coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

फाउमा बाँचेको जिन्दगी

संस्मरण

खेमराज पोखरेल

 

म मान्छेलाई नजिकबाट हेर्छु, गम्छु र अनुभूत गर्छु कि, सायद उनीहरूलाई लाग्दो हो, सधैँ बाँचिन्छ । किनकि उनका क्रियाकलापहरूले त्यस्तै सङ्केत गर्छन् । मान्छेलाई मृत्युबोध नहुँदा ऊ जीवनमा सक्रिय त हुन्छ होला । उसको सक्रियताले समाजमा प्रभाव त पर्छ नै होला । मानव सभ्यताको उत्थान, उँभोगति र अधोगति सबै यही सक्रियताका कारणले हुन्छन् होला । भएका होलान्  र सधैँ बाँच्छु भन्ने सक्रियताले सुकर्मभन्दा कुकर्मतिर बढी ध्यान दिएका होलान् जस्तो लाग्छ मलाई । यो मेरो निजी विचार हो ।  

यसैगरी मान्छेलाई कहिलेकाहीँ मृत्युबोध आइदिन्छ । सामान्यतया मृत्युबोध आयो भने उसमा दुई खाले विचार आउँछ । पहिलो त ऊ प्यासिभ हुन्छ । प्यासिभ भएर कथित धर्मका सूत्रहरूको जञ्जालमा पर्छ । जीवन केही होइन, कर्कलाको पानी हो भन्ने सिद्धान्तबाट प्रवद्र्धित हुन्छ  र मर्न तयार हुन्छ । बाँच्दै लम्पसार पर्छ र काशीवास खोज्न थाल्छ । किनकि यो मृत्युबोधले ऊ जीवनसँग चाँडै हार्छ  र बाँच्दा बाँच्दै मर्छ ।  

यसैगरी केही मान्छेलाई मृत्युबोध हुँदा अर्को खाले विचार आउँछ, त्यो भनेको मृत्यु निश्चित छ, समयको पनि टुङ्गो छैन । त्यसकारण जीवन छँदै केही सुकर्म गरिहालौँ भन्ने सोच आउँछ । मरेपछि पनि मान्छेले ‘कठैवरा’ भनून् भन्ने विचार आउँछ । मरेपछि पनि सन्तानले ‘फलानाको सन्तान’ भनेर गर्व गर्न सकून् भन्ने भाव आउँछ र छिटोछिटो सुकर्म गर्न थाल्छ । खसोखास भन्ने हो भने यो सुकर्म–चेत वास्तविक अर्थमा धर्म हो । यो सुकर्म चेतले मान्छेलाई मान्छे बनाउँछ ।

तपाईँले नपत्याउँदा पनि हुन्छ, म मृत्युबोध भएको मान्छे हुँ । मृत्युबोधभित्र म प्यासिभ छैन । प्यासिभ हुन चाहन्न । मेरो चेतयुक्त जीवनमा मलाई परिवेशले लगाइदिएको कर्म म गर्दैछु । गरिरहन्छु । यो कर्म मेरो स्वःसुखाय हो । प्राप्ति अभिप्राय होइन  र मलाई पनि थाहा छ कि दौडेर कहीँ पुगिन्न । तर म हिँडिरहछु । दौडिरहन्छु । मैले किन दोस्रो खाले मृत्युबोध गरेको छु भन्ने कुरो जीवनको परिवेशले मलाई दिएको झट्का हो ।

म सानै देखिको सरदर बिरामी प्रकृतिको मान्छे हुँ । तिनताक अहिलेजस्तो मेडिकल साइन्सको तगझग थिएन । औषधि  उपचारको प्रारम्भिक विन्दु धामीबाट सुरु हुन्थ्यो । त्यसपछि जडीबुटीको पालो आउँथ्यो । जडीबुटी नजानेका सायदै कोही नेपाली होलान् अहिले पनि । केही नजाने पनि बेसार पानी त जानेकै हुन्छन् । खान हुने र नहुनेका लिस्ट छन् उनीहरूसँग । त्यसैले त्यो बेला त जडीबुटीको प्रयोग मेरा शरीरमा स्वाभाविक  रूपमा भयो । तर जब धामी र जडीबुटीले हार्दथे अनि डाक्टर कहाँ छ भनी खोजिन्थ्यो । पिलो, लुतो, ज्वरो, रुघाखोकी, चिलाउने, झाडापखाला, रिँगटा आउने त कुनै खास बिरामी नै मानिन्थेन । जब विरामीको भात पानी बस्थ्यो, श्वास अड्किन थाल्थ्यो, अनि बल्ल डाक्टर खोज्ने परिवेश थियो । मर्ने मरिहाल्थे, बाँच्ने बाँच्थे । बाँच्नु मर्नु दुवैलाई भगवानको कृपा मानिन्थ्यो । हो यही परिवेशमा म बाँचेँ र हुर्केँ । 

