६ कार्तिक २०७८ शनिबार
कला

फोटोकपीको दिपावली

लघुकथा

जेठानी मन दुखाउने नियतले बोल्थिन्, ‘शान्ता , वर्ष दिनको चाडपर्वमा त्यसै बस्नु हुँदैन । तिम्रो माइतमा ढोका लागे पनि हिँड् न मेरा माइतमा जाऔं ।’  

उता माइतमा भाउज्यू गनगनाउँदै थिइन् , ‘हाम्रा लागि उनी मरिन् । मेरो भाइ हुँदाहुँदै सुटुक्क अर्कैसित हिँड्नेको मुख कसरी हेर्नु ! म‌ैले सोल्टासोल्टीनीको जोडी मिल्छ भनेर कति बल गरें । त्यस्तीलाई केको चासो, केको गुनासो !’ 

दाज्यू भाउजूको पुच्छर हल्लाउँथे, ‘रिसले अन्ध भएको छु म । अहिले यहीँ भएको भए  मैले के गर्नुपर्छ जानेको थिएँ ।’

मैले उनलाई भगाएर लाएपछि माइतमा  बोलाएको थिएन । मलाई  बर्सेनि चाडपर्व घाँडो लाग्थ्यो । उनी एकान्तमा बसेर धुरुधुरु रुन्थिन्।

म सम्झाउँथे, ‘नरोऊ सानू,  रोएर केही  हुनेवाला छैन ।’

उनी मसित निकै खुल्थिन् , ‘रोएर भए पनि मन बुझाउँछु म । रुँदा कति मन हलुको  हुन्छ मेरो ।’  

– दिज्यू, यसपालि त तिहारमा जसरी भए पनि आउनुपर्छ है ।

–  कान्छी , म भदा लिन पठाउँछु है । रिसको आवेगमा आँखै देखिएन । अहिले  पछुतो  लाग्छ । जे भए पनि आउनु है ।

– आफ्नो भनेको आफ्नै हुन्छ । जे भए पनि माइत जाऊ है कान्छी ।

  धेरै वर्षपछि  दाजुभाउजू, जेठानी सबैमा नाटकीय  परिवर्तन देखियो ।

शान्ताले गम्भीर भएर प्रतिक्रिया  दिइन्, ‘मैले मेरो नगरपालिका प्रमुखको प्रमाणपत्रको फोटोकपी  पठाउँदै छु । हो , त्यही फोटोकपीसित यसपालिको  ऐतिहासिक दिपावली  मनाउनु होला ।  मेरो सबैलाई  हार्दिक शुभकामना !’

प्रकाशित: २८ कार्तिक २०७७ १७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App