coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

स्त्री अभावबोध...

कविता

 त्रिविक्रम पाण्डे

 

एक स्त्रीको अभाव तब खट्किन्छ

जब उनी नफर्किने गरी जान्छिन्

छतमा लागेको जालो अनि आँगनको धूलो

हटाउन सङ्कोच उत्पन्न हुन्छ

“तिम्रो यो सफाइ...” भन्ने मौका नै पाइँदैन ।

एक स्त्रीको अभाव तब खट्किन्छ

जब कठालोको मैला फ्याँक्दा

पसीना छुट्दछ

चुराहरूसँगै बज्दैनन्

उनी कठोर श्रमिक रहेको सम्झना आउँदछ ।

एक स्त्रीको अभाव तब खट्किन्छ

जब घर अबेला आइपुग्दा

खाना चिसिएको हुन्छ , तरकारीमा

आपूmले चाहेको स्वाद रहँदैन  

अनि तपाई योे भन्न सक्नुहुन्न

“मलाई यो मीठो लागेन ।”  

एक स्त्रीको अभाव तब खट्किन्छ

जब बच्चा राति धेरै जोडले

चिच्याईचिच्याई रुन्छ

तपाई मन नलागीनलागी उठ्नुहुन्छ

अनि यो भन्न पाउनु हुन्न

“लापरवाहीको नि हद हुन्छ नि !”  

एक स्त्रीको अभाव तब खट्किन्छ

जब राति तपाई एक्लै सुत्नुहुन्छ

कोल्टे फेरिरहनु हुन्छ तर हात चलाउँदा

छेउछाउ केही छोइँदैन ।

एक स्त्रीको अभाव तब खट्किन्छ

जब तिहारको यम पञ्चकमा

नयाँ सामानका लागि कोही कसैले

केही भन्दैन

अनि तपाईले यो भनिरहनु पर्दैन कि

“रुपैयाँ छैन ।”  

एक स्त्रीको अभाव तब खट्किन्छ

जब तपाई दुःख, पीडा र तनावमा

डुब्नुहुन्छ, एक्लैएक्लै रुनुहुन्छ

अनि तपाईको आँसु पुछिदिने कोही हुँदैन

तपाई कोही कसैसँग केही भन्न पाउनु हुन्न

हो, स्त्रीको अभाव तब पक्कैपक्कै खट्किन्छ ।                 

प्रकाशित: ५ कार्तिक २०७७ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App