मेरो बिराम पेट दुख्ने थियो । अमिलो, पिरो, चिल्लो खान हुन्न भन्थे । म खान्नथेँ । तर कसै गरे निको हुँदैनथ्यो । म ८ कक्षामा पढ्दा निकैे बिरामी भएँ । बुवाले भारतको फारविसगञ्जमा लगेर महानन्द झा भन्ने डाक्टरसँग उपचार गराउनुभएको थियो । मलाई कलेजोसँग सम्बन्धित रोग लागेको भनेका थिए डाक्टरले । डाक्टरसँग छुट्टिने बेलामा बुवाले सोध्नुभएको थियो – डाक्टर साव खानेके लिए क्या क्या होगा ?’ डाक्टरले अमिलो, पिरो, चिल्लो, भुटेको, तारेको, पोलेको बाहेक जे खाए पनि हुन्छ भनेका थिए । अनि मैले डाक्टरलाई सोधेको थिएँ – डाक्टर साब, बैगन ?’ डाक्टर मेरो भन्टामोह देखेर मरीमरी हाँसिरहेका थिए  र भनेका थिए – क्यूँ नही, जितना खाओ ।

मैले यसरी भन्टा खान हुन्छ भनेर सोध्नुका मुख्य २ कारण थिए । पहिलो मलाई भन्टाको जे परिकार पनि अति मनपथ्र्यो । अर्को त्यो साल आफ्ना बारीभरि भन्टा फलेका थिए । तर मजाको कुरो के भयो भने हजुरआमाले यो भन्टाको नामै ‘बैगुन’ भनेर खान दिनु भएन । मैथली भाषामा भन्टालाई बैगन भनिन्छ । म जे पनि उसिनेर मात्र खान खोज्थेँ । डाक्टरले त्यसै भनेका थिए तर हजुरआमाले ‘उसिनेको मात्र खाएर कहिले तङग्रिने’ भनेर आलो घिउको भुटुन हालेर तरकारी पकाइदिनुहुन्थ्यो । मैले लाख कोसिस गर्दा पनि भन्टा खान पाइनँ । करोड कोसिस गर्दा पनि आलो घिउको भुटुन नखाई धर भएन । हजुरआमा उल्टै ‘त्यो डाक्टरलाई के थाहा छ !’ भन्नु हुन्थ्यो । यो मेरी हजुरआमाको मप्रतिको माया थियो । किनकि म हजुरआमाको जेठो नाति थिएँ ।  

२०४१ सालमा वीरेन्द्र बहुमुखी क्याम्पस पढाउने क्रममा म निकै दुब्लाएँ । छाती पनि दुखेजस्तो भएको थियो । खोकी पनि अलिअलि लाग्दथ्यो । बेलुकाबेलुका ज्वरो पनि आउँथ्यो । अनि मैले सप्तरी घर गएका बखत राजविराजका प्रसिद्ध डाक्टर अशोकानन्द झालाई देखाएँ । उनले सबै रिपोर्ट हेरेर मलाई टिबी भएको ठहर्याए र ९ महिनाको औषधि लेखिदिए । म औषधि खान थालेँ । तर टिबी भन्ने बुझेपछि मैले त्यसबेलाका काठमाडौँका घागडान डाक्टर सच्चेकुमार पहाडीलाई पनि देखाएँ । फारविसगञ्ज पुगेर वृद्ध भइसकेका महानन्द झालाई पनि देखाएँ । काठमाडौँका ईश्वरीलाल श्रेष्ठलाई पनि देखाएँ । टिबीचाहिँ निको भएछ । तर दुख्ने बेथा त ज्यूँकात्यूँ भइ नै रहेको थियो । म डाक्टरसँग हारेको थिएँ । डाक्टर मेरो बेथा पत्ता लाउन नसकेर हारेका थिए । इन्डोस्कोपी, अल्ट्रासाउन्ड त कति हो कति । औषधित कति हो कति । अहिले लाग्छ सायद एउटा सानोसानो दोकानभरिको औषधिखाइयो होला जीवनमा । रगत त कति निकालियो निकालियो ।

