दुर्गा वनवासी
हो, सल्बलाइरहेछन्
स्मृतिका क्यानभासभरि
आँसु रंगमा पोतिएका
आशंकाका पानी चित्रहरू
आलै भएर अझै पनि ।
असारको त्यो साँझ–
निकै दिनपछि
श्रद्धाको सुमन बोकेर,
एक पोल्टो मायालाई
सुरक्षित तिम्रै निम्ति राखेर
भेट्न आएँथें प्रफुल्लित
सधैंजस्तै उत्साहित ।
तर,
त्यो गोधूलि सन्ध्यामा
आशा गरेभन्दा छुट्टै
अविश्वासको हिलोमा
कलंकको बीउ रोपेर
अनायासै तिमीले त
बदनामी पो फलाइदियौ ।
अप्रत्याशित त्यो उपेक्षा
अकल्पनीय त्यो छुद्रता
ट्वाल्लै परिरहें गतिहीन,
स्तब्ध अनि किंकर्तव्यविमूढ
अवाक् कुनै आवाजविहीन ।
निकै बेरमा बौरिएपछि
तिमीले भोटेताल्चा
ठोकेको ढोका बाहिर
तिम्रै लिखत यो मुटुका
छरिएका टुक्रा बटुलेर
अँध्यारो गल्लीको आहालसँगै
नयन–झरी मिसाउँदै
अपमानको बोझले
निहुरमुन्टी भएको शिर
अनि लज्जाबोध र ग्लानिले
क्लान्त, शिथिल शरीर
अर्धविक्षिप्त घिसारिरहें ।
आकस्मिक तिम्रो
परिवर्तनको कठघरामा
बिनाअपराध नाङ्गिएर,
नगरेको पापको सजाय
चूपचाप–चूपचाप झेलिरहें,
बिनागल्ती, अकारण
तिमीले छ्यापेको हिलो
कैयौँ जागृत रातहरूमा
अविराम धोइरहें, पखालिरहें ।
अब फेरि सुटुक्क,
मौन, के खोजिरहेछौ
रोगन उड्दै गएका
ती पुराना तस्वीरहरूमा
तिम्रो फोस्रो अहंको झलक
या मसितैका धूमिल सम्झनाहरू
चाहे जे होस्,
फेरि आएको छ
यादहरूको बर्षातसँगै
हिलाम्य त्यो असार,
विस यु अ भेरी
ह्याप्पी एनिभर्सरी,
गड ब्लेस यु माई डियर ! ’
प्रकाशित: ५ मंसिर २०७७ ०९:२१ शुक्रबार