coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

ताली

लघुकथा

 

होमशंकर बास्तोला

 

चुनावी सभामा सेरजंग कुर्लीकुर्ली भाषण गरिरहेका थिए । एक घण्टासम्म भाषण गर्दा समेत पट्यार मान्दै जनता सुनिरहेका थिए ।  

‘कति ध्यानपूर्वक जनता मेरो भाषण सुनिरहेका छन्’ नेता सोच्दै झनै हौसिदै बोले ।तर सभामा उपस्थित जनतामा भने सेरजंगको भाषण सुनेर पट्यार लागेको थियो । ‘कतिखेर नेताको भाषण सकिन्छ र हिँडौं’ जनता सोचिरहेका थिए । एक घण्टाको अन्तरालसम्म आफूले विरोधी पार्टी र सो को उम्मेदवारको विरोध गर्दा एउटा पनि ताली बजेको थिएन ।

एकजना भाषण सुन्न आएको युवक सेरजंगको भाषण सुन्दासुन्दा दिग्दार र अल्छीले झ्यापझ्याप्ती निदाउन लागेको थियो । निदाउँदा देख्नेले गिल्ला गर्लान् भन्ने सोची गोजीबाट सुर्ती निकालेर माड्न थाल्यो । सुर्ती माडेर दाहिने हातको  बूढी र चोरी औँलाले समाएर गिजामा हाल्यो र हातमा लागेको धुलो टक्टक्याउन उसले प्याट्टप्याट्ट हात पड्कायो । नेता ताली पड्काउने सहभागी युवकतिर फर्किएर औँलाले देखाउँदै उच्च स्वरले बोल्यो, ‘देख्नु भो ? जनतालाई मेरो कुराले कति चित्त बुझेछ । अरूले ताली नपड्काए पनि मेरो कुरा चित्त बुझेर उहाँले त ताली पड्काउनु भो ।’

हात प्याट्टप्याट्ट पार्ने युवक जिब्राले खैनी चलाउँदै उभिएर बोल्यो, ‘म त सुर्ती पो माड्दै थिए त नेताज्यू ! सूर्तीको धुलो टक्टक्याउन हात पड्काएको हुँ । हजुरले के भन्नु भो मैले त केही सुनिन ।’

सबै गललल हाँसे ।

प्रकाशित: ६ मंसिर २०७७ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App