मैले पोखरामा पृथ्वीनारायण बहुमुखी क्याम्पसमा पढाइरहेका बखत पेटको पुरानो बेथा निकै बल्झ्यो । कहिलेकाहीँ पेट यसरी दुख्थ्यो कि बरु मरे हुनेझैं लाग्थ्यो । आफ्ना अगाडि उभिएकी श्रीमती र छोरीको अनुहार अगाडि आउँथ्यो । फेरि मर्न हुन्न भन्ने भावना तत्क्षण आउँथ्यो । बान्ता पनि हुन्थ्यो । पोखरामा डाक्टर रामबहादुर सिंहले मलाई उपचार गराउँथे । केही गर्दा केही सीप नलागेपछि उनी पनि दिक्क भएका थिए । भेनबाट पेनकिलर दिएपछि मात्र मलाई दुखाइ कम हुन्थ्यो । यसै क्रममा उनलाई भेट्न दिल्लीका एकजना डाक्टर उनका साथी पोखरा  आएका थिए । उनले मेरा सबै रिपोर्ट हेरेर केही औषधि दलेखिदिएका थिए । केही महिना त्यसले आराम भएको थियो । तर पछि फेरि उस्तै हुन्थ्यो । त्यो यति दुख्थ्यो कि लाग्दथ्यो यो दुखाइभन्दा त बरु मरे नै पनि हुने । तर मैले भनेर मृत्यु आउने कुरा थिएन । मर्नु पनि थिएन । म तिनताका उसिनेको मात्र खान्थेँ । मेरा जीवनका चार  वर्ष दशैं, तिहार उसिनेर नै खाएर बित्थ्यो । उसिनेर खाँदाको परवरको स्वाद अहिले पनि स्वादिलो लाग्छ । म जता जाँदा पनि श्रीमतीले बनाइदिएको चनाको सातु बोकेर हिँड्थेँ । त्यही खान्थेँ । काठमाडौँमा निलम शर्मा सरकोमा पाहुना लाग्दा आफैँले सातु झिकेर खाएको कुरा अझै भेटमा सम्झिनुहुन्छ र अहिलेको मेरो स्वास्थ्य अवस्था देखेर छक्क पनि पर्नुहुन्छ ।

विसं २०४७ सालमा विराटनगर सरुवा भएपछि यो बेथा झन् चर्कियो । मलाई एकाएक जन्डिस भयो । विराटनगरमा डाक्टर ज्ञानेन्द्र गिरीकोमा पुगेको थिएँ । उनको व्यवहार हेर्दा मलाई लागिरहेछ कि डाक्टरलाई पनि विरामीसँग मिठो व्यवहारको तालिम दिनुपर्ने रहेछ । उनले दिएका अल्सरका औषधीले मेरो पटके दुखाइ कत्ति कम भएन । बरु बढ्दै गयो । किनकि मेरो बेथा अल्सर नै होइन रहेछ । डाक्टर गिरीले म निको नभएपछि मानसिक डाक्टरकोमा रेफर गरेका थिए । उनी मलाई भन्थे – तपाईँलाई जागिरप्रति असन्तोष छ होला । एकपल्ट मानसिक डाक्टरलाई देखाउनु होस् । 

