८ वैशाख २०८१ शनिबार
कला

नयाँ पुस्तक बालउद्यान

 रत्न प्रजापति

 

पछिल्लो समय बालबालिकाका सम्बन्धमा चासो राख्ने व्यक्ति र संघसंस्थाहरूको संख्या निकै बढेको छ । बालबालिका भविष्यका कर्णाधार हुन् । यस अर्थमा बालबालिकाका सम्बन्धमा चासो र चिन्ता लिने व्यक्ति र संघसंस्थाहरूमा वृद्धि हुनु सकारात्मक पक्ष हो । प्रारम्भिक बालविकासदेखि बालअधिकारका विषयमा वकालत गर्ने स्वदेशी तथा विदेशी संघसंस्थाहरू पनि थुप्रै खुलेका छन् । संविधानप्रदत्त बालअधिकारको प्रयोग गर्दै बालबालिकाको चौतर्फी विकासमा सघाउन विभिन्न व्यक्ति तथा संघसंस्थाहरू अग्रसर हुँदा बालबालिकाले लाभान्वित हुने अवसर पनि प्राप्त गरेका छन् । बालबालिका लाभान्वित हुनु भनेको अन्ततः देश लाभान्वित हुनु हो । किनभने देशको भविष्यको जिम्मेवारी अहिलेका बालबालिकाले नै काँधमा बोक्ने हुन् । अहिलेका बालबालिकालाई स्वस्थ, शिक्षित, सभ्य, योग्य र दक्ष बनाउनुका साथै देशप्रति इमानदार र बफादार बनाउने काममा घरपरिवारदेखि राज्यका सबै सरोकारवाला निकाय गम्भीर हुन सक्यो र सोअनुरूप आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नसक्यो भने देशको भविष्य उज्ज्वल हुनेमा कुनै सन्देह रहन्न ।

बालविकासको कुरा गर्नासाथ संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि र अभिसन्धिलाई सम्झने गरिन्छ । तर यति ठूलो कुराले भन्दा घरपरिवारले बालबालिकासँग दैनिक रूपमा गर्ने व्यवहारका ससाना कुराले धेरै महत्व राख्दछन् । यो कुरालाई भने हामीले त्यति वास्ता गर्ने गरेका छैनौं । हो, हाम्रो गल्ती पनि त्यहींनेर छ । बालबालिकाप्रति हामीले कस्तो व्यवहार गर्नुपर्छ भन्ने सामान्यभन्दा सामान्य कुरामा ध्यान नदिंदा बालविकास र बालबालिकाको सामाजिकीकरणमा अनेक समस्या देखिने गरेका छन् र देखिएका छन् । कतिपय अवस्थामा ठूलो कुराले भन्दा सानो कुराले बढी माने राख्दछ । बालबालिकाको सवालमा पनि यही कुरा लागु हुन्छ । यस्ता व्यावहारिक कुराहरू हामीले जानेर पनि भुलेका छौं र नजानेर पनि भुलेका छौं । त्यसैले यस्ता व्यावहारिक कुराहरू कतिपय अभिभावक र बालबालिकासँग्र प्रत्यक्ष सम्पर्कमा आउने मानिसहरूलाई सिकाउनु वा बुझाउनुपर्ने खाँचो पनि छ । यही खाँचोलाई महसुस गरेर लेखिएको एउटा महत्वपूर्ण पुस्तक हो ‘बालउद्यान’ । शिक्षण पेशामै ३७ वर्ष बिताएका खडानन्द अधिकारीले आफ्नो शिक्षकीय ज्ञान र अनुभवलाई समेटेर लेखेको यो पुस्तक बालविकासको क्षेत्रमा निकै उपयोगी हुने देखिन्छ ।

बालउद्यान

यसो त नेपालमै पनि बालविकास र बालबालिकासँग सम्बन्धित दर्जनौं पुस्तक लेखिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा विदेशी भाषामा लेखिएका पुस्तकहरूको संख्या असीमित छ । तीमध्ये केही गहकिला पुस्तकहरूलाई सन्दर्भ सामग्रीका रूपमा अरू धेरै लेखकले पनि उपयोग गर्ने गरेका छन् । तर धेरै पुस्तकमा पाइने धेरै थरी कुरालाई एउटै पुस्तकमा अटाउने प्रयास गरिएको हुँदा पाठकलाई सहजता महसुस पक्कै हुनेछ ‘बालउद्यान’ पुस्तकको पठनबाट । यस पुस्तकमा धेरै ठूल्ठूला कुरामा नभई लेखकले साना तर बालविकासका सन्दर्भमा धेरै महत्वका कुरामा ध्यान दिएका छन् । बालबालिकाको सर्वाङ्गीण विकासका लागि एउटा परिवारमा अभिभावकले निर्वाह गर्नुपर्ने जिम्मेवारीदेखि शिक्षक, समाज र राज्यले निर्वाह गर्नुपर्ने जिम्मेवारीसम्मका सम्बन्धमा ज्यादै सरल भाषाशैलीमा लेखिएको छ ।  

