दामोदर पुडासैनी किशोर
तालको किनारमा उभिएपछि
गहिरा आँखा र नीलो ताल
उस्तै – उस्तै लागे मलाई
खोज्दै हिँड्यो भने
पोखरी
गहिराइ र खोचमा पनि भेटिंदो रहेछ
पहाडको चुचुरामा पनि भेटिंदोरहेछ
गहिराइ, खोच , उज्यालो , अँध्यारो
जहाँ पनि हेर्छ आँखाले
तर बास भने
सधैँ भीरमै बसेको छ
तालको किनारमा उभिएपछि
दुविधामा परेँ म
लहरहरू पहिले
आँखाबाट शुरू भयो कि तालबाट
अग्निज्वाला
जलबाट शुरू भयो वा थलबाट
आजसम्म
कहिल्यै बनाउन जानेन
पानीले कुनै आकार
यिनै आँखा र तालले
आकार बनाउन खोजेका छन्
व्यग्रताका साथ बग्न खोज्ने पानीको
जसरी तिमी र म उभिएर
उमारेका छौं प्रेमको नवीन अँकुरण
कयौं उकुसमुकुसका लहरहरू
जमेका छन् तालमा
तरंगहरू दौडाएर
एक कुना र अर्को कुनामा
सधैं सग्लो बस्न खोजिरहन्छ ताल
मनका वेदना र खुशीहरू
कहिले चित्रमा उतारेर
र , कहिले कुलोबाट बाहिर निकालेर
सधैं सँग्लिन खोज्छन् आँखाहरू
तिम्रा आँखाको नीलो पानी
र नीलै रंगमा लहरिरहेको ताल
दुवै उस्तै – उस्तै लागिरहेको छ
यसबेला दोमनमा छु म
भन
तिम्रा गहिरा आँखामा पौडूँ
कि अथक फैलेको
यो विशाल तालमा
कहिल्यै झूठो देख्दैनन् आँखाहरूले
फैलाउन खोज्छन् विवेक
परपर क्षितिजसम्म
जजस्ले जतासुकैबाट दिउँन्
धूलो , मैलो , दुर्गन्ध र कठोर बालुवा
चूपचाप ग्रहण गरिरहन्छ तालले
र ,सँग्लिरहन्छ निरन्तर
हजारौ व्यथा बोकेर पनि
हाँस्दै जीवनको रंग खोजिरहने मान्छे
र ,
सग्लो तरंगमा फैलिरहने ताल
किनकिन मलाई उस्तै लाग्छ
लामो बिछोडपछि प्रेमिका भेटेको प्रेमी
र,
कठिन तपस्यापछि तालमा जीवन देखिरहेको म
भर्खर उभेका छौं तालको किनारमा
ठीक यसैबेला
तालमा पौडी खेलिरहेछन्
संसारभरका सुन्दर आँखाहरू
(राराताल, मुगु, २०७५ असोज २२ गते)
प्रकाशित: १० मंसिर २०७७ १०:४४ बुधबार