त्यो रात मलाई निद लागेनँ । मैले आफ्नो जीवनलाई सम्झन थालेँ । जागिर मेरो दुर्लभ जेनिथ थियो । कुनै असन्तोष थिएन । श्रीमती रोजेरै बिहे गरेको थिएँ, कुनै गुनासो थिएन । आमाबाबु र परिवेशलाई मैले खोट लाउने कुरा थिएन । त्यसकारण मैले आफैँलाई आफैँले कन्भिन्स गरेको थिएँ कि म मानसिक बिरामी होइन । तर मेरो बेथाले मलाई निकै दुःख दिन्थ्यो । २०४८ सालको कुरा हो, एकाएक म बेहोस भएँछु । मलाई कोसी अञ्चल अस्पतालमा पुर्याएर भर्ना गरिएको थियो । मलाई रातारात जन्डिस भएको थियो । शरीर पाकेको केरा जस्तै पहेँलो भएको थियो । राउन्डमा उही डाक्टर ज्ञानेन्द्र गिरी थिए । जिन्स प्यान्ट लगाएको अनि बिरामी हेर्नु सोध्नुको सट्टा माथि सिलिङतिर हेर्ने गर्थे । मलाई डाक्टर गिरीसँग बैराग चल्यो । किनकिन यो डाक्टरको भर पर्यो भने म मर्छु भन्ने लाग्यो । अनि मैले डिस्चार्ज मागेँ । उनले मलाई डिस्चार्ज गरिदिए । अनि म मर्नु न बाँच्नु दोसाँधमा कोठामा पुर्याइएँ । 

त्यही रात ऐयाऐयाको तन्द्रामा म आफैँ मरेको सपना देख्न पुगेको थिएँ । म मरेको रहेँछु रे । दुब्ला र मैला छोरीहरू रहेछन् रे । श्रीमतीलाई असह्य पीडा भइरहेथयो रे । मलाई लागिरहेको थियो कि मेरो मृत्युपछि छोरीहरूले त दुख पाए पनि बढ्छन् र आफ्नो भाग्य खान्छन् । तर मेरी श्रीमती बिल्लीबाठमा पर्छिन् भन्ने लाग्दै थियो । उनका लागि घर र माइती दुवै आफ्नो हुने थिएनन् जस्तो लाग्थ्यो । विपनीमा आइपुग्दा पनि म कल्पिएको थिएँ । रोएको थिएँ । श्रीमतीको धेरै माया लागेको थियो । उनको अनुहार हेरेर टिठ लागेको थियो । म ट्वाल्ल परेर उनको अनुहारमा हेरिरहन्थेँ । उनको मबाहेक कोही छैन भन्ने जस्तो लाग्दथ्यो र फेरि मैले बाँच्नुपर्छ भन्ने लाग्दथ्यो । 

मेरी श्रीमतीले साढदाइ प्रेम बरालसँगको सहयोगमा मलाई हतारहतार प्लेनमा काठमाडौँ पुर्याइन् । यो अवस्थामा प्रेम दाइले आर्थिक, मानवीय र हौसलाको सहयोग गर्नुभएको क्षण सम्झेर अहिले पनि ऋणी भएझैँ लाग्छ । २०४८ सालको कात्तिकको १० गते कान्छी छोरी रानुशीलाको जन्म भएको थियो । तत्कालीन नेपाली समाज मेरो पुरानो बेथालाई पनि मेरो भर्खर जन्मेकी चिचिली छोरीको ग्रहसँग दाँजेर हेथ्र्यो । मेरो बिरामीको दोष मेरी छोरीलाई लगाउन पनि पछि पर्दैनथ्यो । यस्तो चिन्तन बोकेको समाजको उत्पादन थिएँ म । 

अँ त, काठमाडौँमा टिचिङ अस्पतालमा केबिनमा भर्ना गरिएको थिएँ म । म पहेँलपुर जन्डिसमा थिएँ । पेट सुनिएको थियो । सायद अर्धचेत पनि थियो । सिरिञ्जका सिरिञ्ज रगत निकाल्थे मेरो शरीरबाट । म टुलुटुलु हेरिरहन्थेँ । भिडियो एक्सरे गर्थे कैयौँपल्ट तर रोग पत्ता लाग्दैनथ्यो । अस्पतालमा निकै दिन बस्नुपर्ने जस्तो भएछ । पैसाको अभावले नै चलेको थियो जीवन । मास्टरी जागिरको पैसा न ठहरियो आखिर । केबिनको उपचार निकै महँगो भएकाले मेरी श्रीमतीले डाक्टरलाई भनसुन गरेर जेनरल वार्डमा सारिदिइछन् । म बेस्सरी रिसाएको थिएँ उनीसँग । वास्तवमा त्यो जेनरल वार्डमा सार्ने उनको निर्णय शतप्रतिशत सही थियो । जीवन बाँच्न घाँटी हेरेर हाड निल्नु जरुरी नै थियो । तर मैले त्यो पीडादायी क्षणमा त्यो कुरा पनि भुलेर उनीसँग रिसाएको प्रसङ्गमा दिक्दार हुन्छु अहिले । सामान्य उपचार भइनै रहेको थियो तर रोग खुट्टिदैनथ्यो । भान्दाइहरू गणेश दाइ, कुमार दाइले डाक्टर शशि थापालाई बोलाएर देखाउनु भएछ । अनि डा. थापाले स्थिति खराब छ दिल्ली लैजानु भन्ने सल्लाह दिनुभएको रहेछ । श्रीमतीलाई यो कुरा थाहा दिइएको रहेन छ । म हिँड्न सक्तिनथेँ । दुई महिनाकी छोरी बोकेर काठमाडौँको पुसको जाडोमा बस्नु पनि कहर नै थियो । दाजुहरूको घरमा बसाइ थियो ।