‘बालबालिका हाम्रो घरका गहना हुन् । यिनीहरू हामी आफैंले आमन्त्रण गरेका अतिथि हुन् । यिनीहरू हाम्रो भरोसाका केन्द्र हुन् । हाम्रो वंश परम्पराका संवाहक पनि हुन् । केटाकेटी नभएको घर शून्य र उराठलाग्दो हुन्छ । बच्चा नभएको परिवार पूर्ण रूपमा सन्तुष्ट हुँदैन ।’ (पृष्ठ १३) लेखकका यी भनाइमा हामी असहमत हुन सक्छौं र ? सक्दैनौं । हाम्रो घरमा ठूला मानिसका रुचि र स्वादअनुसारको खाना पाक्छ । यहाँ बच्चाको रुचि र स्वादको कुनै वास्ता हुँदैन । भोजभतेरमा चुलै निम्तो भनेर सपरिवार निमन्त्रणा गरिन्छ तर परिवारमा केटाकेटी पनि हुन्छन् र उनीहरू आए भने कस्तो खानेकुरा दिने र कस्तो ठाउँमा राख्ने भन्ने कुरा आयोजकले पनि सोचेको हुँदैन । बालबालिकाले आफ्ना आमाबाबुलाई मनपरेको रङ्गको पोशाक लगाउनुपर्छ । हाम्रा भ¥याङका खुट्किलाहरू, खाटको उचाइ, ढोकाको छेस्किनी, पानीको धारो, दराजको ¥याक, लुगा राख्ने ह्याङ्गर आदि सबै बालबालिकाको पनि सरोकारका विषयहरू हुन् । तर त्यसमा पटक्कै ध्यान दिएको पाइँदैन । यी र यस्तै बालसरोकारका विषयहरूलाई उठाएर बालविकासमा गम्भीर हुन अभिभावकदेखि राज्यसम्मलाई घच्घच्याउने अभिप्राय लेखकको रहेको देखिन्छ ।

‘बालबालिकाका लागि पहिलो पाठशाला घर र पहिलो शिक्षक आमाबाबु हुन् । आमाबाबुबाट बालबालिकाहरूले स्वभाव, चरित्र, संस्कार, संस्कृति, प्रेम, सद्भाव र जीवनोपयोगी सीपहरू सिक्न सक्छन् ।’ (पृष्ठ ९५) लेखकको यो भनाइले बालविकासमा आमाबाबुको प्रारम्भिक भूमिका हुन्छ र त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ भन्ने यथार्थलाई उजागर गरेको छ । यो पुस्तक विशेषगरी अभिभावक र शिक्षक लक्षित भए पनि बालविकासमा सरोकार राख्ने समाज र राज्यका अन्य निकायका लागि पनि उत्तिकै उपयोगी देखिन्छ ।

पुस्तकमा बालबालिकासँग जोडिएका धेरै विषयमा लेखिएका सामग्री छन् । देश तथा विदेशका प्रतिष्ठित व्यक्तित्वहरूको चर्चा गरेर एकातिर बालबालिकालाई उत्प्रेरणा दिने प्रयास गरिएको छ भने त्यस्तो वातावरण निर्माण गर्न प्रत्यक्ष–अप्रत्यक्ष रूपमा अभिभावक वर्गमा आग्रह पनि गरिएको छ । संक्षेपमा भन्नुपर्दा यस पुस्तकभित्र हाम्रो शिक्षाको परम्परा, बालबालिकाका लागि शिक्षा र बालविकासका सन्दर्भमा विभिन्न मनोविद्हरूका परामर्श, शिक्षाविद्का भनाइ, बालबालिकाको मनोसामाजिक विकाससँग सम्बन्धित कथा तथा कविता र लेखकका आफ्नै शिक्षकीय अनुभव पनि छन् । यसैगरी बालबालिकाका जिज्ञासा, उनीहरूले वहन गर्न सक्ने जिम्मेवारी, उनीहरूको स्वाभिमान, उनीहरूको स्वतन्त्रता, उनीहरूले भोग्ने भय र एक्लोपना, उनीहरूले गृहकार्य नगर्नाका कारण आदिका बारेमा पनि पुस्तकमा मिहीन ढङ्गले चर्चा गरिएका छन् । लेखकको अध्ययन, अभ्यास र अनुभव तीनै कुरा पुस्तकमा समेटिएका छन् । अभिभावकले व्यवहार गर्ने र बालबालिकालाई प्रभाव पार्ने सामाजिक, धार्मिक, पारम्परिक र मनोवैज्ञानिक पक्षका विषय पनि समेटिएका छन् । सुधार्नैपर्ने पक्षहरू पनि औंल्याइएका छन् ।  

