देवेन्द्र खेरेस
विद्यालयको अन्तिम कक्षाका विद्यार्थीहरूको बिदाई पार्टी चलिरहेको छ । पर्खालबाहिर छोरीलाई पर्खेर बसिरहेको छु । डान्सपार्टीको चर्को आवाज बाहिरसम्म आइरहेछ । गीत सुनेर केही आनन्द महसुस हुन्छ तर गीतको शब्द र सङ्गीतलाई राम्ररी बुझ्न नसक्दा आवाजले मात्र खास आनन्द महसुस नहुँदो रहेछ । अझ अंग्रेजी गीतको शब्द उच्चारण बुझ्न निकै घोत्लिनु पर्दछ । पर्खालभित्रको आवाजले आनन्द महसुस नभएपछि कारभित्र बसेर पुस्तक पढ्ने विचार गर्छु । डिजिटल स्क्रिनमा पढ्ने बानीले हातमा पुस्तक लिएर पढ्ने बानी नै हराइजस्तो भएको छ । तर, प्रिय लेखक सिके मिलन राईको स्नेहपूर्वक पार्सल कवि कविता राईको ‘आमा र जून’ कवितासङ्ग्रह भर्खरै पोष्टम्यानले ढोकामा खसालिदिएको थियो । बाहिर निस्कँदा ढोकाबाटै पुस्तक टिपेर आएको छु ।
कवि कविता राईको ‘आमा र जून’ कवितासङ्ग्रहभित्र ३८ थान कविता समेटिएका छन् । कविताहरू एकसरो अध्ययन गरिसकेपछि केही लेख्ने उत्साह जागेको छ । कविता के हो ? सोच्न थाल्यो भने सोच्दासोच्दै समुद्रको माछाजस्तो कहीँ हराइन्छ । कविता पढेर कविताको गहिराइसम्म पुग्न सकेमा कविताको महत्व बुझिन्छ । तर, कवितालाई सतहमा मात्र बुझ्ने हो भने बजारको सामान हेरेजस्तो मात्र हुन्छ, भित्रसम्म छिचोल्न सकिँदैन । ‘आमा र जून’ कृतिमा समेटिएका कविताहरू पढ्नु र समीक्षा गर्नु जति सजिलो होला, कविता लेख्नु उस्तो सजिलो छैन ।
‘कवि हुन सकेकी छुइनँ तर मन लाग्छ कवि हुन । कसरी पलायो कवि मन ?’ ‘आमा र जून’ कृतिको सुरुमा कविको आफ्ना भनाइ पढेपछि लाग्योे कविता राई काव्यलेखनमा एक विचार र चिन्तनसहित आएकी कवि हुन् । उनका कविताहरू पारिवारिक मातृत्व र सामाजिक सरोकारका विषयहरूको गहन चिन्तन र विचारहरूबाट सिर्जित छन् । कुनै व्यक्ति, समाज र राष्ट्रको विविध पाटोलाई सोचेर, बुझेर र भोगेर सिर्जनामा अभिव्यक्त गर्न सक्नु कविको सिर्जनात्मक कला पनि हो । यहाँ कविले आफ्नै जन्मदिने आमाले बजाउनुभएको मुर्चुङ्गा र गाउनुभएको गोठाले गीत, बाबुले वाचन गरेका महाभारत, दिदीहरूले गाएका हाक्पारे गीत र दाजुभाइले बजाएको मुरलीको धुनलाई सामाजिक चिन्तनको मूलपाटो बनाएर कविता लेखनको स्रोत बनाएको पाइन्छ ।
कहिले आमा भन्नुहुन्थ्यो–
छिटो बुबु खा
जून झुल्किसक्छ
कहिले आमा भन्नुहुन्थ्यो–
छिटो बुबु खा
भाले बासिसक्छ
कहिले आमा भन्नुहुन्थ्यो–
छिटो बुबु खा
जून अस्ताइसक्छ ।
(आमा र जून)
‘आमा र जून’ कवितासङ्ग्रहभित्रका कविताहरू पढिरहँदा कविताको विषयवस्तुले एकखालको विचार प्रवाह गर्दछ भने विम्ब र भावहरूको संयोजनले करूणा र आक्रोश जागृत गराउँदछ । मानिसको मन हो, छिनमा खुसी हुनु, रिसाउनु, उत्साहित हुनु र निराश हुनु । यो मानवीय स्वभाव पनि हो । कविताले पाठकको मनमा दया, माया, घृणा, रिस र आक्रोश जागृत गराउनुु काव्यसिर्जनाको महान् गुण सम्झनुपर्दछ । कविता लेख्दै गर्दा कति कुराहरू लेखिँदै जाने गर्दछ । कहिलकाहीँ विषय र प्रसङ्गहरू कुनै कथा वा कहानीजस्ता पनि हुने गर्दछन् । कविता राईको समाजप्रति गहिरो चिन्तनले उनका कविताहरू नेपाली जनजीवनका भोगाइहरू प्रतिविम्बित हुने गरेका छन् ।
