१६ चैत्र २०८० शुक्रबार
कला

तन अमेरिकामा मन नेपालमा

यात्रा संस्मरण

 होमनाथ खनाल

 

२०७६ सालको दशै अमेरिकामा मनाउने निर्णय गरियो । शेखर छोरो, बुहारी छायाँ नातिनीहरूका साथ अमेरिकाको मिनिपोल्सीको मिनिसोटा भन्ने ठाउँमा जाने तयारीमा छु । श्रीमती शिला भाद्र महिनामै अमेरिका उडिसकेकी छन् । म आफ्नो घरायसी र अफिसको कामले शिलासँगै जाने अनुकूल परेन । त्यसैले म आश्विन २० गते जाने निधो गरेर टिकट काटियो । यो मेरो अमेरिका भ्रमण चौथो पटक हो । कतार एयरवेजको विमानबाट दोहाका लागि २० आश्विनमा भाइ राजकुमार अधिकारी, बहिनी तारा, छोरी प्रज्ञा र बहिनीहरू शान्ति र पूजाका साथ एयरपोर्टतर्फ लागियो । मलाई बिदाई गर्न जानुभएका भाइबहिनीहरूसँग सम्झनाका लागि केही फोटा खिच्यौँ । दिउँसो चार बजेतिर उहाँहरूसँग बिदा लिँदै भित्र चेकजाँचतर्फ लागे  । छोरी सिर्जना, जुवाइँ दिपक, नातिनी रिहाना र नाति इसान त्यतिबेला झापा भएकाले उहाँहरू बिदाइमा हुनु हुन्थेन ।

त्रिभुवन इन्टरनेशनल विमानस्थलबाट बेलुकाको ७ बजे हाम्रो प्लेन कतारको दोहाका लागि  उड्यो । अबको ५ घण्टा ४० मिनेटको उडानपछि दोहा विमानस्थलमा अवतरण हुनेछौँ । विमानमा मैले चिनेको कोही पनि नेपालीहरू देखिनँ । यो विमानमा भनौ कतार एयरवेज विमानमा म धेरैचोटि उडिसकेको छु । यसमा सेवासुविधा निकै राम्रो पाएको छु । झ्यालतिरको सिट मिलाए पनि रात परिसकेकाले बाहिरको दृश्य केही देखिदैनथ्यो । ५ घण्टा ४० मिनेटपछि दोहामा पुगियो । दोहामा ८ घण्टाको ट्रान्जिट छ । लामो ट्रान्जिट भएकाले होटलको व्यवस्था एयर बसले नै गरेको हुनाले होटल जाने तर्खर थिएँ एकजोडी नेपाली दम्पतीहरूसँग भेट भयो । उहाँहरूको होटल सुविधा रहेनछ । पहिलोचोटिको अमेरिका यात्रा बोस्टनसम्म सँगै हुने हामीसँगै यतै एयरपोर्टमै बसौ भन्न थाल्नुभयो । होटल छाडेर उहाँहरूसँगै बस्ने भए । आठ घण्टा अब एयरपोर्टमै बस्नपर्ने भयो । यो एयरपोर्ट निकै ठूलो छ । कहिले यता कहिले उता गर्दै झन्डै ४ घण्टाको समय बितेछन् । यहाँ नेपाली धैरै भेटिए । ह्विलचेयरमा पुरयाउने नेपाली, बाटो देखाउने नेपाली, सरसफाइमा नेपाली, नेपालमै छु भन्ने भान हुने यहाँ पुग्दा त । नेपाली भए पनि उहाँहरूसँग त्यति बोलचाल भएन । दुई बहिनी काम सकेर कोठामा जाने क्रममा भेट भयो । उहाँहरूले त्यहाँ आराम गर्ने ठाउँ छ त्यता गएर बस्नु नि भन्नुभयो । हामी त्यतै गएर आराम गर्न लाग्यौँ । प्लास्टिकको कुर्सी ढल्कन मिल्ने जाडो धेरै छ, लुगा ठिकै लगाएकाले चिसोले सताइरहेको छ । ननिदाए पनि आँखा बन्द गरेर बसियो ४ घण्टा यसरी ।

