१५ माघ २०७७ बिहीबार
कला

धर्म संस्कृति

लघुकथा

विष्णु भण्डारी आचार्य

 

 

जेठो छोराले आफैँले मन पराएर ल्याएकी बुहारी हो, शिलस्वभावयुक्त सुन्दर र पढेलेखेकी भए पनि बुहारी ल्याएदेखि हरिहरको अनुहार कहिल्यै उज्यालिएन, भित्रयाएकै दिन उनले छोरालाई साफी झपार्दै भनेका  थिए – हामीले पनि हेर्न जानेको थियो,एकसेएक केटी भेटिन्थे बाहुनकै छोरी, जति विद्घान भए पनि  आफ्नो धर्म संस्कृति भुल्न हुन्छ मान्छेले । आफू चैँ कस्ता न होलान् भनेर सक्दो खर्च गरेर छोराछोरी पढायो, बुद्धिचाहिँ भ्रष्ट भएपछि के गर्नु  ।

– आफू सानै हुनुपर्छ । किन प्रतिक्रिया जनाइहाल्नु, जन्म दिने पिता हुन्, यति भन्ने अधिकार छ उहाँको पनि । प्रमोद चूपचाप रहे ।  

बुहारी पढेलेखेकै थिइन् । सासूससुराको मान राखेर बोल्दथिन् । समाजमा कथित तल्लो जात भए पनि पण्डितकै घरमा सुहाउने शिलस्वभाव थियो उनको ।

बाआमालाई जति सेवा गरेर रिझाउन खोज्दा पनि उहाँहरूको मन पग्लेन, बुहारीले पकाएकै  नखाने, परपरै बस्नुपर्ने, मन भाँचिनु  स्वभाविकै थियो प्रमोदको, छोराबुहारीले छुट्टिएर बस्ने मनसाय राख्दा केही रोकावट भएन ।

– गए जाउन् , आफ्नो अर्को छोरो छँदै छ केको चिन्ता भन्नेजस्तो भाव देखाए हरिराम  दम्पतीले।

अर्को साल कान्छो पनि विदेशबाट आउने भयो । धेरै वर्षपछि घर फर्केको छोरो , खुसीले खुट्टा भुइँमा थिएन । त्यसमा पनि ठूलो देश गको छोरो ।

आउने दिन हरिहरले भव्य  पार्टीको आयोजना गरे, बुहारी पनि लिएर आउँदै छ रे, यसो विधि पनि गर्नैपर्यो, खानपानको  व्यवस्थासहित सारा आफन्त र छिमेकी बोलाए ।

आँगनमा  आइपुगेपछि, छोराबुहारी खत्रक्क कारबाट ओर्लिए । छोराले मेरा बाआमा भनेर चिनायो बुहारीलाई ।

उसले ढिलो  नगरी  ‘हाइ आयाम मारिया, आयाम फम यू एस ए’ भन्दै घ्वाप्लाक्क अँगालो हाली र ओठ चुच्चो पारेर गालामा च्वापच्वाप म्वाइँ  खाई सासूससुरालाई ।

त्यसबेला हरिहरले अरू मान्छेतिर हेर्दै गर्वले छाती चौडा पारे ।

प्रकाशित: १० मंसिर २०७७ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App