८ वैशाख २०८१ शनिबार
कला

कमाइ

लघुकथा

द्वारिका नेपाल  

 

विद्यानाथ पण्डित पढाउने बेला शिक्षार्थीलाई भन्ने गर्थे – ‘सत्य नै ईश्वर हो , ईश्वर नै सत्य हो । मानिसले धन होइन, मान्छे कमाउनुपर्छ । धन त हातका मैला न हो ।’

उनलाई देवकोटाको मुनामदन मुखाग्र थियो । विशेषत ‘हातका मैला सुनका थैला ....’ पंक्ति उनको आदर्श बनेको थियो । आफ्नो आदर्शलाई उनले आफ्नै जीवनमा पनि रूपान्तरण गरेका थिए । पढाउने जागिर खाएको बर्सौं बितिसक्दा पनि ढुक्कसँग छाक टार्ने दिन उनलाई कहिल्यै जुरेको थिएन । आफन्तको अनिकाल नपरे पनि उनलाई पैसाको सधैं अनिकाल परिरहन्थ्यो । उनको पीडा सबैलाई थाहा थियो तर पनि उनी आफ्नो अभावमा अरूको चासो नभइदिए हुन्थ्यो भन्ने चाहन्थे ।  

उनका दुई छोरा खाडी मुलुकमा गएर जीवनयापन सहज पार्न चाहन्थे । छोराहरूलाई लाग्थ्यो, खाडी मुलुकका मरुभूमिमा बालुवा होइन, सुन छ जसलाई जानासाथ टिपेर ल्याउन पाइन्छ । यता विद्यानाथले भने छोराहरूलाई भन्थे –‘हामी बूढा भइसक्यौं । तिमीहरू विदेश गएपछि हामी बूढाबूढी घुत्रुक्क भयौं भने पिण्डपानी कसले दिन्छ ? पैसा मात्रै ठूलो हो र ? खोई त मैले त्यतिविधि कमाउन नसके पनि तिमीहरूलाई पालेकै छु । इष्टमित्र रिझाएकै छु । स्वदेशमै बस्नुपर्छ ।’

बाको तर्कका अगाडि छोराहरूको रहर लज्जावती झार बनेर निहुरिन्थ्यो ।  

उनी ट्युसन पढाउने आफ्नै सहकर्मीहरूलाई पनि सम्झाउँथे–‘एकाबिहानैदेखि मध्यरातसम्म कति घोटिनुहुन्छ ? पैसा मात्रै सबै थोक त होइन नि ! कहिलेकाहीं त इष्टमित्र पनि छन् भन्ने सोच्नुपर्छ । यी मलाई हेर्नुस् त कति आनन्द छ । म पनि त बाँचेकै छु ।’

वास्तवमै विद्यानाथ बत्ती नै थिए । आपूm जलेर अरूलाई उज्यालो दिन्थे । अझ उनी  आफैंले प्रयोग गर्ने खरी (चक) नै हुन् भन्दा फरक पर्दैनथ्यो । कालो पाटीमा घोटिएर ज्ञानका अक्षर बन्ने चकजस्तै थिए उनी । 

आज बिहानै म रेडियोमा समाचार सुन्दै थिएँ ।  भरतपुरको मुख्य चोकमा सडक अवरुद्ध गरिएको समाचारलाई रेडियोले प्राथमिकता दिंदै थियो । म समाचार सुन्न टाठिएँ । रेडियो भन्दै थियो – हिजो साँझ विद्यालयबाट घर फर्कँदै गर्दा ट्रकले ठक्कर दिएपछि शिक्षक विद्यानाथ पण्डितको घटनास्थलमै मृत्यु भयो । सो घटनापछि उनका दुई छोराको नेतृत्वमा इष्टमित्र, आफन्त, गाउँलेहरूले आज बिहानैदेखि क्षतिपूर्तिस्वरूप दश लाख रुपैयाँ पाउनुपर्ने माग राखी सडक अवरुद्ध गरेका छन् ।

रेडियो समाचार भन्दै थियो तर म भनें द्विविधामा परेें पैसा कमाए कि पैसाको माग राख्ने आफ्ना समर्थक ?

प्रकाशित: ७ मंसिर २०७७ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App