मन्जुश्री गिरी
‘आमा कति वर्षकी हुनुभयो ! ’ सेतै फुलेको कपाल र चाउरी परेको अनुहार हेर्दै सोध्यो सेतेले ।
वृद्धाश्रममा बसेको बूढी आमाले भनिन्, ‘सतासी वर्ष पुगें !’
– आश्रममा बसेको कति भयो !
– बीस वर्ष भयो । किन सोध्नुभयो होला बाबु !
– तपाईंका आफ्ना कोही नभएर यहाँ आउनुभएको हो र ! घर कहाँ हो !
– बाबु, आफ्ना मान्छे नभएका भए म यहाँ आउँदैनथेँ । घर कुपन्डोलमा छ । एउटा छोरा थियो । छोरा मरेपछि बुहारी र नातिले व्यापार गर्छ भनेर घरखेतमा सहीछाप गरिदिएँ । मभन्दा धन प्यारो भयो । सबैले हेला गर्न थालेपछि छिमेकीले यहाँ ल्याइदिए ।
‘ए ’ भन्यो सेतेले र त्यहाँबाट हिँड्यो । घरमा आएर सोच्यो अब विदेश जान्नँ । बरु यहीँ ज्यामी काम गर्छु । धन पनि छैन । वृद्धाश्रम पनि जान्नँ ।
प्रकाशित: ११ मंसिर २०७७ ०६:४६ बिहीबार