४ वैशाख २०८१ मंगलबार
कला

काँडाकै बीच पनि फुल्ने गर्छ फूल

मुक्तक

 सूर्यप्रसाद लाकोजू

 

 

फेदबाट होइन तिमी टुप्पोबाट पलाउँछौ ,

आफूभित्र अमिलो फल मात्रै फलाउँछौ ।  

आफू केही नगरी गर्नेको नि खोइरो खन्दै,

अरूको प्रगतिमा  ईरष्याको हुरी चलाउँछौ ।

 

 

वारि र पारिलाई जोड्ने गर्छ पुल,  

काँडाकै बीच पनि फुल्ने गर्छ फूल ।

मन चोखो बनाएर अघि बढे साथी,  

हृदयबाटै निस्कन्छ स्नेहको मूल ।

 

 

काँडा भए पन्छिन्छ फूललाई छुन्छ ,

करुणामा कान थुनी हल्ला भने सुन्छ ।  

के भन्नु खै अवसरमारा बनेकालाई,

व्याख्या आफ्नो अनुकूल मात्र हुन्छ  ।

 

 

गफको पहाड चुलाउँछौ,  

मान्छेलाई खूब फुलाउँछौ ।

मक्ख परेपछि मान्छे,  

स्वार्थको बाटो खुलाउँछौ ।

 

तिम्रो कुरामा नाइँनास्ति  कहिले गरिन,  

नभन्दासम्म आफू वरबाट पर नि सरिन ।

वर्षौंसम्म भक्तजस्तै भएर बस्दा पनि,  

तिम्रो प्राथमिकता म कहिल्यै परिन ।

 

यता  पर्‍यो रातो मुला उता सेतो मुला ,

आफू मात्र फल्न फुल्न पस्दै हिंड्ने डुला ।

जनता मरे पनि आफू बाँच्न चाहनेहरू

काम गर्ने केही होइन कुरा मात्रै ठूला ।

 

 

अरूलाई पिठो बेचेर तिमी चामल किन्छौ,  

आफ्नो पीडा हटाउन अरुको सुख छिन्छौ ।

अचम्मकै स्वभाव बोकेर बाँचेको  ए मान्छे,  

आफ्नो स्वार्थ पूरा गर्न अरूलाई दुख दिन्छौ ।

 

जहिले पनि कुर्सीमा बस्न मन पराउँछ,

पद नपाएपछि छटपटिँदै जहाँ नि कराउँछ ।  

भोट लिन गरेको एक पल्टको नमस्कारले ,

हामी जनतालाई पाँच वर्ष नमस्ते गराउँछ ।

 

मान्छे भएर जन्मेपछि काम नयाँ गर्नुछ,

ठूलाठूला गफ गर्दै बस्तीहरूमा झर्नुछ ।

गफानन्द स्वामीको गफ फलाक्दै ,

चन्दा मागेर भए पनि झोली आफ्नो भर्नुछ ।

 

ठूलो छ स्वार्थको घडा भर्न बाँकी छ,

आश्वासनको चारा नि छर्न बाँकी छ ।  

अहिलेसम्म खुसी भएको छैन मालिक,  

धुप,  दीप  दिई चाकडी गर्न बाँकी छ  ।

प्रकाशित: ७ मंसिर २०७७ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App