दामोदर पुडासैनी किशोर
भिक्षु र चैत्यहरूमा सल्बलाइरहेछ याङ्गुन शहर ।
गोल्डन भ्यालीदेखि नाटमख रोडसम्म पुग्दा बाटो पाइनसक्नु भीड थियो भिक्षुभिक्षुणीको । अझ गोल्डन हिल टावर वरिपरि त तिल राख्ने ठाउँ पनि थिएन राताबस्तेहरूबाहेक ।
सर्वसाधारणभन्दा भिक्षुहरू बढी देखिएका छन् बिहान, याङ्गुन शहरमा ।
सरकारी आँकडाले भन्यो– पाँच करोड जनसंख्या पाँच प्रतिशत त भिक्षु नै छन् म्यान्मारमा ।
कङ्क्रिट जंगलभन्दा हरियो जंगल नै बेसी छ याङ्गुनमा । हरियो जंगलबीचमा घरहरू छन्, सडकहरू छन् र छन् मन्दिर र चैत्यहरू । कोलाहल छैन, करकर छैन, चराहरू च्याँच्याँ चुँचुँ गर्दै रुखरुख चहारिरहेछन्, ॐ मणि पद्मे हुँ को तरङ्ग फैलिरहेछ चैत्यहरूबाट, गुम्बाहरूबाट, सडकहरूबाट, घरघरबाट र जंगलका कुनाकन्दराहरूबाट ।
सल्बलाइरहेछन् सन्नाटाका सुस्केराहरू । सुस्केरामा मिसिइरहेछन् प्रज्ञा, शील, समाधि, धम्मपदका गन्धहरू।
‘मिङ्लाबा’१(नमस्कार–बर्मेली भाषामा)
चप्पल, लुङ्गी र टिसर्ट पहिरेको पातलो र गहुँगोरो भाइ हात जोड्दै उभिनुभयो नाटमख रोडमा जोडिएको नेपाली दूतावासको आँगनमा । ‘म्यान’ को अर्थ विवेकी मान्छे, ‘मार’ को अर्थ देश, अर्थात् विवेकी मान्छेको देश– ‘म्यान्मार’ । यसै देशको नागरिक म– ‘मीन’ आज दिनभर हजरहरूको पथप्रदर्शक– कति मीठो शैलीमा चिनाउनुभयो मिनले देश र आफूलाई ।
कोस्टर बसले कुनबेला चढ्ने हुन् भनी क्वारक्वारती हेरिरहेथ्यो अघिदेखि हामीलाई । बसमा लेखिएको थियो– गोल्डन भ्याली ट्राभल्स ।
हामी तीन जना ।
राजदूत भिक्ट्रीकी जेठी सासू र छोरा रवि ।
बर्मेली नागरिक तर नेपाली दूतावासकी सचिव मोती सापकोटा ।र, दूतावासकै अर्की कर्मचारी सन्ध्या विश्वास ।
सात जनाको समूह लिएर सुइँकियो कोस्टर, सुनौला उपत्यकाको सयरमा । ‘सुन फुलिरहने शहर हो याङ्गुन । हरियालीभन्दा धेरै गुम्बा, चैत्य र छोर्तेनको पहेंलो भेटिने शहर हो याङ्गुन । हेर्नुहोस् त सुनै सुनको कालिगढी’– कान्दाउजी लेकको किनारमा उभिएर सुनौला सुस्केरामा बोल्नुभयो मीन ।
रुखका आडआडमा सुनौलो लहर छ चैत्यहरूको ।
चौरका बारबारमा सुनौलो इन्द्रेनी छ गुम्बाहरूको ।
सुनै सुनमा सङ्लिएका छन् विशालकाय बुद्धहरू।
जंगल बीचमा आँखा बनेर बसिरहेको कान्दाउजी तालमा ढकमक्क ढाकेका छन् वरिपरिका सुनौला चैत्य र गुम्बाहरूको प्रतिच्छायाँले ।
सुनौला पानीमा हजारौं अर्धमूदित नयन टिल्पिलाउँदै शान्त सल्बलाइरह्यो कान्दाउनजी ताल ।
कनपट रोडको कान्लैमा टाँसिइरहेछ कान्दाउजी ताल । तालमा तैरिरहेछ काराबेइक रेस्टुरेन्ट । दुई कारावेइक चरामाथि बर्मेली मन्दिरजस्तै छ रेष्टुरेण्ट । चौरजस्तै हरियो भुइँ छ भिराला छानाको । बुर्जा, झ््याल, ढोका, भित्ता, टुँडाल, दलिन, बाल्चासी र गजुर सबै सुनौला । सुनै सुनको मन्दिर, काराबेइक चराको पीठमा कान्दाउनजी तालको लहरमा चमचमाइरहेछ । सुनौलो घाम आफूजस्तै बास्तु पाएर