१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बाटाखर्ची र गुम्फन ज्ञान

कथा

खेमराज पोखरेल 

 

मैले त्यो बेला जीवनका बाटाहरू बन्द भएको महसुस गरेको थिएँ । झोक्राएको थिएँ । यो देखेर बाबाले मलाई भन्नुभएको थियो – देश नखाको छोरो र हिलो नखाको गोरु काम लाग्दैन । ला यो बाटाखर्ची । देश दुनियाँ हेरेर आइज ।

यसरी म घर छोडेर हिँडेको थिएँ ।

म पहिले एकदम बलियो थिएँ । हलो –कोदालोमा अब्बल थिएँ । व्यावसायिक खेतीपातीमा असाध्य मन लाग्थ्यो । तर मैले एसएलसी पास गर्नेबित्तिकै बाबाले मलाई ठूलो मान्छे बनाउन उच्च शिक्षा पढ्न राजधानी सहर पठाउनुभयो । आठ वर्ष लगातार पढेर आएपछि खेती गरेर खान सक्ने हुती थिएन मेरो । शरीर सुकुमार भइसकेको थियो । त्योभन्दा पनि पढेपछि हलोकोदालो गर्न हुन्न भन्ने सिकेर आएको थिएँ । भकारो साहोर्न हुन्न भन्ने जानेर आएको थिएँ । समाजले त्यही सिकाएको थियो । त्यसैले दक्षताविहीन जागिर एक मात्र मेरो बाटो थियो । जागिर पाउन सजिलो थिएन । लोकसेवा पास गर्ने हुती थिएन । कसैले टिपौवा जागिर दिएनन् । केही कसै गरे पनि जागिर पाइनँ । बाबाले मेरो जागिरका लागि निकै पापड बेल्नुभयो तर पाइएन । चुनाव आएको थियो, नेताको पनि खूबै चाकरी गरेँ । खाईनखाई आफ्नै खर्चमा चुनावमा खटेँ । तर जागिर पार चलेन । आफन्त तथा समग्र परिवेश मलाई जागिर खोज्न असमर्थ भइसकेका थिए । मेरो कुरौटे समाज मलाई लाछी भन्न थालेको थियो ।

तीन दिन लगातार हिँडेपछि कोसी तरेर पारिपट्टि अलि पर फँडानी गरिएको कालाझोडा खोरियामा लखतरान भएर पुगेको थिएँ । खोरिया ऐलानीमा ससानो बजार नै रहेछ । शहरको नजिकै पर्ने हुनाले त्यो ऐलानी निकै गुल्जार रहेछ । सुकुम्बासीका झुप्रा त थिए थिए, पक्की घरहरू पनि थिए । घरघर पुगेर ज्ञान प्राप्त गर्नु असम्भव थियो । फेरि यो कलियुगमा त ज्ञानको सूत्र चिया दोकानमा पाइन्छ भन्ने सुनेको थिएँ । आफैँ पनि चिया दोकानमा जाँदा सारा संसार फाँडेका मान्छेहरू प्रत्यक्ष देखेको थिएँ । आफैँले सुनेको थिएँ । साँझ पर्न थालेको थियो । आखिर बास पनि बस्नु थियो । ससानो बजारजस्तो देखिने एउटा दोकानजस्तो झुप्रो घरमा पुगेको थिएँ । त्यसको एका छेउमा किराना दोकान थियो । अर्को छेउमा होटल थियो । त्यो बिहान चिया दोकान, दिउँसो भात होटेल, बेलुका भट्टी र रातमा लज रहेछ अनि मैले केही दिन त्यो दोकाने घरमा बस्ने विचार गरेँ । मलाई पिरलो थिएन, किनकि मसँग बाबाले दिएका पैसा थिए । 

म त्यो दोकानमा पुग्दा ठूलो साँझ परिसकेको थियो । त्यो होटेल रक्सी भट्टीमा परिणत भएको थियो । म पुग्दा नै टेबुलकुर्सी सबै भरिएका थिए । आँगनमा पनि सुकुल ओछ्याएर समसाँझैदेखि मान्छेका समूहहरू रक्सी खाँदै थिए । मातिँदै थिए । हल्ला बेस्सरी थियो । तीन दिन हिँडेकाले निकै थकाइ लागेको थियो । त्यो दोकाने घरमा बाँसका भाटा फुटाएर खाट बनाइएको थियो । बाँसैका खाँबा र बलो पनि बाँसैका थिए। त्यसमाथि पातलो डस्ना राखेर ओछ्यान बनाइएको रहेछ । मलाई त्यहीँ सुत्न दिएका थिए । यता फक्र्यो चुँइक्क गथ्र्यो । उता फक्र्यो चँुइक्क । सुकोमल डस्नामा सुत्न बानी परेको मेरो ज्यान सुत्न सक्ने त कुरै आउँदैनथ्यो ।

