७ वैशाख २०८१ शुक्रबार
कला

यलम्वर संगीत प्रतियोगिताका टप टेन छानिए

यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणका टप टेन प्रतियोगी छानिएका छन्। किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले अनलाइनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरिरहेको चौथो चरणको छनौट प्रतियोगिताबाट उत्कृष्ट १० जना प्रतिष्पर्धी छानिएका हुन्। 

शनिबार भएको छनौट प्रतियोगिताबाट खोटाङका लकेश राई, प्रबृत्ति राई र मञ्जु राई, ओखलढुंगाका चाँदनी वाम्बुले राई र मनोजकुमार राई, सुनसरीका बिनु राई र सरिता राई, उदयपुरका पम्फा चाम्लिङ राई, धनकुटाका साङ्गेन राई र इजरायलबाट निलीमा साम्पाङ राई चयन भएका छन्। विभिन्न १० देशका २१३ जना प्रतिस्पर्धीमध्येबाट क्रमशः पहिलो, दोश्रो र तेश्रो हुँदै चौथो चरणमा १० जना प्रतियोगी छनौट गरिएको प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले बताए।  

प्रतियोगीले आफ्नो ‘ओरिजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलब्ध गराउनुपर्ने र आयोजकले सोही एमपीफोर फाईल भिडियोको आधारमा प्रतिस्पर्धा गराइने व्यवस्था मिलाइएको छ। सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितालाई यसपल्ट कोरोना भाइरसको महामारीका कारण अनलाइन संस्करणमार्फत विश्वव्यापी बनाइएको किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ। 

प्रतिस्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो। प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाण–पत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष रामकर राईले बताए। प्रतियोगिताको फाईनल प्रतियोगिता तीन हप्तापछि हुने आयोजकले जनाएको छ।  

किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार संघले यलम्वर संगीत प्रतियोगिता सुरु गरेको हो। हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्विका राईले यलम्वर संगीत प्रतियोगिताको पहिलो उपाधि हात पारिसकेका छन्। प्रतियोगितामा किरात राई समुदायका प्रतिभाले मात्र सहभागिता जनाउन पाउने व्यवस्था छ भने सहभागीले किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने मापदण्ड छ।

प्रकाशित: ६ मंसिर २०७७ १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App