१० मंसिर २०७७ बुधबार
कला

फेसबुक च्याट

कथा

रामकुमार पण्डित क्षेत्री  

“ल भोलि एक बजे आउनोस् है त !” प्रकृति फेसबुकमा च्याट गर्दै भन्दछे ।  

“कहाँ ?” मोहनले प्रश्न गर्छ ।  

“अनामचोकमा ।” प्रकृति जवाफ दिन्छे ।  

“अनामचोक भनेको कता हो ?” ऊ अनभिज्ञता जनाउँछ ।  

“अनामचोक नि था’ छैन ! सिंहदरबारको पूर्वी गेट, त्यो हनुमान थान भएको ठाउँ क्या त...!”  आश्चर्य मिश्रित भावमा उनी जवाफ दिन्छिन् ।

“ए हुन्छ ! ल त बाई !” मोहन वाक्य टुङ्ग्याउँछ ।  

“ओ के बाई , सि यू !” प्रकृति पनि वाक्य टुङ्ग्याउँछिन् ।

मोहन मोनिटरबाट आँखा हटाउँछ । उसले एघार बजेदेखि प्रकृतिसँग च्याट गर्न थाल्दा दुई बजिसकेको पनि पत्तो हुदैन । उसको अगाडि हाकिम (साहुजी) देखा परेपछि ऊ झसङ्ग हुन्छ र हतारहतार ‘लगआउट’ गरेर फेसबुक पेज बन्द गर्दछ । अनि ऊ गलैचा विन्डोज निकालेर नक्सा बनाउन लागेकोजस्तो अभिनय गर्दछ । दुई दिनदेखि दस बाइ चौध साइजको बुट्टै बुट्टाले भरिएको कठिन नक्सा बनाउँदै गरेको थियो उसले ।

रातिको दस बजिसकेको हुन्छ । पलङमा पल्टिएको मोहनलाई निन्द्रा परेको छैन । उसको दिमागमा भोलि प्रकृतिलाई भेट्न जाने कुरा मात्रै खेलिरहेछ । यो उसको पहिलो भेट हुदैँछ । पहिलो पटक फेसबुकमा चिनेको महिला साथीलाई कसरी भेट्ने भनेर ऊ, सोच्दै सुतेको छ । ऊ मनमनै भन्दछ –“आहा ! प्रकृतिको तस्बिर त फेसबुकमा कति राम्रो छ । तस्बिर पनि कत्ति राखेकी ती ! केटाले केटीको फोटो राखेर चलाउने हो भने एक दुई वटा मात्रै राख्दछ । त्यो पक्कै प्रकृति नै हो । त्यहाँ तीनचार सय जति फोटा होलान् । सबै राम्रा छन् । यदि ऊ त्यत्तिकै राम्री छे भने त त्यसलाई त्यत्तिकै हातबाट फुत्कन दिनु हुँदैन । असाध्यै सेक्सी पनि रहिछे । सायद ऊ आफ्नो पतिसँग असन्तुष्ट हुनुपर्छ । त्यसैले त मसँग अहिल्यै सबथोक दिइहालौ जस्तो गरी कुरा गर्दछे । म पनि पाएँ भने भोलि नै उसको सबै इच्छा पूरा गरी दिन्छु ।”  ऊ कोल्टे फेर्दै मनमा कुरा खेलाइरहन्छ । “प्रकृति त मेरो मास्टर लेभलको कक्षा साथी हरिको स्वास्नी पो रै छे । एकचोटि च्याटमा म हरिको पत्नी हुँ भनेकी थिई । आ, जोसुकैको स्वास्नी होस् । स्वास्नीको इच्छा पूरा ग¥यो भने कसले परपुरुष ताक्छ र ? मुला सरकारी अधिकृत छ । फुर्सत हँुदैन होला । अनि कसरी स्वास्नीलाई सन्तुष्टि देवोस् ? आफू त गलैँचा कारखानामा काम गर्ने मान्छे । बिहे पनि नभएको । भोकालाई खाना ख्वाउने बानी परेको । आखिर उसले मलाई चिन्दा पनि चिन्दैन । गलैँचेलाई कोही अधिकृतले सम्झेर बस्ला र ? सम्झे नै पनि त्यसले काम परयो भने माखो मार्ने होइन क्यारे ।  जे पर्ला, सो टर्ला !”  