बाहिर रक्सी–गफ उत्कर्षमा थियो । लाग्दथ्यो संसारका विज्ञ यहीँ भेला भएका छन् । सारा ज्ञान–विज्ञान छताछुल्ल हुँदै थिए । साहुनीले चोलोको माथ्लो तुनु खोलेकी थिइन् । त्यहाँभित्रबाट सेतो छालाको घेराले घरीघरी दर्शन दिन्थ्यो । त्यसैका तालमा महफिल जमेको थियो । हल्लाखल्ला धेरै भएकाले धेरै कुरा त मैले सुन्न र बुझ्न सकिनँ तर जति सुने ती यस्ता थिए –

– साला, यी न्यायाधीश भनिनेहरू चोर हुन् । घुस्याहा हुन् । अदालत भन्नु घुसको भकारी हो ।  

– अरे यार, यो कसैलाई मद्दत गर्ने वा नगर्ने भन्ने कुरा पनि गाह्रो छ । एउटालाई सहयोग गर्यो भने अर्को रिसाउँछ । न्याय पनि त्यस्तै हो । एकको न्याय गर्दा अर्को अन्यायमा पर्छ ।  

– चूप लाग्नोस् तपाईँ, तपाईँले जे भने पनि घुस खाएर फैसला गर्ने न्यायाधीश त पातकी हुन्, सोझै कुम्भीपाकमा पर्छन् ।  

– भुत्रो पर्छन् ! घर उनकै ठूला, छोरा उनकै राम्रा स्कुलमा, गाडी उनकै । मान उनकै । सान उनकै । यो कुम्भीपाक भन्ने त चित्त बुझाउने मेलो हो, हुतीहाराको कुरा हो  । डर देखाएर मान्छेलाई कज्याउने अस्त्र हो ।  

¬– त्यसो नभन यार ! पाप धर्मको पनि ख्याल राख्नुपर्छ ।  

– भुत्रो ख्याल राख्नु, आफ्नो हुँदोखाँदोको जग्गा चोर न्यायाधीशले खोसिदियो ।

एकछिन सबै चूप लागे । मैले बुझेँ उसलाई अदालतले हुनसम्मको अन्याय गरिदिएको रहेछ । ऊ त्यो अन्यायको कहरलाई रक्सीका घुटमा मिसाएर मस्याङ्ग्य्राउँदै थियो  र फेरि बाँच्दै थियो ।  

फेरि मेहफिलमा राजनीतिक विषयवस्तु आयो ।  

– यी नेता त सबै चोर । देश सबै बेचेर खाइसके । हाम्रै सांसदलाई हेर न । हिजो चप्पल लाउन नपाएको मेरै आँखा अगाडि टडकारै छ । एकपल्ट मन्त्री हुन के पाएको थियो, अहिले काठमाडौँमा तीनवटा घर ! उसको तर्फबाट गाउँका गाउँ पैसा बाँड्ने, गुण्डा कार्यकर्ता परिचालन गर्ने मै हुँ । अरे यार के भन्नु ! बुथ कब्जा गरेर जिताएको अस्तिजस्तो लाग्छ । बुथ कब्जा गर्न कबुलेको पैसा पनि पो दिएन त त्यो चोट्टाले । मलाई त गु पुछेको काठ बनाइदियो त त्यसले । चुनाव मात्र आओस् न जनताले देखाइदिन्छन् ।  

– जनताले यत्रो देखाउँछन् ! जनता ! जनता !! हाहा भाते जनता । गणेशमानले त्यसै भनेका हुन् भाते जनता ! जता मल्खु उतै ढल्कु । मल्खु बाँडेर चुनाव जितिने भएपछि किन चाहियो हौ जनता ! यस्ता भेडा जनताको पनि के कुरा गर्नु र ! खोई कुरा बुझेको !

