जितेन्द्र रसिक
साहित्यकार रूपनारायणले आफूलाई जीवनभर साहित्य र समाजसेवामा समर्पित गर्दै आएका थिए । खाँटी देशभक्ति उनले राष्ट्र र राष्ट्रियताको स्वार्थभन्दा तल कहिल्यै झरेनन् । विश्वकै कितावहरूसँग दाँज्न मिल्ने दर्जनौं कृतिहरू प्रकाशित भए । उनले धेरैलाई साहित्य लेखन प्रशिक्षण पनि दिए ।
उनले सिकाएका चेला चाकरीचाप्लुसी गर्न र राजनैतिक दलका झोला बोक्न जानेकाले एउटै मुक्तक संग्रह प्रकाशन गरेको आधारमा विभिन्न संघसंस्थाहरूले सम्मानित भए । साहित्यिक प्रतिष्ठानका उपकुलपति हुँदै कुलपति पनि भए ।
उमेरले नेटो काट्दै गयो । साहित्यकार रूपनारायण विरामी परे । उपचारका लागि आफ्ना चेला कुलपतिसँग केही आर्थिक सहयोग जुटाइदिन रूपनारायणले आग्रह गरे तर उनको आग्रह चेलाले सुनेनन् ।
जीवनभर कतैबाट सम्मान समेत नपाएका रूपनारायणको उपचारको अभावमा मृत्यु भयो । तेह्रौं दिनको पुण्य तिथिमा साहित्यिक प्रतिष्ठानको हलमा ठूलो रकम खर्चेर श्रद्धाञ्जली सभा आयोजना भयो । सोही दिन पारेर विभिन्न संघसंस्था र साहित्यिक प्रतिष्ठानहले रूपनारायणको फोटोलाई सम्मान प्रदान गरे ।
प्रकाशित: ६ मंसिर २०७७ ०९:५३ शनिबार