७ वैशाख २०८१ शुक्रबार
कला

पत्थर

कविता

 सरोज खतिवडा 

 

लिङ्ग हुँदैन पत्थरको जाती हुँदैन

धर्म  हुँदैैन कुनै, कुनै देश हुँदैन

आत्मा हुदैन कुनै, स्वर्ग हुदैन  

प्रेम हुदैन पत्थरको हत्या हुदैन  

र त  

मलाई कहिलेकाही पत्थर बन्न मनपर्छ ।

सभ्यताको विशाल भाष्य

विज्ञहरूको गोलमाटोल भिड

नविकरणीय वादहरूको होलसेलर  

राजधानीले

वर्षौंदेखि मेलम्ची ट्यांयाकरहरूमा

मिनरलको बोतलहरूमा बेचिरहेको छ ।  

मेरो ढुंगेधारो पत्थर भएरै  

सधैं आँतभरि निशुल्क पानी पिउन दिन्छ ।

गाउँपत्थर पत्थरको छ  

घरहरू पत्थरपत्थरका छन्  

पत्थर हुनु मानिस नहुनु होइन

पत्थर नहुनु मावनता हुनु होइन  

यतिबेला सिङमर्मरको सिंहदरबारले  

अलकत्राले चम्किएको सडक हुँदै  

खाली पेट,नाङ्गो आङ मानिसहरूलाई धपाउँदा

अथेलीमा ज्यान, आँखामा आँसु र पत्थरमा पाइलो राखेर गाउँ टेकेको दुखीलाई

पत्थरपत्थरको गाउँले अँगालो हालेको छ ।  

देउराली पत्थर पत्थरको छ  

भाकल गरेर दुई थुँगा फूल राखेको  

मान गरेर दुई ढुंगा थपेको

मायालु जोडीलाई कहिल्यै भुल्दैन ।

सरकार सरोकार राख्दछ  

रत्नपार्कमा दालभात कमाउनेको औकात

रुपेडियानाका छल्दै एक केजी चामल ल्याउनेको ह्याउ

मरुभूमिमा भेडा चराउने गोठालाको हैसियत

र रकमी बाबुको अहंकार  

तर पत्थरको कुनै संगठन हुँदैन  

कुनै बहुराष्ट्रिय कम्पनी हुँदैन

पत्थरपत्थर भएरै पहाड

सालिन्दा आफू टुक्रिएर एक अँजुली माटो थपिदिन्छ  

बादलसँग जुझेर वर्षा झारिदिन्छ  

र भरिदिन्छ हरेक प्राणमा जीवन

चौतारी पनि पत्थरकै छ

थकाइ लागे बस्न सकिन्छ

पत्थरको कुनै पुलिस हुँदैन

निद्रा लागे लमतन्न निदाउन सकिन्छ  

पत्थरमा कुनै महामहिमको सवारी चल्दैन  

पत्थरको सत्ता हुँदैन

र त पत्थर

मेरो पिएमभन्दा

मनकारी छ  

पत्थरको आयव्यय हुँदैन

र त पत्थर  

मेरो मन्त्रीभन्दा

दिलदार छ  

पत्थरको कुनै चेत हुँदैन

र त पत्थर  

मेरो पार्लियामेन्टभन्दा

मानवीय छ  

पत्थरको कानुन हुँदैन,  

कुनै संविधान हुँदैन

र त पत्थर  

मेरो अदालतभन्दा

न्यायीक छ  

गान्धी हुँदैन कुनै पत्थर, माक्र्स हुँदैन  

बुद्ध हुँदैन कुनै पत्थर, हिटलर हुँदैन

मालिक हुँदैन कुनै पत्थरको, हनुमान हुँदैन

आँखा बन्द  गर्दैन पत्थरले, कुटिल हेर्दैन

कमेडी गर्दैन पत्थरले, भाषण गर्दैन  

खानु पर्दैन पत्थरलाई, कसैको गुलामी गर्नु पर्दैन  

र त

मलाई कहिलेकाही पत्थर बन्न मन लाग्छ ।

प्रकाशित: ५ कार्तिक २०७७ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App