कतारको समयअनुसार बिहानको साढे ७ बजेतिर  कतार एयरवेजको विमानबाट बोस्टन अमेरिकातिर उडियो । यहाँबाट बोस्टन पुग्न १३ २५ मिनेट आकाशमै उडिरहनुपर्ने छ । यो लामो उडान पट्यारलाग्दो हुनेछ । मेरो सिट झ्यालतिरको हुनाले कहिले बाहिरको दृश्य हेर्छु, कहिले भित्रै, धेरैजसो समुद्रमाथि उड्नुपर्ने पानीबाहेक केही देखिन्न । यस्तैयस्तै हेर्दै १३ घण्टा बिताउनु छ । घरीघरी निदाउँदै पनि छु । यसरी अगाडि बढिदै छ । यसरी १३ घण्टाभन्दा बढी आकाशको हवाईयात्रापछि बोस्टन एयरपोर्टमा ल्याण्ड  गरियो । ठूलै बाजी जितेजस्तो भयो । यसरी पृथ्वीमा टेक्न पाँउदा । यो एयरपोर्ट पनि इन्टरनेसनल भएकाले धेरै ठूलो छ । कतारको दोहा जत्रै लाग्छ मलाई  । भित्रबाट अनुमान लगाउन मुस्किल छ ।

सँगै जानुभएको दम्पतीहरू यहीँसम्मका लागि आउनुभएकाले उहाँहरूसँग बिदा हुनुअघि मैले  ‘यात्रा जिन्दगी’ नाउँको आफ्नो पुस्तक उपहार दिएँ । उहाँ खुशी हुनुभयो । यहाँबाट नै ६ महिनाका लागि भिजा लगाइदिने रहेछ । लगेज यहीँ लिनुपर्ने रहेछ । लगेज लिएर अगाडि बढ्दै कहाँ जाने, कहाँबाट आएको भिसा, पासपोर्ट नं. इत्यादि कम्प्युटरमा आफै टाइप गरी, त्यहीँ औठाछापसहित फोटो खिची, अगाडि भिजा बस्नका लागि दिने ठाँउमा पुगेँ ।  

 

छ महिनाको भिजा लगाएर  ब्याग लगेज बढाएर आफ्नो टर्मिनल नं. ‘सि’ तर्फ कहाँ छ भनेर खोज्दै अगाडि निकै पर २ तलामाथि ‘सि’ तलामा पुगेँ । अब पालो ४ घण्टा प्रतीक्षाको अर्को विमानमा चढेर मिनिपोलिस जाने । यहाँ पुग्न पनि ३ घण्टा २४ मिनेट उड्नुपर्ने रहेछ । अब अहिले बेलुकीको समय छ । वरपर घुम्दै समय कटाउँदै छु । यहाँ त सबै विदेशी, नेपालीको त नाम निसाना नै छैन । वाइफाई फ्रि हुनाले समय निकै सहज भएको छ । छोरा शेखरलाई सबै बताउँदै आएको छु । समय बितिसकेको छ । अब विमान चढ्न लाइन बसेको छु । चेकजाँच सकी मिनिपोलिस जाने विमान चढे । 

  करीब ३ घण्टा २४ मिनेटपछि मिनिपोलिस एयरपोर्टमा विमान ल्याण्ड भयो । अब भने ढुक्क भयो । केही महिनाका लागि काठमाडौँबाट यहाँ आइपुग्न जम्मा आकाशमा मात्र साढे २२ घण्टा  आकाशको यात्रा गरी आफ्नो गन्तव्यमा पुगिने यति लामो यात्रा आज मात्र सकिएको छ । प्लेनबाट आफ्नो लगेज लिएर बाहिर आएँ । कति चिसो सिठी चलेको रहेछ असाध्य जाडो । जाडो छल्न भिको सहारा लिएर शेखरको प्रतीक्षामा बसेको छु । केही समयपछि आमाछोरा शिला र शेखर आफ्नो गाडी लिएर आइपुगे । खुसीको सीमा रहेन । अँगालोमा बाँधिएर खुसी साटासाट गर्दै गाडीबाट  घरतिर लागियो । घरमा बुहारी र नातिनीसँगको भेटघाटले वातावरण झनै रमाइलो भयो । यसरी भेटघाटपछि खानपिन गरेर आरामतिर लागें । जाँदाकोे  बाटाभरिको यात्रा गनथन यसरी सकियो ।