मेरो निमित्त नआइपुगेकाले नै होला । एउटा जापानी डाक्टर मासाकी त्यही अस्पतालमा आएका रहेछन् । उनलाई मेरो अवस्था र मेरो रिपोर्ट देखाइयो  र उनले एउटा जाँच गरेका थिए । मलाई ओछ्यानमा उत्तानो सुताइएको थियो । ठिक पेट माथि क्यामरा लगाइएको थियो र त्यसको माथि स्क्रिन थियो । अनि मेरो पित्तथैलीको समस्या भएकाले उहिले कुकुरलाई लाउने जत्रो दुईवटा ठूलो सिरिन्ज निकालियो । पेटमा करीब ४ इन्च जतिको फरक पारेर दुइटै सिरिन्जले मेरा पेटमा छेडियो । एउटा सिरिन्जबाट स्लाइन पानी पित्त थैलीमा पठाइयो । र अर्को सिरिन्जबाट पातलिएको पित्त बाहिर निकालियो । यो काम यति कहरपूर्ण भयो कि दुखाइ भनेको के हो भन्ने थाहा भयो । अहिले अचम्म लाग्छ किन न लट्ठ्याएको होला मलाई !  पाँचसात बोतल स्लाइनले पित्त थैली पखालेपछि बल्ल मासाकीले मेरो पित्तथैलीमा पत्थर देखे । यसपछि मेरो अपरेसन गर्ने कुरा भयो । जन्डिसले भने बिसकोउन्नाइस हुन मानेको थिएन । तर पनि आँट गरेर जण्डिसमै मेरो अपरेसन भयो निकै लामो समय लगाएर । जाबो एउटा चना जत्रो ढुङ्गाले मलाई झन्डै मारेको नि ! अपरेसनको भोलिपल्ट थियो । म पोस्ट अपरेटिभ वार्डमा थिएँ । मलाई हिँडाउन एउटी नर्स आइन् बिचरा । मेरो हातमा यसो समाउँथिन्, म उभिनै सक्तिनथेँ । उनले मलाई बेसरी हकारेकी थिइन् । जति हकारे पनि म हिँड्न सके पो । अनि त्यही अस्पतालमा काम गर्ने दुई जना लाठे आएर दुईपट्टि मेरो पाखुरामा बेसरी समातेर थिग्य्राएर अलिकति हिँडाए  र सायद उनीहरूले डाक्टरको खप्की खानबाट जोगिए होला । 

आफ्नो वार्डमा आएपछिका दिनहरू कहरपूर्ण नै थिए । त्यसपछि म यति कृषकाय भएँ कि एकदुई पाइला हिँ्ड्न पनि दुइपट्टि काखीमा भाइहरूले नै समाउनुपर्ने भयो । तिनताक मेरो साइँला भाइ चन्द्र प्रहरी तालिम केन्द्रमा असईको जागिरमा थिए । काइँला भाइ रमेश एमए पढ्दै थिए । माइला भाइ सुरेशले त्यो समयमा उपस्थित भएर मेरो हेरचाह गरेको सम्झन्छु । 

