१५ माघ २०७७ बिहीबार
कला

आमाको आँखामा आधा अनुहार छोरीको

कविता

 अन्जना इछमफूल

 

 

परिरहेछ झरी लगातार

निथ्रुक्क  भिजिरहेछु म स्मृतिले

पुगिरहेछु म गाउँमा

बर्खा र बाल्यकाल छमछम नाचिरहेछ

झरीको ऐनामा

खसिरहेछ आकाशको आँसु

मकैको पातपातमा

बाँसको झ्याङमा

बर्सिरहेछ असिना

मेरो आफ्नै रहरजस्तो फक्रिएको  

पिँडालुको ठूलो पात टिपेर

ओत्याउँदै आफूलाई हेर्छु डिलबाट

बारीको पुछार गरामा

घुम बाहिर आधा भिजेकी आमा

बटारिरहेछिन् गजुवा गोरूको पुच्छर

जसरी बर्टाछन् शहरका ममीहरू

सारीको सप्को र कैद गर्छन् मुठीभित्र

भागिरहने हतारलाई

आधा भोक, आधा माया 

मर आधा मात्र आवाज

ठोकिन्छ जब वृद्ध कानमा

हेर्छिन् आमाले आधा मलाई  

आधा आफूलाई

त्यही पल लागिदिन्छ हुस्सुको पर्दा

छेकिदिन्छ आमालाई र मलाई

अहो शहरमा चम्किदा बिजुली

गर्जिदा आकाश

पछारिएँ म आफ्नै आकाशबाट

खसे म आफ्नै आँखाबाट

आमा,

म सपनाको बुई चढेर

शहर पस्दै गर्दा टाढिँदै गएको तिम्रो अनुहार

जीर्ण घुम, घर, बारी, गोठ र गोरुको धूमिल चित्र

जब आँसुले रंगाएर पठाएथे पत्र

ओह्रालेर ढाँडबाट दुखको घुम

खोल्यौ होला पत्र

तैरियो होला तिम्रो आँखाको तलाउमा

आधा नयाँ आधा पुरानो

आधा आफ्नो आधा विरानो

आधा हाँसेको आधा रोएको

मेरो अनुहार ।

प्रकाशित: ९ मंसिर २०७७ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App