      यसरी मिनिपोलिसको मिनिसोटा यसलाई जुम्ल्याहा शहर ‘ट्वीन सिटी ’ पनि भन्दा रहेछन् । यो शहरको सेन्टल पाउल भन्ने ठाँउमा छोरा शेखरको बसाइ छ । यही शहरको वोएल्स फार्गो बैँकमा शेखरले काम गर्ने रहेछ । कहिले घरैबाट कहिले अफिस गएर काम सजिलो लागे घरमै बसेर गर्न पाइने शेखरले दुई विषयमा मास्टर गरेको छ । यसमा आफू पनि धेरै खुसी छु । अमेरिकाबाटै छोराले मास्टर गरोस् भन्ने  मेरो रहरै थियो । जुन सपना मेरो पनि पूरा गरिदिएको छ छोरा शेखरले ।

   यो सेण्टर पाउल, मिनि सोटा आश्विन महिनामा ज्यादै बोटबिरूवा र रङ्गीचङ्गी पातले चिटिक्कै परेको छ । यो मिनिपोलिस अमेरिकाको एउटा राज्य रहेछ । यहाँ धेरै जातजातिको बसोबास रहेछ । चाइनिजहरू धेरै देखेँ । यस्तै बंगाली, नेपाली, भुटानिज, इन्डियन लगायत अन्य धेरै देशका मानिसहरूको बसोबास रहेछ । त्यहाँको आदिबासीबाहेक । यहाँका बाटाहरू अति सफा छन् । प्रत्येक घरअघि बिरुवा रोपेका छन् । रुखका पातहरूको रंग कुनै रातो, कुनै पहेँलो देखिन्छ कति आनन्ददायक यी दृश्यहरू ।

  यसरी आनन्द लिदै कहिले पार्कतिर कहिले लालतिर घुम्न थालँ। यहाँ धेरै पार्क रहेछन् । घरनजिकको एलन पार्कमा सधैं केहीछिन बस्थें । एल्डन स्वायर्स पार्क, ला¨न पार्क, फलेन पार्क यी पार्कहरूमा गएर आनन्द लिएको छु । बाटाभरि पात झरेर जमिन पहेँलै, रातै रूखहरू त्यस्तै यो सुन्दर रूपको वर्णन जति गरे पनि कमै हो जस्तो लाग्छ । यस्तै हेर्दै निकै दिन  बितिसकेका छन् । एक दिन एलन पार्कमा बसेर लेखेको कविता यहाँ प्रस्तुत गरेको छु –

सिरिसिरि चिसो बतास, सिमसिमे पानी

यस्तै ठाँउमा बस्ने मेरो, हुँदै गयो बानी  

वरपर बोटबिरुवा मनै हरभर

यस्तै रैछ मिनिसोटा, सानु शहर

कैले हिँउ परिरहने, कैले पानी झरी  

एकैछिनमा खुला आकाश, आँखा वरिपरि

यस्तै हेर्दै बित्छन् दिन, घुम्दै वरिपरि

रंगीचंगी रूख देख्छु, मनै हरर 

यसरी कहिले पार्क कहिले शहर घुम्ने क्रममा अमेरिकाभरिकै सबैभन्दा ठूलो स्टोर्र ( मल ) मा पनि घुमियो । यो स्टोर धेरै ठूलो रहेछ । धेरै स्क्वायरमा फैलिएको मलमा केही सामान किनियो । दुईतीन घण्टासम्मको घुमफिर गर्दै यात्रा अन्य स्टोर्स मलहरू हेरियो । यहाँ ठूलो क्षेत्रफलमा फैलिएको युनिभरसिटीभित्र पसेर सम्झनाका लागि फोटोहरू खिचियो । यहाँ ठूलो कृषि फारम पनि रहेछ । नेपालीहरूले खोलेको ससाना स्टोर्स पनि घुमियो । यहाँ सबै व्यस्त दिउँसो सबै सुनसान मानिसको त चकमन्न नै भन्दा हुने ठूलो रोडमा गाडी साना बाटाहरू सुनसानै हुँदा रहेछन् । 

