७ वैशाख २०८१ शुक्रबार
कला

कोरोनाको खुसीयाली

लघुकथा

देवकी केसी

 

छोरा बुहारीले नाति नातिनाको रेखदेख आफ्नो थाप्लोमा छाडेर भविष्य खोज्दै जापान उडेको दिनदेखि शारदादेवीको आँखा आजसम्म पनि ओभानो हुन सकेको थिएन । बुढेसकालको सहारा विदेशिएर एक्लै हुँदा शारदादेवीको मन अत्यन्त दुखेको थियो ।

चिया पसलतिर कोराना भन्दै गफ गरेको शारदादेवीले धेरै सुनेकी थिइन् । छोराबुहारीले जापानबाट कोरोना फैलिएको छ । सर्तक रहनु भनेर बेलाबेलामा फोन गर्दथे उनलाई । तर वास्तवमा उनी भने कोरोनाको अर्थबाट अनभिज्ञ नै थिइन् ।

कोरोनाको महामारी पैmलन थालेपछि जताततै लकडाउनको अवस्था आयो । कामका लागि विदेशमा र शहरतिर रहेकाहरू पनि धमाधम गाउँ फर्कन थाले । कोरोनाको जोखिम बढेसँगै सधैका लागि जापान त्यागेर छोराबुहारी अनायसै घर आएको देख्दा शारदादेवीको खुसी पनि अनायसै चुलिन पुग्यो । सधै यताको म घरबार बेचेर जापान जाऊ भनेर आफूलाई कर गर्ने छोराबुहारी सधैका लागि घर फर्कदा उनी छक्क परिन् ।

छोराबुहारी विदेश छाडेर घर आउनुको कारण कोरोना र लकडाउन पो रहेछ भन्ने पनि शारदादेवीले चिया पसलबाट नै थाहा पाइन् । बुढ्यौलीले सुद्धि हराउन थालेको शारदादेवीलाई कोरोना र लकडाउनबारे अत्तोपत्तो  छैन । तर उनलाई मर्ने बेलामा कोरोनाले छोराबुहारीको साथ दिलाएकोमा भने खुसीको सीमा नै थिएन ।

बुढ्यौलीको आफ्नो सहारा घर फर्काइदिएकोमा शारदादेवीले भित्री मनदेखि निकै खुसी हुँदै कोरोनालाई धन्यवाद दिइन् । संसारभर घृणाले हेर्ने कोरोनालाई भने शारदादेवीले प्रेमको नजरले देखिन् ।

प्रकाशित: ८ मंसिर २०७७ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App