क्सी गफमा धेरै कुराहरू भइरहेथे तर म भने ती जँड्याहाले कुरा ठीक भने कि बेठीक, ठम्याउनै सकेको थिइनँ । मध्यरातसम्म कुरा गरेर लरबरिँदै थिए उनीहरू । साहुजीले हथेरेर घर पुर्याउन मद्दत गर्दै थिए । थाकेको शरीर कति बेला आँखा लागे, थाहै पाइनँ ।  

बिहानीपख यसो आँखा लागेकै रहेछन् । साहुनी उठेर आगो जोर्न थालिन् । आलु उसिन्न बसाइन् । साहु उठेर दाउरा ल्याउँदै थिए । मलाई साहुसाहुनीसँग रिस उठेन । बरु उनीहरूको जीवन देखेर झन् उराठ लाग्यो । राति एक बजेसम्म जुठाभाँडा माफ्दै, मातेका मान्छेसँग बात मार्दै बित्थ्यो । बिहानै चिया दोकान खुलिहाल्यो । मान्छे चिया खान आइहाले । म पनि उठेर चियाको चुल्होको अगाडि मूढामा बसेँ । साहुजी मसँग बोले – रातको कल्याङमल्याङले सुत्न सक्नु भएन होला । यहाँ त यस्तै हो । के गर्ने हातमुख जोर्न गर्नै पर्यो । केटाकेटीको लालनपालन गर्नै पर्यो ।  

अनि मैले उनलाई सोधेँ – सधैँ यस्तै हो र साहुजी !

उनले भने – सधैँ यस्तै त हो नि । यो दोकान थापेपछि त इष्टमित्र, चाडबाड, आरामबिराम सबै हराए ।  

– आम्मामा, राति १ बजे सुत्ने अनि बिहान साढे चार बजे नै उठ्ने गरेर कसरी बाँच्न सकिन्छ ?

– के गर्ने नबाँचेर ? जसरी पनि बाँच्नै पर्छ । अन्नपानीको शरीर, काल कति खेर आउँछ, थाहा छैन । बाँचुञ्जेल यो गोजेरो त भर्नै पर्यो ।  

– अनि साहुनी पनि त्यस्तै रातिसम्मै हो ?

– हो नि बिचरा, बरु म भइनँ भने पनि दोकान चल्छ, ऊ भइन भने त दोकान नै चल्दैन । आइमाईको गन्ध नआई जँड्याहा कहाँ आउँछन् र ! आइहाले भने पनि कहाँ रौसिन्छन् र ! नरौसिई कहाँ हौसिन्छन र ! नहौसिए हाम्रो गुजारा कसरी चल्छ त ! कुरा बुझ्नुस् न, म त हेरालो मात्रै हुँ । 

बिहान चिया खान मान्छे आए । कोही त हतार पनि गरिरहका थिए तर धेरै फुर्सदिला थिए । मर्निङ वाकको बहानामा निस्केका पुरुषमहिलाहरू घण्टौँ लगाएर चिया पिइरहेका थिए । देशको अर्थशास्त्र, समाजशास्त्र, राजनीति, जग्गा दलाली, उठापटक शास्त्र, कुटनीति, कुट्ने नीति, यौन कुण्ठा, धर्मशास्त्र, संसार शास्त्र, दर्शनशास्त्र सबै त्यहाँ त्यही एक कप चियामा मिसाइरहका थिए ।

साहुजी भन्दै थिए– अहो, घाम पनि कति चाँडै आएका ! एक बाँसका भइसके । कस्ता मधुरा घाम ! कस्तो हो दिन पनि मिलिक्क बित्छ ।

मैले साहुजीको अनुहार पढेँ  । सायद उनी भनिरहेछन् – एक कप चियामा पूरै टेबुल घण्टौं कब्जा गरेका छन् । के गर्नु यिनका गफ, भन्न नहुने टुप्पी बिक्ने भनेको यही हो । 

म पनि एकाछेउमा बसेर हेर्दै थिएँ रमिता । एउटा गेरुवा जोगी पनि सिउसिउ गर्दै चिया खान आए । आइपुग्नेबित्तिकै बाबाजीले नेपालीमा प्रवचन दिन थाले । धन्न उनी नेपाली भाषा बोल्दै थिए, नत्र त जोगी भएपछि कहाँ आफ्नो भाषा बोल्छन् र ! उनी भन्दै थिए – काम–क्रोध–रिस–धन आदिमद हुन् । जन्म र मरण दुवैलाई समान ठान्ने मान्छे सिद्ध हो । तपाईँ गृहस्थी जीवन बाँचिरहनु भएको छ । यो धर्म हो । तपाईँले खान दिएर जगतलाई पालिरहनुभएको छ । तपार्इँको यो दोकान असाध्य लछिनको छ । अबको चार वर्षमा यहाँ तपाईँको चारतले बिल्डिङ बन्छ । चिया पिलाउनुस् ।