बत्तिइरहेछ कान्दाउजी तालमा । सुनै सुनका हजारैं सूर्यहरू तै¥याएर छुनुमुनु गर्दैछ कान्दाउजी । तालको बीचमा स्यानो टापु छ– रानीपोखरीको यमलेश्वर मन्दिरले ढाकेको क्षेत्र जत्रो, अथवा, फेवातालको तालबाराही टापुको आधा भाग जत्रो । टापु ढाकेर उभिएका छन् आठ दशवटा अग्ला रुखहरूले । सुनै सुनको भिंगुरमाथि तुलसी हल्किएझैं छ बीचको टापु । हरिया हाँगाहरू पनि टल्किरहेछन् सूर्यका सुनौला लहरहरूले । पानीपानीको जंगलबीचमा एक्लिएका रुखहरू, आँखाका नानी लाग्दैछन् । कहिलेकहीं भीडबाट एक्लिनुमा बेग्लै सौन्दर्य सल्बलाउँछ । टिकिरहन सक्ने हो भने साँच्चै उचाइ हुन्छ ‘पानीमाथिको ओभानो’ को । कान्दाउजी ताल बीचको स्यानो टापु सुन्दर गाला बीचमा उठेको पुटुक्क कोठी जस्तो छ, नीलो नभ माझको पूर्णेको जून जस्तो छ, षोडशीको भालमा टल्केको टीकाजस्तो छ । ‘तालमा तैरिएको जंगलको अवशेष’– मेरो छेवैमा उभिएर सयौ तस्वीर खिचेपछि बोले पाराग्वेका एक सज्जन ।
‘पौडनुपर्छ कि क्या हो कान्दाउजीमा, हामीलाई पनि सर्छ कि सुनको लेदो ?’– काराबेइक रेष्टुरेण्ट अघिल्तिर सल्बलाइरहेको समूहमा तरङ्गियो मेरो आवाज ।
‘ओहो, सर पौडनुस् त, हामी हालिदिन्छौं सरलाई मीठो दाना अनि बल्छी हालेर तानौला सुनौला माछालाई’– दाना खान खुर्मुरिएका माछाहरूको झुण्डलाई सुमसुम्याइरहेकी मोती बोलिन् बर्मेली लवजको नेपाली भाषामा ।
‘साँच्चै पौडने हो अङ्कल, म पनि लुगा खोलुँ’– पत्याएछन् रविले ।
‘फर्केर आउँदा है’– थुमथुम्याएँ रविलाई ।
बिहानैदेखि झुन्डझुण्न्ड मान्छेहरू सिलिङमिलिङ गर्दैछन् कान्दाउजीको किनारमा । बनभोजको तयारी भइरहेछ सायद । ‘बनभोज गर्नेले फोहर साथैमा लैजानुपर्ने’– कति राम्रो नियम छ यहाँको । अनन्त जंगल, अथाह पानी, बीचमा रंगीन जिन्दगानी । के चाहियो र कनकनचम्पाभन्दा सुन्दर लागिरहेछ कान्दाउजी । किनार वरिपरि ठाउँ ठाउँमा छानाले छहाली दिइरहेछ, नजिकमै पिउने पानी छताछुल्ल सम्भालिरहेछ । फूलका बोटहरूमा टाँसिएर माया साटिरहेछन् मान्छेहरू। हरिहल्ल रुखका हाँगाबिँगाभित्र छायाँ दबाइरहेछन् मान्छेहरू। मान्छेको मगनमस्ती एकटक नीला आँखाले हेरिरहेछ कान्दाउजी तालले । कति मजा हुन्थ्यो होला यसरी नै अलिकति सुमसुम्याउने ठाउँ बनाउन पाए हाम्रै इलामको माइपोखरी, कैलालीको घोडाघोडी ताल, चितवनको नन्दभाउज्यू ताल र बीसहजारी ताल वरिपरि । मान्छेको अलिकति स्पर्श पायो भने कति धेरै खुलेर चम्किन्छ प्रकृति भन्ने उदाहरण प्रस्तुत गरिरहेछ याङ्गुनको आँखा कान्दाउजीले ।
कान्दाउजीबाट फर्कने बेलामा घामका किरणभन्दा चम्किरहेको भेटियो– होटल निक्को र्वायल लेक । होटल छेउमै हल्लिरहेका बिदेशी देखेर होला एक भाइ कराए– ‘आउनुहोस्, बर्माको असली स्वाद र शैली छ हामीसँग ।’
‘भोक लाग्यो भने भुन्भुनाउँदै फर्कौंला भरेतिर’– नजाने बुहारी बुधवार बार्छिन् जस्तो गरी जवाफ फर्काएँ मैले । बहाना पार्ने ग्राहकबाट पनि विचलित बनेन भाइको अनुहार ।