यसैबेला मेरा हजुर्वाको स्वर्गवास भयो । मेरा दुई छोरी सप्तरीको घर बस्तीपुरमा छोडिएको थियो । पुसको दिन थियो । हजुरबाको मृत्युपछिको त्यो वातावरणमा मलाई ती नादान छोरीहरूको हेरविचार कसले गर्ने भन्ने माया पलाएर आयो । त्यो माया यसरी आयो, कि मैले आफूलाई रोक्न नै सकिनँ । छोरीहरूको मायाले यस्तो सतायो कि मैले मेरी श्रीमतीलाई सप्तरी पठाउन खोजेँ । उनले पहिले त जान मानिनन् तर मैले बेसरी गाली गरेपछि बल्ल काखकी २ महिने छोरी बोकेर रुँदै हिँडेकी थिइन् । नभन्दै छोरीहरू गाउँमा गलफुल्लाले सुनिएर बसेका रहेछन् । आमा देखेपछि उनीहरूको पनि त्राण आयो होला । म अहिले सम्झन्छु कि मृत्युको दोसाँधमा भएको लोग्नेलाई अस्पतालको शैयामा छोडेर सप्तरीतिर लाग्दा कस्तो पीडा भयो होला मेरी श्रीमतीलाई । मलाई अहिले लाग्छ कि कहिलेकाहीँ म कस्तो गलत निर्णय गर्छु होला ।

म एकदम कृषकाय भएको थिएँ । दाँतहरू सबै हल्लिएका थिए । म यति अशक्त थिएँ कि अस्पतालको बेडबाट एकोहोरो भित्तामा टाँसिएका भगवानका फ्रेमभित्र राखिएका फोटाहरूलाई हेर्थेँ । ती फोटोमा सायद म एकाग्र हुन्थेँ होला, म तस्वीरबाट भगवानको शरीरको भाग मात्र पक्लकपक्लक बाहिर आएको देख्थेँ । अनुभूत गर्थेँ । र म त्यही अवस्थामा कल्पना गर्थेँ कि यदि भगवान् आएर मलाई ‘के वर माग्छौ’ भनेर सोधेका भए, म ‘हे भगवान, दुई खुट्टा टेकेर हिँड्न सक्ने हौँ, भनेर माग्ने थिएँ’ भनेर कल्पिन्थेँ । अस्पतालको प्रयासले म निको हुने अवस्थामा त पुगेको थिएँ । तर मेरो अपरेसन गरेको घाउले निको हुने छाँट ल्याएको थिएन । मेरा डाक्टर भोलाराज जोशी र डा. केके सिंह थिए । डाक्टरहरूले निकै कोसिस गरे । दिनका  दिन घोचीघोची ड्रेसिङ गरे तर मेरो घाउ निको भएन । ड्रेसिङ गर्ने एउटी नर्सलाई विशेष सम्झन्छु । उनको नाम बिर्सेँ तर थर सापकोटा हो कि जस्तो लाग्छ । उनको हलुङ्गो हातको सफाइ, मायालु बोली र सहयोगी व्यवहारले म कायल भएको थिएँ । उनलाई देख्दा मात्र पनि मेरो मन शान्त हुन्थ्यो । बेथा विसेक हुन्थ्यो । तर पनि मेरो घाउ निको भएको थिएन । एन्टिबायोटिकका क्याप्सुल फेल भएका थिए । म कुप्रो परेर लौरो टेकेर अलिअलि हिँड्न थालेको थिएँ । ट्वाइलेट जान थालेको थिएँ । हरेक दिन जस्तो ड्रेसिङ हुन्थ्यो । स्याम्पल मात्र त कति कति निकालिन्थ्यो । घाउबाट सानासाना गाँठो परेका धागो निस्कन्थ्यो । अब मेरो अस्पताल बस्नु भनेको ड्रेसिङ मात्र थियो । त्यसैले डाक्टरले डिस्चार्ज गर्ने विचार गरे । डिस्चार्ज गर्दा म जम्माजम्मी एक महिना सोह्र दिन अस्पताल बसेको थिएँ ।