कवितालेखनमा कविको आआफ्नै कलात्मक भाषा प्रयोग र दृष्टिकोणहरू हुने गर्दछ । जसले गर्दा कविको आफ्नो छुट्टै विशेषता निर्माण हुने गर्दछ । मानिस आफू भएर बाँच्नु महानता हो, अरूजस्तो हुनु त नक्कल गर्नु मात्र हुन्छ । कविता राईले समाजका विविध पक्षहरूलाई समेटेर कवितालेखनमा आफ्नो छुट्टै विशेषता स्थापित गरेकी छन् । कवि जुन ठाउँमा बाँचेको छ र जीवन भोगेको हुन्छ । त्यस ठाउँको सिर्जनामा प्रभाव छाड्नु स्वाभाविक हो । ‘आमा र जून’ कवितासङ्ग्रहभित्रका कविताहरू कविले टेकेको माटो, देखेको भूगोल र भोगेका समाजलाई सिर्जनाको मूलस्रोत मान्न सकिन्छ । बाबा, देश खोज्दै जाँदा, बा ! म लाहुर जान्न, रूवाइ, आमा र जून, खोलाको मन र नयाँ गोरेटो शीर्षक कविताहरू कविले आफ्नो थात्थलो वरिपरिका विषय र परिस्थितिका बारेमा लेखेको पाइन्छ । यसैको पेरिफेरीमा रहेर व्यक्ति र समाजले भोगेका तीतो यथार्थलाई कवितामा सर्लक्क उतारिएको छ ।
बाँझो जोतेर डल्ला फुटाउँछु
र, रोप्छु टारबारीमा
समृद्विको अर्गानिक बीउ
बर्खाभरि बेसाह बोक्ने
तिम्रो थोत्रे बोराभरि
भरिदिन्छ खुसी नै खुसी
हो बा ! अब म लाहुर जान्नँ ।
(बा ! अब म लाहुर जान्नँ)
कविता यस्तो विधा हो, जसले थोरै शब्द र वाक्यहरूले पनि सिङ्गो जीवनलाई परिभाषित गर्दछ । समाजका विभिन्न पक्षहरूलाई मिहीन ढङ्गले केलाएर सही र गलत के हो ? विम्ब र भावहरूद्वारा व्यक्त गर्ने गर्दछ । यिनै सर्वगुणले बहुसङ्ख्यक कवि÷लेखकहरूको लेखनको सुरूवात काव्यविधाबाट हुने गरेको पाइन्छ । र, धेरै साहित्यकारले कवितालाई उक्लिने खुट्किलो बनाएका छन् । कविता राईको सुरुवाती लेखन कविताबाट भए पनि सुझबुझपूर्ण पाइन्छ । उनका कविताहरू सरल र सहज छन् । केही कविताहरूमा सरलताभित्र पनि गहनता भेटिन्छन् । कविताप्रतिको सोच, चिन्तन र लेखनका लागि कुनै भूगोल पार गर्नु पर्दैन भन्ने उदाहरण हुन्, कविता राई । व्यक्ति वा समाज सधैँ सुखसुविधाको पछि दौडिएको हुन्छ । भौतिक विकास वा परिवर्तनले मानवीय संवेदनाहरू घट्दै गएकोप्रति कवितामा चिन्ता र आक्रोश प्रकट गरिएको छ । सभ्यता र विकासको आवरणभित्र सामाजिक सद्भाव कम हुनु समुदायका लागि हानिकारक हुन्छ भन्ने कविताले सन्देश दिएको छ ।
...मान्छे यहाँ
यन्त्रजडित मुटु बोकेर हिँड्छन्
अनि आधुनिक बम र क्षेप्यास्त्र ओकल्छन्
बुद्धले कुल्चिएको माटोमा उभिएर
के गरूँ म आखिर
शान्तिको गीत गाएर ।
(चेतनाको आडम्बर)