हाँसोको फोहोरा छुट्यो ।  

बाबाजी सुरुप्पसुरुप्प आवाज निकालेर चिया सुक्र्याउन थाले । बाबाजीका कुरा अलि सन्की सन्की खालका पनि थिए । एकप्रकारले भन्ने हो भने हाफ खुस्केटजस्तो ।  

ऊसँग त्यहाँ फुर्सदिला मान्छे बसिबियाँलो चियागफ गर्दै थिए । म सुनिरहेको थिएँ ।

– बाबाजी, तपाईँले के पढ्नुभएको ?

– संस्कृत ।

– ‘...?’

– वेद, कण्ठै आउँछ नि ।

– ‘... ?’

– मलाई त गुरुले छडीले दनक दिएर वेद कण्ठ पार्न लगाए । कण्ठ पारेँ । गुरुले अर्थ बुझाएनन् । मैले पनि केही बुझिनँ ।  

– ‘....... ?’

– त्यो गाईखाने विद्या अंग्रेजी पढेको भए जोगी हुनै पर्ने थिएन नि !

– ‘...?’

– भगवानले सपनामा जोगी बन् तेरो कल्याण हुन्छ भने । म भगवानको इच्छा पूरा गर्न जोगी भएको हुँ ।  

शास्त्र कण्ठै पारेको गेरुवा बाबाको कुरा सुनेर झन् भाउन्न भयो । एकपल्ट शिक्षा नीतिलाई सम्झेँ । मेरो मात्र प्रमाणपत्र नबिकेको भनेको त यसको पनि बिकेको रहेनछ, बिचरा ! 

दोकानमा दिनभरि मान्छेहरू आइरहे । चिया खाइरहे । भात खाए । खासमा दोकान निकै बिजी रहेछ । म दिनभरि त्यही दोकानमा आउने मान्छेको कुरा सुनेर बिताइरहेको थिएँ । होटलमा भात खान एउटा लुमे्र केटो आयो । ऊ निकै दुब्लो देखिन्थ्यो । यस्तै १२÷१४ वर्षको देखिन्थ्यो । जिङ्रिङ्ङ देखिन्थ्यो । पटक्कै आकर्षक थिएन । उसले भातको एक गाँस मुखमा हालेको मात्र थियो, साहुनीले भनिन् – ए वीरे, अघिल्लो महिनाकै पैसा दिएको छैनस् । पहिले पैसा दे अनि मात्र भात खा । कस्तो त हौ, आज आज भोलिभोलि मात्र भन्छस् त !ऊ निम्छरो भएर रुञ्चे स्वरमा भन्दै थियो – साहुले पैसा दिएका छैनन् । कोरोना लागेकोले काम पनि धेरै छैन । साहुसँग मुख लागौँ भने निकाल्लान् भन्ने डर छ । सत्ते आएपछि तिरिहाल्छु नि साहुनी ।  

ऊ भात खाएर गयो । अनि मैले साहुनीलाई सोधेँ – को भाइ हुन् यिनी ? कस्तो दुब्लो रहेछन्, खियाउटे ।  

साहुनीले भनिन् – पूर्व ३ नम्बर ओखलढुङ्गाबाट आएको हो रे । यहाँ ईँटा भट्टमा काम गर्छ । अनाथ हो । यसकी आमा यो वर्षीको छँदा अर्को बच्चा पाउन नसकेर मरेकी रे । यसको बाबुलाई माओवादीमा लाग्यो भनेर सेनाले मारेको रे । यो पनि ६ वर्षकै हुँदा बाटो हिँड्ने मान्छेको पछि लागेर यहाँ आइपुगेको हो रे ।

म यो कुरा सुनेर दिक्दार भएँ । त्यो कथाभित्र सारा नेपालको समस्या देख्न थालेँ । सुत्केरी बेथा लागेर मरिरहेछन् आमाहरू । राजनीतिले निर्दोष मान्छे मार्दैछ अनि बालअधिकार ईँटा भट्टामा उधारो काम गर्दैछ । शैक्षिक नीति भट्टा बसेको छ । उफ ! मान्छेको चोला ।