  ऊ अझै निदाउँदैन । ऊ सम्झन्छ, कसरी प्रकृतिसँग फेसबुकमा चिनापर्ची गर्दागर्दै उसको प्यारो बन्दै गयो ।  केही महिनाअघि, फेसबुकमा प्रकृतिको तस्बिर राम्रो लागेर उसले साथी बन्न अनुरोध पठाएको थियो । प्रकृतिले स्वीकार गरेपछि ऊ साथी भएको थियो । त्यसपछि उनको प्रशंसा गर्दै दिनको एउटा मेसेज पठाउन थालेको थियो । सुरुसुरुमा त त्यस्तो प्रशंसा नगर्न उनले अनुरोध गरेकी थिइन् तर उसले अटेरी भई प्रशंसा गरी रह्यो । उनले पनि यस विषयलाई अब सामान्य मान्न थालिन् । महिलासँग मोबाइलमा र च्याटमा कुरा गर्दागर्दा उनीहरूका अन्र्तमनका सम्वेदनाहरू बुझ्न ऊ खप्पिस भइसकेको थियो । यस मामलामा ऊ आफूलाई गर्व गर्दथ्यो । उसले विभिन्न वहानामा मेसेज पठाउँदै गयो । बिस्तारै बिस्तारै प्रकृतिले पनि उसलाई उपयुक्त जवाफ फर्काउन थालिन् । अफिसको कामै छोडेर दुईचार घण्टासम्म उसले च्याटिङ गर्न थाल्यो । लोग्ने नभएको समय पारेर डेराबाट गरेको भन्दथिन् प्रकृति । त्यति लामो समयसम्म मोहन प्रकृतिको सौन्दर्यको प्रशंसा गरेर मीठामीठा गफले मक्ख पार्दथ्यो । उनी पनि मोहनको कुरामा सही थापेर रोमान्चित रङ भर्दथिन् । मोहनको सुन्दर जिउको बयान र गफाडी भन्न पछि पर्दिनथिन् । मोहन बेलाबेलामा “भेटौँ न” भन्दथ्यो । उनीचाहिं “लोग्नेले थाुपाउँछ” भन्दथिन् । जवाफमा “लोग्ने अफिस गएको बेलामा दिउँस भेटौ न भन्दथ्यो” ऊ । प्रकृति घरायसी काम भएको बाहना बनाउँथिन् । उसले भेट्न भगीरथ अनुरोध गरेपछि बल्ल प्रकृति राजी भएकी थिइन् । तैपनि भेट्न राजी हुनुअघि “भेटेपछि के गर्नुहुन्छ?” भन्ने प्रश्न गरेकी थिइन् उनले । जवाफमा “भेटेर कुरा गरी आत्मीयता बढाउने” भनेर भनेको थियो । वास्तवमा भेटघाट गर्दागर्दै आफ्नो स्वार्थ पूरा गर्न उसले जानेको थियो । उनीहरूको यस्तो रमाइलो संवाद भएको बेलामा लामो लोडसेडिङ र कहिलेकाहीं इन्टरनेट ह्याङ भएर हैरान पार्दथ्यो । कहिलेकाहीं साहुको झ्वाट्ट प्रवेशले उसको मुटु ढुक्क फुल्दथ्यो । यी सबै व्यवधानको बदला ऊ लिंदै थियो भोलि प्रकृतिलाई भेटेर ।

बिहानको कलिलो घाम छिप्पिएर मध्याह्नको बाह्र बज्छ । ऊ गलँैचा अफिसमै छ । उसलाई एक बजे अनामनगर पुग्नुपर्ने भएकाले भित्रभित्र छटपटिएको छ । साहुसँग अनुमति लिनुपर्ने भएकाले बाहना खोज्न थाल्छ । उसले दराजमा आँखा लाउँछ । कागज सकिन लागेको रहेछ । बाहना पाएर साहुको कोठामा गएर नम्रहुँदै भन्छ –