कविता लेख्नु शब्दको खेती गर्नु मात्र होइन, सिङ्गो जीवनको चित्रण गर्नु पनि हो । भूगोल यही हो, माटो यही हो र समाज पनि यही नै हो । तर, कविले फरक तरिकाले जीवनको परिभाषा खोज्दछ । समाजको कुन पक्षलाई बढी उजागर गर्न खोजेको हो ? कविको सोच र चिन्तनले निर्देशित गर्दछ । कविता राईले परिवार र आफन्तहरूसँगको सम्वादलाई सरल तरीकाले कवितामा उतारेकी छन् । धेरै आशा र उत्साह लिएर पूmलबारीमा बैंस फक्रिने रहरहरू खोलाको बाढीजस्तै नियतिले बगेर पूरा हुन नसकेको यथार्थ कवितामा पढ्न पाइन्छ । सामाजिक विकृति–विसङ्गतिहरू र समाजको कमजोर पक्षहरूका बारेमा कविताले उजागर गर्न खोजेका छन् । राज्यले नागरिकलाई दिनुपर्ने सेवा–सुविधाहरू सर्वसुलभ नहँुदा भोग्नुपर्ने दुःख–कष्टहरू र राज्यका कमीकमजोरीहरू आँैल्याइएको छ । सुनामी र महाभूकम्पजस्ता भवितव्य र यसबाट समाजलाई हुन गएको भौतिक क्षतिले मानिसमा पारेको मनोवैज्ञानिक असरहरूका बारेमा पनि कविता बोलेको पाइन्छ । यति मात्र होइन, जीवनको आशा, उमङ्ग, बाध्यता र मायाप्रेमका भावनाहरू व्यक्त गरिएका कविताहरू प्रशस्त छन् । लाग्छ, कविले अनेक विषय र परिस्थितिहरूमाथि टेकेर लेखिएका कविताहरू हुन् यी ।
रमाइरहेँ युगयुगान्तर
आफ्नै निजी पौरख र सामथ्र्यमा
कति सुन्दर छ
गल्छी, खोल्सा, खहरे र झरनाहरूमा
कोशी, सप्तकोशी पुग्ने अन्तिम लक्ष्य
कति महान् छन् ।
(खोलाको गीत)
कवि सबै मानिस हुन्, सबै मानिस कवि हैनन् । कविता राईको लेखनले यही भन्दछ । उनले बाँचेको भूगोल कुनै निश्चित ठाउँ भए पनि उनको कविताले विश्वपरिक्रमा गरेका छन् । उनको कवितामा ममतामयी आमाको न्यानो माया मात्र छैन, शान्तिका दूत भगवान् बुद्धदेखि बम र क्षेप्यात्रसम्म कवितामा पढ्न पाइन्छ । नारीको हकहित र सामाजिक अन्यायका बारेमा कविता बोलेको छ । सुनामी र महाभूकम्पजस्तो भयावह प्राकृतिक विपत्तिका बारेमा पनि छन् कविता ।
भौगोलिक बनोटको कारणले पृथ्वीमा हुने घटना–परिघटनाले मात्र होइन, समाजमा विभिन्न खालका अन्याय, अत्याचार र अभावले मानिसहरूले दुःख पाइरहेको कवितामा पढ्न पाइन्छ । जन्मँदै विभिन्न समस्याले किचेपछि बिरामी र सुत्केरी हुँदा झन् विकराल समस्या आइलाग्छ । समाजमा धेरै मानिसहरू दुःख र अभावबाट उन्मुक्ति पाउन सकेका छैनन् तर, जाली फटाहा र गुण्डाहरू यथावत छन् र राज्य सञ्चालनमा शासकहरूको कार्यशैली उस्तै छ । मानिसहरूको दुःख, निरासा र आक्रोश मात्र होइन, देशप्रेमका भावना छन् कवितामा ।
गाउँदेखि शहरसम्म
शहरदेखि गाउँसम्म
कहाँ खोजिन देश...।
(देश खोज्दै जाँदा)
कविता चौबाटोको शालीकजस्तै हो, प्रत्येक कोणबाट फरकफरक तरीकाले हेर्न सकिन्छ । जति धेरै कोणहरूबाट चिन्तन गर्न सक्यो, त्यति नै कविताले दीर्घजीवन पाउँछ । कवि कविता राईको ‘आमा र जून’ कवितासङ्ग्रहभित्रका कविताहरूका सम्बन्धमा धेरै चिन्तन गर्न सकिन्छ, दृष्टिकोणहरू बनाउन सकिन्छ । भूगोलको उपल्लो गोलाद्र्धबाट नियाल्दा कविताले सरासर गाउँमा पु¥याउँछ । परिवार र समाजसँग सम्वाद गराउँछ । गाउँको सुखदुःख र मायामोहले एकैछिनमा चुर्लुम्म डुबाउँछ । जीवनको सुखानुभूतिको सीमा पार गरेर गएपछि गाउँबेंसीका अर्गानिक कविताहरू सम्झनाका कोसेली हुने गर्दछन् । सामाजिक सचेतनाले लेखिएका कविताहरू समृद्ध समाज निर्माणका लागि सधैँ मार्गनिर्देशन बन्छन्, कवि राईको ‘आमा र जून’का कविता पढ्दा मलाई यस्तै लाग्यो ।
प्रकाशित: १३ कार्तिक २०७७ ०९:१९ बिहीबार