दिन यस्तै यस्तै दिक्दारीभावमा बिते मेरा  अनि फेरि रात पर्यो । दोकान रक्सी भट्टीमा रूपान्तररित भयो । मान्छेहरू दोकानमा आइपुगे । रात बाहिर चिसोले जमेको थियो । भित्र र आँगनमा पनि मान्छे जम्न थाले । जमेर तात्न थाले । फेरि पूर्ववत् रक्सी गफ सुरु भयो 

– सरकारी जागिर छ तपाईँको त । मोज छ नि ।  

– सरकारी जागिर खाएको हो भनेको नि भन्न ता । तर डन र तस्करले हैरान लाइसके यार !

– होइन, देशमा कानून छैन र भन्या ! कानून खेलाउने भएपछि ठिँगुरा ठोक्नु नि !

– कानुन छ नि देखाउनलाई । ती त डन तस्कर मात्र भएता हुन्थ्यो नि, तह लाइन्थ्यो होला । तर ती त पार्टीका कार्यकर्ता हुन् नि ।  

– जागिर खाने भएपछि राजनीति त मिलाउनु पर्यो नि हौ गाँठे । यत्ति जाबो कुरा पनि !

– मचान घरेका छोराले यत्रो वर्ष सरकारी जागिर खाएको, उल्लुले केही ख्याँसेन ।  

– सरकारी जागिरले एकदुई वर्षमै काठमाडौँमा घर ठडिन्छ र भन्या !

– तलब त बिलो लाउन नै पुग्दैन नि हौ । यो महँगीमा हामीले बाँच्नु परेन ! छोराछोरी पढाउन परेन !

– सरकारी भनेर पनि के गर्नु ? आफूलाई हुलाकले कहिल्यै छोडेको होइन । यो सरकारी जागिर त कसैले नखाओस् ।

– होइन के भन्छौ तिमीहरू ! पैसा नखुवाई त्यसै यस्तो ठाउँमा सरुवा भएको हो र मेरो ! हुती नहुनेले हुलाकमै बस्नुपर्छ ।  

– नोकरीभन्दा राम्रो त यौन पेसा हो बरु । उसको मनमौजी इच्छा त चल्छ । हामी त जागिरे । जसले पनि पीपलको पातझैँ हल्लाउँछन् । अडिन दह्रिन कहाँ पाइन्छ र ! मर्नुको जुनी ।  

– हामी सुको नकमाउने बेरोजगारका अगाडि यस्ता कुरा नगर न हौ हाकिम साबहरू, सरकारी जागिर पाए कोरीका पाउ पनि मोलिन्थ्यो नि ।  

– त्यो हाकिम झलकमानलाई पाता फर्काएर अख्तियारले ठिँगुरा हालेको टिभीमा आफ्नै आँखाले देखेपछि त मेरो सरकारी जागिर खाने मोह नै हरायो ।

अर्को दिन पनि म चिया दोकानमै बसेँ । चिया दोकान अगाडि एउटा समीको रूख थियो । साँझ परेपछि त्यहाँको चौतारोमा मान्छेहरू झुरुम्म भेला भएका थिए । म पनि लुसुक्क एउटा कुनामा बसेको थिएँ । मान्छे भेला हुनुको कथा विचित्रको रहेछ ।

एउटा अलि हुने खाने परिवारले कबुलेको दाइजो नल्याएको भनेर बुहारीलाई मट्टितेल छर्केर डढाएर मारेका रहेछन् । त्यहाँ पञ्च, गण्यमान्य, पार्टीका नेता, बुहारीपट्टिका मान्छे भेला भएका रहेछन् । उनीहरू त्यो कुरा गुपचुप पार्नका लागि त्यो परिवारसँग पैसाको बार्गेनिङ गरिरहेका थिए । घटना गुपचुप पार्न पुलिसको पनि मिलीभगत छ भन्थे ।  

यो घटना आँखैले देखेपछि मलाई जीवन–जगत र संस्कृतिसँगै वितृष्णा जाग्यो । अहो, यो प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताको युगमा पनि बुहारी दाइजो नल्याएको निहुँमा मारिएका छन् । कठै जिन्दगी !