यहाँ यातायातको सुविधा भनेको बस नै रहेछ । मेट्र ट्रेनदेखि  बिहान नित्य मर्निङ वाकमा निस्कन्थे एक घण्टा, त्यस बखत भने केही मानिसहरू कुदिरहेको देखिन्थ्यो बाटामा । देखादेख हुँदा हाइहेल्लो भने हुने नचिने पनि मुसुक्क हाँसेर बोल्ने बानी उहाँहरूको धेरै राम्रो  लाग्छ । मिनिपोलिस स्ट्रेटको लागि खाद्यसामग्री लगायत अन्य सामान ओसारपसार गर्न ट्रेन कुद्दो रहेछ । खालि मालवाहक मात्र क्यानडा तथा अन्य देशबाट सामान ओसारपसार गर्ने ट्रेन हामी बसेको नजिकैबाट ओहोरदोहोर गरिरहन्छ । ठूल्ठूला डिब्बा बोकेको दुई सय जति डिब्बा लिएर दैनिक कुदिरहन्छ ।

यो स्टेटको अर्को विशेषता यहाँ दश हजार ताल रहेछन् । कुनै त समुद्र नै होकि भन्ने भान हुने जहाज चलिरहेको देख्ने । हामी बसेको सेन्ट्रल पावलबाट करीब ३ घण्टा पश्चिममा पर्ने टुलुक भन्ने ठाउँको ताल हेर्न धेरै मानिस आउनेजाने गर्दा रहेछन् । यहाँको मुख्य व्यवसाय होटल रहेछ । यो एउटा सानो शहर रहेछ । चिसो हावा चलिरहने हुनाले धेरैबेर बस्न सकिएन । सम्झनाका लागि केही फोटो खिचियो ।

यो स्टेटको निकै वटा ताल घुमे । घर नजिकैको तालमा प्राय घुमिरहन्थेँ । तन अमेरिकामा भए पनि मन नेपालमा घुमिरहन्थ्यो । यस्तो अवस्थामा घुमिरहन्थे ।

यसरी वरपर घुम्दै जाँदा मौसम हेरफेर हुन थाल्यो । हिउँ पर्न थाल्यो, आज भन्यो भोलि भन्यो सडकमा हिउँ थुप्रिएकाले म बाहिर निस्कन छाडेँ बाटो चिप्लो छ । हिँउले बोटबिरुवाहरू पूरै सेताम्मे छन् । सडकमा राखिएका गाडीहरू हिउँले पुरिएका छन् । बाटो सफा गर्ने, हिँउ साइड लगाउने गाडी डोजरले ठूलो सडक सफा गरिरहेका देखिन्छन् । यस्तो अवस्थामा कोठामा बसेर दिन बिताउन निकै गाह्रो हुन थाल्यो । श्रीमती शिला भने नानीसँग भुलेर उनको दिन बिते पनि आफूलाई असहज भएपछि ६ महिनापछिको टिकट सार्न लगाए शेखरलाई । शिला पनि सँगै आउने भनेर यसरी मंसिर २२ गते अमेरिकाबाट नेपाल फिर्ने भैयो । उही पहिलेकै रुटबमोजिम मिनिपोलिस, बोस्टन, दोहा हुँदै काठमाडौं आउने क्रममा यसपटक दोहामा ७ घण्टा, बोस्टनमा १२ घण्टाको ट्रान्जिटको सामना गर्दै नेपाल आइयो । यसरी चौथो अमेरिका यात्रा पूरा भएको छ ।

प्रकाशित: १५ कार्तिक २०७७ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App