“साहुजी, यहाँ नक्सा प्रिन्ट गर्न चाहिने ए टु पेपर सकिनै लागेछ । त्यो लिन जानुपर्ने भो ।” साहुले विनाप्रतिक्रिया अनुमति जनाउँछन् । ऊ आवश्यक पैसा लिएर गोजीमा हालेपछि आफ्नो पुरानो मोटरसाइकलमा हुइँकिन्छ । काठमाडौंको जाम छिचोलेर पौने एकमै अनामचोक नजिकै पुग्छ । त्यही ठाउँ अनाम चोक हो कि होइन भनी ठम्याउन मोटरसाइकललाई खोलाको पुलनिर साइड लगाएर अलि अगाडि बढ्छ । त्यहाँ हनुमानको मन्दिर देखेपछि ढुक्क हुन्छ । अनि ऊ चोक नजिकैको पान पसलअगाडि उभिन्छ । यताउति हेर्छ; अँ हँ प्रकृतिलाई देख्दैन । अझै पन्ध्र्र मिनेट बाँकी छ एक बज्न । त्यसैले धैर्य गर्दै उनको व्यग्र प्रतीक्षा गर्दछ । सडकमा धूलो र धुवाँ उडाउँदै बग्रेल्ती गाडीहरू गुडिरहेका छन् । गाडीका आवाज झर्कोलाग्दो छ । त्यसबीचमा सडक पेटीको बाटो हिँड्नेहरूमध्ये धेरैले उसको मुखमा हेर्दै हिँड्छन् । ऊ पनि उसको मुखमा हेर्नेलाई हेरिदिन्छ । बेलाबेलामा नआउने हो कि भनेर शंका गर्दछ । फेसबुकमा देखेभन्दा फरक अनुहार पो छ कि भनेर आशंका हुन्छ । मोबाइल नम्बर दिनू भनेर कति गर्दा पनि प्रकृतिले छैन भनेर टारी तर उसको नम्बर भने प्रकृतिले लिएकी थिई । त्यहाँ आएर देखिन भने फोन गर्ली भन्ने ऊ आशा गर्दछ ।  

केही क्षणपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयको दिशाबाट ऊ भएतिर एउटा पुरुष आउँदै हुन्छ । त्यसलाई चिनेजस्तै लागेकोले अझ गहिरिएर उसैलाई हेर्छ । साँच्चै चिनेको मान्छे रहेछ । अनि त ऊ झसङ्ग हुन्छ । ऊ उसको कक्षा साथी अर्थात प्रकृतिको पति हरि हो । ऊ केही सोच्नै सक्दैन र त्यहाँबाट उम्किनु नै उसलाई उपयुक्त लाग्दछ । ऊ फटाफट आफ्नो मोटरसाइकल पार्क गरेको ठाउँतिर लम्कन्छ । हतारहतार हेलमेट लगाएर उसले मोटरसाइकल स्टार्ट गर्न किक हान्छ । पुरानो मोटरसाइकलले उसलाई धोका दिन्छ । स्टार्ट हुँदैन । ऊ जोडजोडले किक स्टार्टरमा लात्ती बजार्छ । घरीघरी सेल्फ स्टार्टरमा औँला दबाउँछ । स्टार्ट हुन खोज्छ तर पटक्कै हुँदैन । क्षणभरमै उसको जिउभरि खलखल्ती पसीना आउँछ । त्यति नै खेर उसको कानमा हरिको आवाज थर्कन्छ –  

“हेल्लो, मोहन जी ! प्रकृतिलाई भेट्ने होइन ?”  

उसको हतास मनस्थितिले काम गर्न सक्दैन र सोझो उत्तर दिन्छ –  

“हेलो ! भेट्ने हो । खोई र प्रकृति ?”  

“अरे, मै त हो नि प्रकृति !”  

