७ वैशाख २०८१ शुक्रबार
कला

ट्याँस्स टिको

लघुकथा

 

डा. विदुर चालिसे

 

गाउँमा भेडा गोठालाहरू थिए । शहरमा साँढेका टहलुवाहरू थिए । खेतको चपरी काटिरहेको माइलाले कानमा झुन्डिएको एयरफोनमा सुन्यो

– फुट्यो रे  फुट्यो !

– के फुट्यो रे होई माइला !

– पार्टीहरू भसक्कै फुटे रे !

भर्खर जुटेर खेतमा पर्म गर्न लागेको साइलालाई अलि ननिको कुराजस्तो लाग्यो । उसलाई बेलाबेला उरन्ठेलो हावाले कहिलेकाहीँ छुने गर्दथ्यो र बखतबखतमा बत्तास्सिएर उडिदिन्थ्यो ।

सुनेको खबर अपच भएपछि उसले माइलालाई निश्चित गरेर सोध्यो,

– होइन होला, सत्ता र सत्य त !

– सत्य नभए सत्ता त फुट्यो फुट्यो !

– तँ पनि धेरै ढिंड छस् है साथी,  चूपचाप लाग !

उनीहरूको मनले एक्कासि तनाव लिन थाल्यो। घरबार बनाउने ध्येयले भर्खर जम्मा भएका उनीहरूमा नयाँ प्रश्न जन्म्यो– अब कता लाग्ने ! दरबार  या सिंहदरबार !

माइलाले स्वास्नी, छोराछोरी, बाआमा र नातागोता ऐश्वर्य, धन र दौलतको भोग सम्झँदै भन्यो –

दरबारतिर लागे शान पाइन्छ ।

प्रतिवाद गर्दै साइलाले समाज, परम्परा, संस्कृति, इतिहास र साथीभाइसँगको कर्तव्य सम्झँदै भन्यो –

–सिंहदरबारतिर लागे काम पाइन्छ !

उनीहरू अल्मलिरहेको यही समयमा कहिल्यै गाउँ नटेकेका शवयात्रीहरू शङ्ख फुक्दै खेतमा आएर उनीहरूलाई निकै मान गरेर फकाउन थाले – 

लौ  हजुरहरू त समाजको प्रतिष्ठित किसानहरू हुनुहुन्छ, हाम्रो साथ लाग्नुपर्यो ।

उनीहरूले धेरै नै करकाप गरेपछि दुवै जना किसानले लुरूक्क परेर आश्वासन दिएझैं गरेर भने – भइहाल्छ नि ,बरु टीकाचाहिँ कुन रङको लगाउने गरेको छ, हजुरहरूले !

मलामीहरू अलमल्ल परे । उनीहरूलाई समर्थनको टीकाबारे याद भएनछ । उनीहरू अमिलिएर फर्के । एकछिनपछि अर्को  भीड मूर्दा नै बोकेर खेतको आलीमा राखेर ह्वाँह्वाँ रून लागे ।किसानहरूले डर र रिसले एकैचोटि कामेर सोधे – तपाईंहरूको के जात्रा हो यो वाहियात सन्ठहरू !

– नरिसाउनु न हजुर, यहाँजस्तो बुझकीले त झोक देखाउन मिल्छ र ! के गर्नु, नहुने कुरा भइगो, शहीदको सपना गई गो ।  अब हजुरको एक मात्र साथ हामीलाई हुनुपर्यो ।

किसानहरूको आँखा भीडको बयान सुनेपछि टलपल रसाएर आयो । उनीहरू भावुक बने । भीडले तिनलाई सोध्दै नसोधी कालो रङको टीका लगाइदिए । कालो टीका लगाइदिने भीड फर्केको मात्र के थियो । अर्को क्रान्तिकारी भीड आएर च्याप्प समात्यो र भन्यो – सबैभन्दा शक्तिशाली हामी नै हौँ  ट्याँस्स   टिको टाँस ! देश बनाउने जिम्मा हाम्रो पक्का भो ।

खेतको चपरी ताछिरहेका किसानहरूले रातो रङको टीकामा रगतको फाल्सा फाटेर बगेको देखेर एकार्कालाई हियाइरहेथे– शैतानी तुफान !

प्रकाशित: ६ मंसिर २०७७ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App