मेरो यो दोकानको बसाइको तेस्रो रात थियो । साँझ पर्नेबित्तिकै दोकानमा पूर्ववत् सुरु भएको थियो माहौल । एकजना अलि सुकिलामुकिला मान्छे विचमा कुर्सीमाथि बसेका थिए । उनको नाम बलबहादुर पुलामी रहेछ । उनका वरिपरि केही केटाहरू घुमिरहेका थिए । आँगनमा ३०÷४० जना जति मैला लुगा लगाएका मान्छेहरू भुइँमा सुकुल ओछ्याएर बसेका थिए । ती सुकिला मान्छे हौस्याउँदै थिए, ती मैला मान्छे चिउरामुरही, तीन पाने र ब्रोइलर मासुमा रमेका थिए । भएको के रहेछ भने भर्खर ती सुकिला मान्छेले वडा अध्यक्षको चुनाव जितेका रहेछन् । त्यहाँ सुकुलमा बसेका मान्छेमा चुच्चे नाक भएका शासक आर्य पनि थिए । हेपिएका भनिएका थेप्चे नाक भएका पनि थिए । वारिका पनि थिए, पारिका पनि थिए । काला पनि थिए, गहुँ गोरा पनि थिए । महिला पनि थिए, पुरुष पनि थिए । त्यो गरिबी, अशिक्षा र अज्ञानताको हारमा कुनै विभेद थिएन । एकै हारमा थिए ।

तीवडा अध्यक्ष पुलामी बिचमा बसेर गफ दिँदै थिए –

– चैने के रे कान्छा, म उहिले नेपालमा राजाकोमा सिधै जान्थेँ । रानीले फलैँचामा राडी ओछ्याइदिन्थिन् । भुटेका फूलै फूल मकै र विकासे भटमासको खाजा खान दिन्थिन् । भर्खर पारेको आलो मोहीले रसाएको मुख त अहिले पनि रसाएकै छ । कस्तो स्वादिलो हुन्थ्यो त्यो । रानीले चिठी लेखेर आऊ भनेकी छिन् । यो चाँजोपाजो मिलाएर नेपाल जान्छु र राजारानीलाई भेटेर नै तिमीहरूको यो दुःख हरण नगरी के छाड्थेँ र ! 

मजाको कुरा त के थियो भने राजतन्त्र गएको पनि केही वर्ष भइसकेको थियो  र उहिले उनले रानीलाई भेट्न पाएका थिए कि थिएनन्, रानीले खाजा दिँदा भुटेको मकै दिइन् कि दिइनन् भन्ने कुरा सोच्न सक्दैनथे विचराहरू । बरु आनन्द मान्दै उनका कुरा पत्याएर ‘हो’ भन्दै मुन्टो हल्लाउँथे  र रक्सीको चुस्की लिन्थे । कठ ैराजनीतिले बनाएको नेपालको शासक जात र शासित जात । म उनीहरूको चेत देखेर खिन्न भएको थिएँ । 

मेरो बसाइको चौथो दिन थियो ।  नजिकैको शहरमा गोली पड्केको आवाज आयो । हाम्रा होटल साहुले हतार फाटक ताने । हामी घरभित्र पस्यौँ । दोकान, होटल सब बन्द भयो । मैले साहुजीलाई सोधेँ – के भयो र सहरमा गोली चल्यो ?

साहुजीले उत्तर दिए – खोई कुन चाहिँ विदेशी हिरोले आफ्नो अन्तर्वार्तामा नेपाल÷नेपालीलाई गाली गरेछ रे । अनि यहाँ जनता ओर्लेर आगो बालेछन् । प्रहरी थाना फोड्न पुगेछन् । प्रहरीले गोली चलाएछ । ठाउँका ठाउँ ३ जना ठहरै भएछन् । कफ्र्यू लागेको छ । अनि दोकान बन्द गर्नु पर्यो नि ।

‘कुनचाहिँ चुतिया हिरो रहेछ त्यस्तो ?’ मैले पनि रिस पोखेँ ।

उनले भने – खोई कुन हो कुन्नि । यताकाले कसैले सुनेका होइनन् रे, उता राजधानीबाट आएको खबर हो रे ।  

रात हुँदै थियो । कफ्र्यू सकिएको थियो । दोकान घर फेरि रक्सी भट्टी भइसकेको थियो ।  

त्यहीँ ओरिपरि, ओरपर अलि शहरिया जस्ता देखिने मान्छेहरू झुरुम्म बसेका थिए । मैले साहुजीलाई सोधेँ – यी मान्छे त यो गाउँका होइनन् जस्ता छन् त ?