डिस्चार्जको दिन आउँदै थियो । मसँग पैसा थिएन । पैसाको कुनै स्रोत थिएन । पैसा नतिरी हिँड्न पाइने कुरा पनि थिएन । त्यसैले मैले त्रिभुवन विश्वविद्यालयमा सहयोगको लागि निवेदन पठाएँ । प्राध्यापक संघलाई पनि सहयोगको निवेदन पठाएको थिएँ । प्राध्यापक संघकै अगुवाइमा मैले अलिकति सहयोग अलिकति मेरो औषधोपचार खर्च सापट पाएँ  र म डिस्चार्ज हुने दिन निर्देशकको कोठामा धन्यवाद भन्न हातमा लौरो टेकेको गाउन लगाएको कुप्रो परेको अवस्थामा नै पुगेँ । मलाई देखेर निर्देशक डाक्टर आफैँ ढोकामा आएर मलाई समातेर सोफामा बसाउनुभएको थियो । मैले ‘अलिकति पैसा पुगेन भने पेश्की दिनु’ भनेर डाक्टरलाई भनेको थिएँ । उहाँले ‘खेमराजजी, तपाईँ बाँच्नुभयो । यो नै ठूलो कुरा हो । हामी डाक्टरले त हरेश खाइसकेका थियौँ । दैव दाहिना भएर मात्र तपाईँ बाँच्नुभयो । हामी डाक्टर त निमित्त मात्र हौँ । पैसाको के कुरा भयो, पेस्की दिऊँला नत्र म आफैँ हालिदिउँला । चिन्ता नगर्नुस् । हिसाब गराउनुस् पहिला’ भन्नुभएको थियो । म गद्गद् भएको थिएँ । धन्य मेरो त्रिवि ! धन्य शिक्षण अस्पताल !

तर मसँग भएको पैसाले पुग्यो । मलाई डिस्चार्ज गराउने बेलामा आएका डाक्टर भोलाराज जोशीलाई मैले सोधेको थिएँ  ‘डाक्टर साहेब, के के खान हुन्छ ?, केके हुँदैन ?’ डाक्टरले भन्नु भएथ्यो – ‘सबैथोक हुन्छ । चिल्लो, भुटेको, पोलेको आदि कम मात्र खानुस् ।’

डाक्टर पनि हँसीमजाक गर्ने साथीझैँ भएका थिए । मैले सोधेथेँ – अमिलो, पिरो पनि खान हुन्छ ?’ डाक्टर जोशी हाँसेका थिए र भनेका थिए, ‘पोखरेल सर मधेसको मान्छे, अमिलोपिरोको स सोखिन । पिरो पनि खान हुन्छ अलिअलि, अमिलो पनि हुन्छ अलिअलि ।’  

फेरि मैले हाँसेरै सोधेको थिएँ , ‘रक्सी खान हुन्छ ?’  

डाक्टरहरू झन् मजाले हाँसेका थिए र भनेका थिए ,  ‘हुन्छ, तर लिमिटमा । रक्सी नखाने को गोर्खाली हुन्छ । तर चुरोट चाहिँ कुनै हालतमा पनि हुँदैन है ।’

मेरो डिस्चार्ज हुने दिन नजिकिँदै थियो । वार्डकै अर्को बेडमा एकजना पाका उमेरका बिरामी हुुनुहुन्थ्यो । उहाँकी छोरी कुरुवा हुनुहुन्थ्यो । उहाँ सरकारी डाक्टर हुनुहुँदो रहेछ कुनै जिल्लाको । ती डाक्टर साहिबाले भन्नुभएको थियो, ‘अब तपाईलाई लगेर ढुङ्गामा पछारे पनि केही हुँदैन । यो बेथाले तपाई अब मर्नु हुन्न ।’  

यो उहाँको भनाइले मलाई निकै त्राण मिलेको थियो । मैले मेरो घाउको आफैँ ड्रेसिङ गर्न थालेको थिएँ । म डिस्चार्ज भएको १ वर्षसम्म मेरो घाउ पाकिरह्यो । गाँठो पारिएका  धागाहरू निक्लिरहन्थे । 

