१३ मंसिर २०७७ शनिबार
कला

दसैँमा दुई नम्बर

सम्झना

दिप्सन नेपाल

 

मेरो पुख्र्यौली घर चन्द्रनिगाहपुर नगएको झन्डै नौ महिना भइसकेको थियो । यसपालि दसैँमा जाने मौका मिल्यो । दसैँ भन्नेबित्तिक्कै आफूभन्दा ठूला मान्छेबाट टीकासँगै आशीर्वाद लिने पर्व हो । हामीले पढ्ने किताबहरूमा पनि दसैँको सांस्कृतिक पक्ष र यसको महत्त्वका बारेमा लेखेको छ । यिनै किताबबाट मैले दसैँमा लगाउने टीकाबारे थाहा पाएको हुँ । 

यो वर्ष कोरोनाका कारण दसैँमा धेरैतिर जाने वातावरण थिएन । त्यसैले घरमा मात्र टीका लगाउने कुरा बाबाममीले बताउनुभएको थियो । अझ यस वर्ष ममीले त टीका नै लगाउनुभएन । बडा दसैँको दिन ममीका कान्छा अङ्कल (काका) को निधन भएको १४ दिन मात्र भएकाले ममीले यस वर्ष टीका नलगाउने भन्नुभयो । त्यसैले भरतपुर घरमा बाबाले दिदी दीपिका र मलाई टीका लगाइदिनुभयो ।  

दसैँका लागि भनेर हामीले नयाँ कपडा पनि लगाएका थियौँ । बाबाले दिदीलाई टीका लगाउने बेलामा र मलाई टीका लगाउने बेलामा संस्कृतका अलगअलग मन्त्र पनि भन्नुभएको थियो तर मलाई यो मन्त्र आएन । पछि बाबालाई सोधेँ । उहाँले मन्त्र र त्यसको अर्थ पनि बताइदिनुभयो ।  

छोरी मान्छेलाई टीका लगाउँदा भनिने मन्त्र यस्तो रहेछ –  

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।  

यसको अर्थ,  ‘जयन्ती, मङ्गला, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वाहा, स्वधा नामले प्रसिद्ध जगदम्बिकेलाई मेरो प्रणाम छ’ भन्ने हुँदो रहेछ ।  

यसै गरी छोरा मान्छेलाई टीका लगाउँदा भनिने मन्त्र यस्तो रहेछ –  

आयुर्दोणसुत श्रियो दशरथे शत्रुक्षयो राघवे

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने

दानं सूर्यसुते बलं हलधरे सत्यम् च कुन्तीसुते

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।  

यसको अर्थ , ‘द्रोणपुत्र अश्वश्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होओस् । रामको जस्तो शत्रु नाश होऊन् । नहुष राजाको जस्तो ऐश्वर्य प्राप्त होओस् । हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान प्राप्त होओस् । भगवान् नारायणको जस्तो कीर्ति फैलियोस्’ भन्ने हुँदो रहेछ । 

यसरी आशीर्वाद दिएर ठूलाबाट लगाइएको टीकाले मानिसको मन र मस्तिष्कमा रहेको नराम्रो पक्ष हटेर राम्रो पक्षको विकास हुने विश्वास गरिँदो रहेछ । दसैँमा सबैसँग भेटघाट हुने, मीठो परिकार खाने, टाढा पुगेका आफन्तहरू पनि घर फर्कने भएकोले दसैँ धेरै नेपालीले मनाउँदा रहेछन् ।

