्थान भएको छ । उदाहरणका लागि ।
उक्त पसलमा प्रायः साहुनी बस्छिन् र उनको स्वभाव बडो अनौठो लाग्छ मलाई । ठ्याक्कै भन्नु पर्दा अहिलेका राजनीतिक पार्टी र उनीहरूका विवेक मालिकको पाउमा चढाएका हनुमान कार्यकर्ताहरूको जस्तै ।
उनको पहिलो प्रश्न – खाना खाईवरी आउनु भो हैन त दाइ !
– हो ।
– त्यसपछि,घर मैं कि बाहिरै !
– घरमै ।
बाहिर भन्यो भनें त उनका सत्र प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । किन भाउजू हुनुहुन्न ! पकाउनु हुन्न ! के भएर छोराछोरीले पकाउँदैनन् ! ए घरभरि मान्छे भएर पनि आफैं पो आदि –आदि ।
अनि,
आज के तरकारी खानु भो त !
– इस्कूस ।
– छ्या स्कूस पो ! मलाई त फिटिक्कै मन पर्दैन भन्या ।
फेरि,
– आज चैं के तरकारी खानु भो नि !
– आलुदम ।
– ह्या, आलु पो !
अनि क्रमशः आज भिण्डी, आज बन्दा, घिरौला भन्दाभन्दा म थकित भएँ तर उनी भइनन् र ह्या गर्न पनि छोडिनन् तब मैले जुक्ति लगाएँ थकित बनाउने ।
– के जुक्ति लगाएँ सुन्नुस् है त ।
– आज पोट्याटो चिल्ली ।
– ए !
– पम्किन ग्रेभी ।
– ए !
– मस्टार्ड साइलेज सुप ।
– यसपछि जतिपटक सोध्दा पनि यस्तै उत्तर दिन थालेपछि उनको केही लागेन छ अनि म अर्को पटक पुगेको बेलामा पसलबाट एउटा कपी निकालिन । जुन कपीमा मैले भनेका र उनले नबुझेका शब्द टिप्ने गरेकी रहिछन् र कपीमा लेखेको हेर्दै मलाई नै सुटुक्क सोधिन्– दाइ, यो पोट्याटो चिल्ली भनेको के हो !
– आलु र भेडे खोर्सानी ।
– पम्किन ग्रेभी !
फर्सीको लेदो ।
– अनि दाइ, मस्टार्ड साइलेज सुप भनेको चैं नि !
– गुन्द्रुकको झोल ।
गुन्द्रुकको झोलमा पुगेपछि भने उनको बोली बन्द भो ।अर्काका घरको अनावश्यक चासो लिने र छ्या गर्ने ।
– तपाईंलाई पनि काम लाग्यो कि !
प्रकाशित: ११ मंसिर २०७७ ०८:३१ बिहीबार