साहुजीले जवाफ दिएका थिए – यिनीहरू हाम्रो गाउँको होइनन् । सरहका हुन् । रक्सी खान यो झोडातिर आउँछन् कहिलेकाहीँ । साहुजीको कुरा सुनेपछि म ती मानिसहरूको कुरातिर आकर्षित भएको थिएँ । प्रकृति चिसो थियो  तर कुरा तात्तातो गर्दै थिए । रक्सी गफ उत्कर्षित थियो –

–पुलिसको के काम ? मान्छेलाई छानविन गर्ने भनेर थुन्छ । कुट्छ । निर्दोषलाई बकाउँछ । सद्देलाई पैसा खाएर भगाउँछ । अन्धो छ कानुन, बुझ्नु भो !

– मेरो गाडी स्पिडमा थियो । त्यसका बाजे त्यत्ति नै खेर कालो बिरालोले बाटो काटेर मर्यो । गाडीमा कडा ब्रेक लगाएको त पछाडिको गाडीले ठक्कर दियो । त्यसपछि त लगालग ठोक्किएर ५ वटा गाडीको एक्सिडेन्ट भयो । गाडीलाई पुलिसले पक्रिएको थियो । कुरा मिलाउन कम्ता पैसा त खर्च भएन त । धन्न जेल परिएन ।  

– यो मुर्दार सरकार, ऊ भने पहिले सडक बनाउँछ, पछि भत्काउँछ र खानेपानीका ढ्वाङ हाल्छ । दूर संचारका केबुल हाल्छ । हामीले मूलसडक खनेर ढल मिसाएको पुलिस जेमराजले पक्रेर हैरान पार्यो नि ।  

– चिन्ता नगर साथी हो, जिन्दगी भनेको यस्तै हो गल्ती गरे पनि नगरे पनि पैसा तिर्यो । नलमा पानी नआए पनि पैसा तिर्यो । निम्छरो भएपछि यस्तै हो । किनभने यो संसारै पैसा खाने किरा हो । संसारलाई पैसा खुवाउन सक्न छोड्यौ भने संसारले तिमीलाई नै खान्छ ।

कति खेर निदाएँ मलाई थाहा भएन । बिहान बिउँझिँदा मलाई रक्सी भट्टीको बसाइले दुनियाका बारेमा धेरै ज्ञान दियोझैँ लागेको थियो । बाबाले दिएको बाटाखर्ची सकिन थालेको थियो । त्यसैले म सखारै घरतिर हानिएको थिएँ । र निष्कर्षमा पुगेको थिएँ कि खासमा मान्छेको जीवन भड्खालो रहेछ । जताबाट गए पनि त्यही भडखालोमा पर्नुपर्ने रहेछ । जोगी हुँदा पनि पो शान्ति रहेनछ । यही कुरा सोच्दै ४ दिन लगाएर घर पुगेको थिएँ । बाबालाई मैले अनुभव गरेका, देखेका कुराहरू, घटनाहरू सविस्तार बताएको थिएँ । मलाई लागेको थियो कि बाबाले मलाई अब त जीवन बुझिस् केटा भन्नुहुन्छ । मेरो ज्ञानमा चित्त बुझाउनुहुन्छ भन्ने ठानेको थिएँ । स्यावास भन्नुहुन्छ भन्ने ठानेको थिएँ तर चुपचाप सुन्नुभयो । 

एकछिनपछि मलाई भन्नुभयो – हेर केटा, तैँले जीवनको हगनगौँडो मात्र बुझिछस् । रछ्यान मात्र भेटिछस् । गुम्फन ज्ञान मात्र पाइछस् । मान्छेले निर्माण गरेको सभ्यताको कुरा खोई बुझिस् ? टाउको याने दिमाग याने बुद्धि, हृदय, पेट र पेटमुनिको कुरा याने यौनको महत्त्व खोई बुझिस् ?

म आफैँ उदास भएर बाबालाई ट्वाल्लपरेर हेरिरहेको छु  र फेरि झोला टिपेर हिँडेको छु । सतोसत, यो पल्ट मैले बाबाको बाटोखर्ची लिएको छैन । 

प्रकाशित: १३ कार्तिक २०७७ ०८:२९ बिहीबार

अक्षर