हामी पनि यसपटक प्रदेश नम्बर २ को चन्द्रनिगाहपुरमा दसैँको टीका लगाउन गयौँ । सबै जना जानका लागि यसपालि असजिलो थियो । ठूला बसहरू चलेका थिए तर कोरोनाको डरले गर्दा हामी सबै जनाले बस चढेर जाने आँट गर्न सकेनौँ । हामीसँग आफ्नो सानो गाडी थिएन । त्यसैले यस वर्ष बाबाको मोटरसाइकलमा म र बाबा भएर टीकाको दिन चन्द्रनिगाहपुर गयौँ । दिदी र ममी भरतपुरमै बस्नुभयो । दिदी र मैले बिहानै टीका लगाएका थियौँ । बाबाले टीका लगाउनुभएको थिएन । चन्द्रनिगाहपुरमा रहेको मेरो पुख्र्यौली घरमा हजुरआमा (बुढी हजुरआमा), बुबा (हजुरबुबा), आमा (हजुरआमा), अङ्कल, अन्टी, बहिनी, भाइ हुनुहुन्थ्यो । बाबाले त्यहीँ गएर टीका लगाउने भन्नुभएको थियो । म पनि बाबासँगै मोटरसाइकलमा गएँ । हामी भरतपुरबाट बिहान १० बजे मोटरसाइकलमा हेटौँडा, पथलैया, निजगढ हुँदै  १ बजे चन्द्रनिगाहपुर पुग्यौँ । त्यहाँ पुगेपछि बाबाले टीका लगाउनुभयो । मलाई पनि सबैले टीका लगाइदिनुभयो । सबै जना भेट्न पाउँदा खूब रमाइलो भयो । आमा(हजुरआमा)ले खाना बनाएर राख्नुभएको रहेछ । हामी सबैले खाना खायौँ । बुबा(हजुरबुबा)ले सानो पिङ पनि हाल्नुभएको रहेछ । मैले पिङ खेलेँ । टीकाको दिन त्यसै रमाइलोमै बित्यो ।  

चन्द्रनिगाहपुर प्रदेश नम्बर २ को रौतहट जिल्लाअन्तर्गत पर्ने चन्द्रपुर नगरपालिकाको मुख्य बजार हो । पहिला यसलाई चन्द्रनिगाहपुर नगरपालिका नै भनिन्थ्यो रे । पछि फेरि चन्द्रपुर भनेर नाम फेरेका रहेछन् । ठाउँको नामचाहिँ चन्द्रनिगाहपुर नै छ । पहिले राणा शासन कालमा चन्द्र शमशेरले यो ठाउँमा बस्ती बसाएको हुँदा यसको नाम चन्द्रनिगाहपुर रहेको भनेर हजुरबुबाले भन्नुभएको थियो । रौतहट जिल्लाको सदरमुकाम गौर हो । चन्द्रनिगाहपुरमा हाम्रै घर नजिक मालपोत कार्यालय, नापी कार्यालय पनि रहेको छ । मुख्य बजार निकै ठूलो छ तर भरतपुरजस्तो चाहिँ लागेन । 

अर्को दिन हामी फर्कने दिन थियो । अझै धेरै दिन बस्न मन लागेको थियो तर भरतपुर फर्कनु परिहाल्थ्यो । त्यसैले टीकाको भोलिपल्ट बाबा र म फर्कने तयारीमा लाग्यौँ । आमा(हजुरआमा)ले बिहान खाना बनाउनुभयो । हामीले खाना खाएपछि दिउँसो १ बजेतिर बाबा र म फेरि मोटरसाइकलमा भरतपुर फक्र्यौँ । भरतपुर आउँदा चुरियामाई मन्दिर नजिकै बसेर आफैँले बोकेर ल्याएको खाजा खायौँ । यसपछि फेरि मोटरसाइकलसँगै हामी पनि भरतपुरतर्फ दौडिरह्यौँ । मोटरसाइकलमा हिँड्दा डर त हन्छ नै तर बाहिरको सबै दृश्य खुल्ला हेर्न पाउँदा रमाइलो पनि लाग्यो ।

हामी अपराह्न ४ बजे भरतपुर आइपुग्यौँ । भरतपुरको घर आएपछि मैले ममीलाई चन्द्रनिगाहपुर जाँदादेखि त्यहाँ भएका र फर्कँदाका सबै घटना सुनाएँ । दिदीले पनि सुन्नुभयो । कोरोना र लकडाउनपछि कतै पनि हिँड्न पाएको थिइनँ । यसपालि दसैँको अवसरमा आफ्नो पुख्र्यौली घर जान पाएँ । यात्रा गर्दा खुब रमाइलो लाग्यो । कोरोनाको प्रभाव हट्यो भने तनहूँको खैरेनीटारमा रहेको मामाघर र काठमाडौँ जाने रहर छ । चाँडै मेरो रहर पूरा होओस् भन्ने लागेको छ ।  

                                                                                                                  कक्षा –६,  

                                                                                         वाल्मीकि शिक्षा सदन, भरतपुर, चितवन  ।  

प्रकाशित: १३ कार्तिक २०७७ १६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App