बालबालिकाको बहुआयामिक पक्षलाई समेटेर लेखिएको पुस्तकमा बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावक र शिक्षकको जिम्मेवारीपूर्ण दायित्व हुने र उनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने यथार्थलाई उदाहरणसहित विश्लेषण गरिएको छ । त्यसपछि समाज र राज्यको पनि उत्तिकै दायित्व हुने कुरालाई पनि संकेत गरिएको छ ।  

बालबालिकाको पालनपोषणदेखि उनीहरूको क्रमिक विकास, बालबालिकामा निहित सम्भावना, उनीहरूलाई दिनुपर्ने शिक्षादीक्षा, हौसला, प्रेरणा, प्रोत्साहन र अवसरका बारेमा लेखकले उचित उदाहरणसहित निकै प्रभावशाली ढङ्गले लेखेका छन् । बालविकासको सन्दर्भमा कुरा गर्दा बालबालिकाका इच्छा र चाहनालाई बुझ्ने प्रयासदेखि वर्तमानमा उनीहरूले भोगिरहेको समस्या र सकसको समाधानमा अभिभावक, घरपरिवार, समाज र राज्यको दायित्वलाई पनि मिहिन ढङ्गले केलाउँदै सम्बन्धित सबैले बालविकासमा गम्भीर हुनुपर्ने आवश्यकतालाई औंल्याइएको छ  ।  

पुस्तकभित्र बालबालिका सम्बन्धी देश तथा विदेशमा प्रचलित केही भनाइदेखि बालबालिकाका लागि आवश्यक वातावरण र सिकाइ, बालहिंसा, बालसरोकारको विषयमा भइरहेको बेवास्ता, हामीले बुझ्न नचाहेको र बुझ्न नसकेको बाल स्वाभिमान, अपिरपक्व बालबालिकाका परिपक्व क्रियाकलाप, हाम्रो कर्म र बालबालिकाको मर्म, बालबालिका र प्रकृति, बालस्वतन्त्रता, बालजिज्ञासा, बालबालिकाले निर्वाह गर्नसक्ने जिम्मेवारी, बालबालिकाप्रति शिक्षकको जिम्मेवारी, बालबालिका र अभिभावक, बालबालिका र गृहकार्य, संविधानमा बालअधिकारका कुरा र बालअधिकार सम्बन्धमा अन्तर्राष्ट्रिय महासन्धिसम्मका विषयमा सरल भाषामा लेखिएका गहकिला सामग्री छन् । यति धेरै विषयमा एउटै पुस्तकमा लेखिदिएर लेखकले पाठकहरूलाई अरू दर्जनौं पुस्तक पढ्नुपर्ने झन्झटबाट मुक्ति दिएका छन् । जीवनको ३७ वर्ष शिक्षण पेशामा बिताएका लेखकको गहन अध्ययन, फराकिलो ज्ञान र तिखारिएको अनुभवले भरिएको यो पुस्तक सर्वसाधारण पाठकदेखि अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, नागरिक अभियन्ता तथा बालविकासमा सरोकार राख्ने स्वदेशी तथा विदेशी संघसंस्थाहरूका लागि समेत उत्तिकै उपयोगी हुनेमा कुनै सन्देह छैन ।  

यो आख्यान होइन, गैरआख्यान हो । पुस्तक रुचिकर छ र पठनीय छ । सबै प्रकारका पाठकका लागि यो पुस्तक उपयोगी छ ।  विशेषगरी अभिभावक र शिक्षकले त एकपटक पढनैपर्ने पुस्तक हो ।  

पुस्तक – बालउद्यान

विधा  –  शिक्षा

लेखक – खडा नन्द अधिकारी

प्रकाशक – शिखा बुक्स

संस्करण – पहिलो, २०७७

पृष्ठ – २३४

मूल्य  – रु. ३५० ।  

प्रकाशित: ९ मंसिर २०७७ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App