बिरामी आमाले भिडियो कलमा भन्दै थिइन् , ‘ दाजुभाइ, दिदीबहिनी सधैं मिलेर बस्नु । आफ्नाले काटेको र अर्काले चाटेको आफ्नैले काटेको बेस हुन्छ । घरको मिल्यौ भने परकाले केही गर्न सक्दैनन् ।’
उताबाट रामवीर भन्दै थिए, ‘हाम्री आमालाई बोल्न कसले भेट्ने र ! कसरी यत्ति धेरै कुरा आएको ।’
आमा भन्दै हुनुहुन्थ्यो, ‘अब मेरा लागि केही गर्नु पर्दैन । नातिनातिनालाई राम्रो पढाएर असल मान्छे बनाउनू ।
म बोलेको सुन , तँ बोलेको म सुन्दिनँ । मसित बोल्दा त हप्काएजस्तै बोल्नुपर्छ नत्र म कान सुन्दिनँ ।’
आमाले लुलु दाइसित बोल भन्दै फोन दिइन् । दाजुभाइको कुराकानीपछि आमाले सोधिन्, ‘ हितैष, तेरो भाइले पैसा पठाउने कुरा गरेन । मैले त थोरै भए पनि खर्च पठाउँछ भन्ने आशा थियोे ।’
हितेषले मनको पीडा लुकाउँदै सान्त्वनाको भाषा बोल्यो, ‘आमा, सकिञ्जेल म आफैं गर्छु । सकिन भने भाइबहिनी गुहार्छु । उसलाई पनि कत्ति समस्या होला भनेर मैले पैसाका लागि अहिले चिन्ता नगर भनेको छु ।’
आमा औषधि खाएर सुतिन् । हितैष पनि खाना खाएर सुत्यो ।
बिहानै उठ्दा हितैषको म्यासेन्जर भरिएको थियोे , ‘ ओ डार्लिङ, यतिबेला आमालाई पैसा पठाउनु नपर्ने रहेछ । दाजुले गरिहाल्छन् नि । उसको के काम छ र ! मैले पठाएको दश करोड रुपैयाँले जग्गा बैना गरिराख्नु। म आएपछि लगत्तै अपार्टमेन्ट खोल्नुपर्छ र आरामको जिन्दगी जिउनुपर्छ ।’
यताबाट हितैषले लेख्यो, ‘भाइ, झुक्किएर बुहारीलाई लेखेको म्यासेज यता आएछ । मैले त्यतै फरवार्ड गरदे‘को छु । अपार्टमेन्टका लागि अग्रिम बधाई तथा शुभकामना !’
अचानक केही समयपछि रामवीरले कल गर्दै भन्यो, ‘दाज्यू , जग्गा बैना गर्छु भनेर हिँडेकी बुहारी अझै घर फर्केकी छैनन् रे ! जग्गा धनीले मकहाँ आएकी छैनन् भन्यो । उनले मलाई म आफ्नै बाटो हिँड्छु, तिमी आफ्नै बाटो हिँड् भनेर म्यासेज गरेकी रहिछन् ।
खस्यासक्कखुसुक्क कुरा गरेको सुनेर छिटोछिटो सास फर्दै आमाले सोधिन्, ‘जेठा, के भएछ घरमा !’
हितेषले घुमाउरो शैलीमा भने, ‘माइत हिँडेकी बुहारी कहिले फर्किने अझ टुंगो छैन रे !’
यता आमा भन्दै थिइन् , ‘मैले केचाहिँ खेपिनँ हुलाँ ! मैले फेरि दश धारा दूध खवाइन् , गर्भमा राखिन तर दुवै छोराको दुईदुईपटक दिसापिसाब सोहोरे । त्यतिबेलाको कुरा सम्झिँदा आङ सिरिङ्ङ हुन्छ ।’
उताबाट भाइ आमासित बोल्न खोज्दै थियोे । आमाले बोल्न सकेरहेकी थिइन् । भाइले भन्दै थियोे , ‘दाज्यू , के हुँदै छ आमाको ! के कति खर्च पठाउनुपर्छ मैले ।’
यता आमा भन्दै थिइन् , ‘ बाबू, अब म बोल्न सक्दिनँ होला ! मैले बोलेको मोबाइलमा रेकर्ड राखेर भाइलाई सुनाउनू, कान्छा, कहिल्यै निराश नहुनू । तेरा लागि म छु । दाजुभाउजू हुनुहुन्छ ।’
प्रकाशित: १८ कार्तिक २०७७ ०७:१३ मंगलबार