अस्पतालबाट बाहिरिँदै गर्दा मलाई आफ्नो जिन्दगी फाउको जिन्दगीजस्तै लाग्न थालेको थियो । किनकि एकपल्ट टिबीले र एकपल्ट यो पित्त थैलीको बेथाले मर्दा मर्दै बाँचेको थिएँ म । डाक्टरले माया मार्दामार्दै तङ्ग्रेको थिएँ म । मेडिकल साइन्सको उपहार थियो मेरो जिन्दगी । फाउ थियो मेरो जिन्दगी । त्यसैले त्यसपछि जब मेरा समिपमा समस्याहरू आउँछन् । म मेरो मर्दामर्दै बाँचेको जिन्दगी सम्झन्छु । दिमागभरि आध्यात्म पस्दछ र भन्छ  – जन्ममा केही ल्याएको होइन, मर्दा केही सँगै जाँदैन । यो बिचको जिन्दगी त रामछाया हो । यो एकप्रकारको प्यासिभ कुरा हो । म प्यासिभ हुन मन पराउँदिनँ । फोसाकै भए पनि फाउकै भए पनि जीवन लमतन्न तानिएकै छ । जीवनको तन्ना नफेरिउन्जेल बाँच्नु नै छ । संसार यही हो । उचनिच भइ नै रहन्छ  र म छिटोछिटो दिमाग घुमाउँछु कि धेरै गर्न बाँकी छ । के ठेगान कहिले यो फाउको जिन्दगीले घुँडा टेक्छ ।

पछिसम्म पनि म टिचिङ अस्पताल गएका बेला सर्जिकल वार्डमा बाहिरपट्टि उभिइरहन्थेँ । यदि डाक्टर भोलाराज जोशीलाई देखेँ भने एकोहोरो भएर नतमस्तक भएर हेरिरहन्थेँ । मलाई लाग्थ्यो, म मेरो देवतालाई हेरिरहेको छु । देवताको दर्शन भएको छ । लाग्थ्यो, मेरो जीवन उहाँलाई देखेर धन्य भएको छ ।

स्वाभाविक छ मेरो उमेर र अवस्थाले गर्दा मेरो शरीरले अनेकौँ बेथा बोकेका छन् । वर्षैपिच्छे डाक्टरी चेकजाँच गराउँदै आएको छु  तर मेरी श्रीमती तथा छोरीहरूलाई लाग्छ कि म आफ्नो स्वास्थ्यप्रति हेलचेक्य्राइँ गर्छु । त्यसैले एकपल्ट मेरा छोरीहरूले मेडिसिटी पुर्याएका थिए । मेरो शरीरको पूरै परीक्षण गरेपछि मैले नाम बिर्सेका फिजिसियनले आफ्नो कुर्सीबाट उठेर मसँग हात मिलाएर भनेका थिए – पोखरेल सर, तपाईँको यो उमेरमा यो स्वास्थ्य !

अमेरिकामा बसेको छु । अमेरिकामा डाक्टर ज्ञानले, कर्मले, व्यवहारले, व्यवस्थाले, सुविधाले, सोचले धेरै राम्रा छन् । तर नेपालमाझैँ सामान्य मान्छेका लागि सहज छैनन् । त्यसैले म नेपालमै पुगिरहन्छु डाक्टर भेट्न । यो मोडमा आइपुग्दा ममा एउटा बोध भएको छ कि म एक्लै बाँचेको छुइनँ । मेरा बँचाइमा अनेकन् संयोगहरू छन् । आमाबुवा वा आफन्त मात्र होइन अनेकन चिनेकानचिनेका मान्छेका सहयोग र परिवेश आदि हुने रहेछन् । ती कतै ज्ञात, कतै अज्ञात हुने रहेछन् । त्यसकारण हरेक मान्छे भौतिक रूपले पनि संयोगीय धरातलमा बाँचेको हुने रहेछ । यो बुँदामा मलाई बोध भइरहेछ कि मेरो अस्तित्व भौतिक वा पराभौतिक कुनै रूपले पनि पूर्ण छैन । ज्ञानका, कर्मका, धर्मका र परिवेशका चाँजोपाँजोमा वशीभूत भएको छु म । जब ती आफैँ सोह्रै आना अपूर्ण छन् । अस्थिर छन् । खासमा मान्छेको जीवन भन्नु नै फोसाको जिन्दगी हो रहेछ । कुन बेला जान्छ के थाहा ! हामीभन्दा कान्छाले पनि परमधाम यात्रा गरेका छन् । हामीभन्दा जेठाले पनि जिन्दगीको सुवास छरिरहेका छन् । अनि फोसाको जीवन बाँचेका हामी मान्छेले सुकर्म किन नगर्ने ! कुकर्म किन गर्ने ! चिन्तित किन हुने ! के ल्याएका थियौँ र रुने ! सँगै के लान्छौँ र विक्षिप्त हुने !

प्रकाशित: ५ कार्तिक २०७७ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App