१६ चैत्र २०८० शुक्रबार
कला

सुविधा

लघुकथा

श्रीराम राई

 

म काठमाडौँ आउँदा गाउँमा दुईदुईवटा घर थिए । सुन्तला पाकेर घुरान पहेँलपुर थियो । मचानमा मकैका झुत्ता झुन्डिएको हुन्थ्यो । भकारीमा धान हुन्थ्यो । दुहुना हुन्थे । मेवा खोलाबाट आएको चिसो हावाले मन नै हरर गथ्र्यो ।

तर एकदिन म थप सुविधाको खोजीका लागि आमाको इच्छालाई समेत ख्याल नगरी काठमाडौँ भासिएँ । त्यो बेला आमाले भन्नुभएथ्यो  ,  ‘नजा बाबु काठमाडौँ । पहिले मैले उज्यालो नहुँदै पँधेरीबाट पानी लाइसक्थें । गाईवस्तुलाई घाँसपात, खोलेफाँडो दिइसक्थे । मैले तँलाई धान रोप्दारोप्दै मेलामा पाएकी थिएँ । अहिले घरमै धारा छ, घरभित्रै पानी पुग्छ । जताततै मिल छ । रातदिन ढिकीजाँतो गर्नु पर्दैन । मान्छेले सुविधा माथि सुविधा खोज्दा रहेछन् । यो नै स्वर्ग हो नि बाबु ।’

मैले टेरिनँ । अहिले काठमाडौँ आएको अठार वर्ष भएछ । मैले कति कष्ट खेपें हुँला ।

एकदिन मेरी श्रीमती आकांक्षाले भनिन्, ‘यहाँकाले हामी बाहिरबाट आउनेहरूलाई केही नभएको नागा ठान्दा रहेछन् ।’

मैले उत्तर दिएथेँ, ‘आकांक्षा यस्तै हो । कहाँ सबैको घर सबैतिर हुन्छ र । जे भए पनि मिलेर बसेको राम्रो हुन्छ ।’  

आंकाक्षा अनवरत तीतो पोख्दै थिइन् , ‘केके न पाइएला भनेर आइयो । अहिले गाउँ छोडेको पाप लागेको छ । गाउँ फर्कूँ चाख्न गएको चाखिछ भनेर खुच्चिङ भन्छन्, नफर्कूँ महँगी र झिँजोलाग्दो बसाइ छ ।

धेरै वर्षपछि आमा गाउँबाट काठमाडौँ आउनुभएको थियो । हामीले सकेजति खातिरदारी गर्यौँ । तर आमाले धारा खोल्नु भयो पानी थिएन । कोठा एकदम गुम्सिएको थियो । बिजुली गइरहन्थ्यो । सडकको धूलो कोठामा आइहाल्थ्यो । कोठाबाट निस्कने ठाउँ थिएन ।आमाले रिसाएर भन्नुभयो, ‘यस्तामा त गाउँमा हामी सुँगुर पनि पाल्दैनौ ! खूब सुविधासुविधा भन्थ्यौ त । यही हो तिमीहरूको सुविधा ! हिँड् गाउँ ।

प्रकाशित: ६ कार्तिक २०७७ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App