तारा केसी
रातको एघार बजे रक्सीले मात्तिएर छोरा घरभित्र पस्यो।
‘बाबु, हामी खाना कुरिरहेका छौ। हिँड्, खाना खान जाऊ । प्रज्ञाले भनिन्।
नशाको सुरमा छोराले भन्यो, ‘सौतीने आमाको यो नाटक मलाई मन पर्दैन।’
ऊ बर्रबराउदै कोठातर्फ लाग्यो ।
छोराको व्यवहारबाट दुखी भएर हरिशरणले भने,‘प्रज्ञा, आज मलाई ठूलो गल्ती गरेको आभाष भइरहेछ। मेरो यो व्यक्तिगत समस्याको भुङ्ग्रोभित्र आज तिमीबिना कसुर जल्दै छौ। म माफी माग्न पनि योग्य छैन ।’
– के भन्नुभएको हजुर । मैले सबै कुरा बुझेर हजुरसँग बिहे गरेकी हुँ। यो हाम्रो साझा समस्या हो । अब हामीले छोरालाई कसरी सुधार्ने त्यो पो सोच्नु पर्छ त।
प्रज्ञाको कुरा सुनेर हरिशरणले भने,‘खोई अब छोरा सुध्रेला जस्तो लाग्दैन मलाई ! संगत पनि राम्रो छैन। केही भनौ भने समाजले सौतिने बा आमाले हेला गरे भन्छन् । आफ्नै सन्तानप्रति पनि बोल्न नहुने दिन आउँदो रहेछ। मेरी स्वर्गवासी धर्मपत्नीले पनि शान्ति नपाउने भई , छोराको कारण।’
हरिशरण बडो तनावमा थिए। एकदिन छोरा बाइक एक्सिडेन्टमा परेको खबर आयो। अप्रेसन कोठाबाट बाहिर निस्कदै डाक्टरले भने, ‘ ठूलो दुर्घटनाबाट बाँच्यो , एकछिन ढिला भएको भए ज्यानै जान सक्थ्यो। हजुर बेलैमा आएर आफ्नो रगत दिएर छोराको ज्यान बचाउनुभयो । अहिले होस आएको छ ।भेट्न जान सक्नुहुन्छ।’
प्रज्ञाले छोरालाई भेटिन् । सबैजना आफन्त,छिमेकीहरू भेट्न आए ।
– राम्रो खानपिन मिठो बोली दिएको भए यसरी बिग्रने थिएन होला। विष ओकेले आफन्त र छिमेकीले।
हरिशरणबाट अब सन्तान नहुने कुरा थाहा हुँदाहुँदै पनि यही छोरा मेरो हो भनेर बसेकी प्रज्ञाको मनमा ठूलो चोट लाग्यो। हरिशरण बोल्न चाहेर पनि बोल्न सकेनन्। यी सबै कुरा सुनेपछि छोराले भन्यो , ‘मामु, मलाई माफ गरिदिनुस्। मैले हजुरको धेरै मन दुखाएँ । मैले नदेखेकी आमालाई मात्र संम्झिएर, मलाई यसरी माया गर्ने आमालाई भुले। सौतीने आमामा दृष्ट हुन्छन् , कहिले राम्रो गर्दैनन् समाजले भन्थ्यो , मैले पनि त्यही कुरा पत्याएँ। कथाका हाउगुजी संम्झिएँ। हजुरले मप्रति गर्नुभएको माया र सजाउनुभएको हाम्रो घर सबै बिर्से मैले वास्तवमा म पो दुष्ट र स्वार्थी रहेछु।’
प्रज्ञाको आँखाबाट अश्रुधारा आँसु बगे ।
प्रकाशित: १० मंसिर २०७७ ०८:४० बुधबार