२५ फाल्गुन २०७७ मंगलबार
कला

देख्यौं नि, कस्तो हुँदो रहेछ घमण्डको पराकाष्ठा !

लघुकथा

एक पैदलयात्रीको हातले खुट्टालाई होच्याउँदै भन्यो , ‘ ओई खुट्टा ,  मजस्तै सधैं सक्रिय जीवन बाँच्न सिक । आफूलाई राम्रो  वेशभूषामा देखाउन, अप्ठ्यारोमा जोगाउन र बैगुनी र लोभीलाई ठेगान लगाउन मेरै हात छ । तिमी त मेरोअघि कति निकृष्ट र निष्क्रिय छौं होकि !’

खुट्टाले संयम हुन अनुरोध गर्दै सम्झायो, ‘हात, वर मात्रै ठिङ्ङ उभिएको चौतारीको अवस्था कस्तो होला ! तिमी र म त वरपीपलजस्तै हौं । शिष्टाचारको अभावमा मानववस्ती अवनतिको चक्रव्यूहमा फस्दै गएको तिमीले देखेका छैनौं ! हामी दुवैको उत्तिकै भूमिका हुन्छ भन्ने कुरा स्वीकार्नुपर्छ है नत्र हाम्रो हालत पनि ।

हातले खुट्टामा प्याट्ट हिर्काउँदै दम्भ देखायो , ‘खुट्टा तिमी  झूट हौ  ।  हैसियत नभएर रुँदै बाँच्ने दयापात्र हौ ।  मेरोसामु निष्प्राण मुढा हौ । तिमीजस्तो परजीवीसँग व्यर्थै म किन बोलेको हुँला !’

खुट्टाले संयम हुँदै भन्यो, ‘दुनियाँमा कोही पूर्ण हुँदैन । त्यसैले हामीले कहिल्यै  घमण्ड गर्नु हुँदैन । हाम्रो  मन सधैं निश्छल र सहयोगी हुनुपर्छ  ।’

हातले पुनः आत्मप्रंशसा गायो, ‘मैले कति ठाउँ सुन्दर बनाउन  वृक्षारोपण गरे । बाटाहुँदिका तगाराहरू पन्साएँ । मैले शुरूदेखि नै मान्छेलाई भीड  र भीरबाट जोगाउँदै आएको छु । आफ्नो हात जगन्नाथ त भन्ने उखानै छ नि ।’

खुट्टाले पुनः  सम्झाउँदै थियो , ‘खारिएका बूढाबूढीजस्तै जीवनको महत्त्व बुझ्नुपर्छ । सबैको आआफ्नो ठाउँमा उत्तिकै भूमिका हुने कुरा भुल्नु हुँदैन । विवेकको भरमा हाम्रो सम्बन्ध कसिलो बनाउनुपर्छ ।’

अचानक हिलाम्मे बाटोमा पैदलयात्री चिप्लिएर डङरङ्ङ पछारियो । हातखुट्टा दुवै शिथिल भए र उठ्न सकेन ।

अघिदेखि हातखुट्टाको बहस सुनेर रन्थिएको दिमागले बल्ल बोल्ने मौका पायो, ‘देख्यौं नि, कस्तो हुँदो रहेछ घमण्डको पराकाष्ठा !’

प्रकाशित: २१ कार्तिक २०७७ १५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App