“तपाई प्रकृति ? फोटो त तपाईंको श्रीमतीको छ त ! (फोटो त महिलाको छ भन्न खोज्दै थ्यो, उसको जिब्रो चिप्लियो ।)

“फोटो र नाम उनको, प्रकृति बनेर च्याट गर्ने काम मेरो ।” हरिले जवाफ फर्काउँछ ।  

“हँ !” ऊ झस्कन्छ र भित्रभित्रै सर्माउँछ । भित्रभित्रै भड्किएको उसको हालतले हेलमेट फुकालेको छैन र मोटरसाइकलबाट ऊ ओर्लन पनि सकेको छैन ।  

“के हो ? च्याट त दामी गर्नु हुँदो रहेछ यार ! म त पट्टिएँ । तपाईको शब्दजालमा नपट्टिने कुनचाहिँ आइमाई होला त ?” हरि दाँत निकालेर हाँस्दै भन्छ ।  

“त्यही त ! मैले पट्टाएको हो र ? तपाई आफ्नो साथीसँग आफै पट्टिएको ।” ऊ पनि लुकेको जोशलाई निकाल्दै भन्न थाल्छ ।  

“मेरो श्रीमतीमाथि तपाईको बुरी नजर प¥यो जस्तो छ । त्यो चैं सुधार्नुृस् न है !”  

“म त सुधार्छु , तपाई पनि श्रीमतीलाई भनिदिनुस् न कि मलाई देवरजस्तै गर्नु भनेर ।”  

“होइन त्यो त मेरी श्रीमतीले कहाँ गरेको हो त ? मैले पो गरेको त !”  

“मैले नि तपाईकी श्रीमतीलाई कहाँ भनेको हो त, तपाईलाई पो भनेको ।”  

“हो त्यो त । श्रीमतीको नामबाट तपाईसँग लाडिएर मजाक गरेको छु , तपाईको नजरमा उसलाई केही न केही गिराएकै छु । भैगो छाडिदिऊँ । साथीभाइमा यस्तो मजाक चलिहाल्छ नि, होइन ?” अघिभन्दा केही लुत्रुक्क परेर खिसिक्क हाँस्दै ऊ बोल्छ । जवाफमा मोहन टाउको हल्लाएर सहमति जनाउँछ ।  

“आजकाल काम कत्तिको चलेको छ, तपाईको जोरपाटीको गलैँचा अफिसमा ?” हरिकै प्रश्न हुन्छ ।  

“काम भएको भए, तपाईलाई पट्टयाउन कसरी भ्याउनु ? तपाई त सरकारी जागिरे ! व्यस्त हुनुहुन्छ होला !”  

“हाम्रो नि उही त हो नि । दिन कटायो, तलब पकायो । फेसबुक चलायो, तपाईजस्तो साथी याद गरायो । ल अब जाउँ है ? कि चिया खाने त ?” जान हतार गर्दै ऊ चिया खाने प्रश्न सोधिटोपल्छ ।  

“न खाउँ । म पनि प्रिन्ट गर्न कागज किन्न निस्केको ।  पछि खाउँला । ल बाई !” मोहन हरिसँग हात मिलाउँछ । हरि बाटो लाग्छ । ऊ पनि झोक्किएर एक लात किक स्टार्टरमा हान्छ । अहिलेचाहिं मोटरसाइकल घ्वार्र स्टार्ट हुन्छ । साथीसँग अपमानित भएको महसुस गरी मोटरसाइकलको गेर र एक्सिलेटर धेरै दबाउँछ । तीव्र गतिमा अलिपर पुगेपछि मनमनै भन्छ – “अन्धाधुन्ध फेसबुक चलाउँदा त अपमानित पनि हुनुपर्ने रहेछ यार । हरिको पनि मनोबल गिरयो, मेरो पनि । अब यस्तो बेइज्जत कैलै नहुने गरी फेसबुकको सदुपयोग गर्नुपरयो । आफ्नो नियत पनि सफा राख्नुपर्ने भयो ।”    

   ( प्रकाशोन्मुख कथा संग्रह ‘फुर्वाको कम्प्युटर’बाट !)                           

प्रकाशित: ५ मंसिर २०७७ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App