‘हामी पर्खिरहन्छौं है’– ग्राहकको मन नै बदल्ने बोली निस्कियो भाइको ।
हरिया पहाडहरूले घेरिरहेछ याङ्गुनलाई । पहाडका बीचबीचबाट चियाइरहेछन् बुद्धका पहेंला मूर्तिहरू । पर काँठतिर जंगलका चेप चेपमा देखिइरहेछन् काठका थुम्किला घरहरू।
हामीहरू घामसँगै पश्चिम लागिरहेछौं कान्दाउजी तालबाट । पातला बस्तीहरुको बीचबाट हिँडिरहेछ हाम्रो सवारी । त्यति घना छैन शहर । त्यति चम्किला लाग्दैनन् घरहरू। बसाइँ सर्न ठिक्क परेको बस्तीजस्तो र धेरैवर्ष अघिदेखि निर्माण रोकिएको क्षेत्रजस्तो देखिंदैछ शहर । रहर मारेर बसेकी बूढीकन्या लाग्दैछ याङ्गुनको स्पर्श ।
‘म्यान्मार भनेकै यही त हो नि’– रातो, नीलो र सेतो तीन रङको पृष्ठमाथि एउटा चम्किलो तारा फैलिएको झन्डा निकाल्नुभयो मिनले ।
‘तर, अचेल खुशीमा फहरिरहन पाएको छैन यो झन्डा’– जनताको स्वतन्त्रतालाई सैनिक शासनको छायाँले छोपिरहेकोतर्फ इङ्गित गर्दै हुनुहुन्थ्यो मिन भाइ ।
‘मान्छेहरू एउटै झन्डा होइन किसिमकिसिमका झोला बोकिरहेछन् । झन्डामुनि नबसी झोला भर्न मात्र हरेकको ध्यान जाने हो भने कहाँ खपिरहन सक्छ र झन्डाले आँधी र हुरीको झापड । झन्डालाई पनि झोलाझोलामा विभक्त गर्ने हो भने कसरी देखिन सक्छ र झन्डाको सग्लो आकार ?’– राष्ट्रिय स्वार्थलाई व्यक्तिगत स्वार्थले कोपरिरहेकोले सुनै सुनको म्यान्मार पित्तल बन्दै गइरहेछ भन्नुभयो मीन भाइले ।
‘जुन फुल्दैछ म्यानमारमा भन्छ नि त जुन्ता सरकार’– जनताको मन छाम्न खोजें मैले ।
‘एउटा बन्द कोठामा एक हूल चितुवाहरू र केही मान्छे छन् । भन्नुहोस् अब के हुन्छ मान्छेको गति ! हो त्यही मान्छेको अवस्था छ यतिखेर म्यान्मालीको’– अलि आवेशमा देखिनुभयो मीन ।
‘चकलेट लिऊँ हजुर, यात्राको रङलाई चङ्ख बनाउँछ चकलेटले’– फरेरा रोचर, ह्वीट म्यान्स, स्याम्पलर र टब्लरन चकलेटले भरिएको किस्ती तेरसाउनुभयो रविकी मम्मीले । अमेरिकातिर त यात्रा भनेकै चकलेट हो, अमेरिकीहरूका लागि चकलेटबिनाको यात्रा नूनबिनाको तिहुन हो।’ बीसौं हिउँद अमेरिका बसेर अमेरिकी ग्रिनकार्ड लिएको अनुभव सुनाउनुभयो रविकी मम्मीले ।
‘नेपाल छोडियो । अमेरिकामै घरबार बसाइयो । छोराछोरी जन्माइयो, हुर्काइयो । छोराछोरीले नेपाली संस्कार बुझेनन् भने आमाबाबुलाई नै बिरानो ठान्ने हुन् कि भन्ने डरले फुर्सद मिल्यो कि गोठै बोकेर हुत्तिन्छु म त नेपालतिर । अहिलेचाहिँ बहिनी जवाइँको परिवारसँगै दशैं मनाऊँ भनेर बर्मा आएकी’– मनका सबै कुरा सिनित्त सुनाउनुहुन्छ रविकी मम्मी । मोटो शरीर, चाउचाउजस्तो कर्ली कपाल, टिसर्ट र क्वाटर पाइण्ट पहिरेकी आइमाई देख्दा पक्कै घमण्डी मान्छे हुनुपर्छ भन्ने अडकल काटेको थिएँ मैले । तर, त्यस्तो कहाँ हुनु ! असाध्यै फरासिली र मिलनसार हुनु हुँदोरहेछ उहाँ । मान्छे देख्नेबित्तिकै आनीबानीको अडकल काट्नु निरर्थक रहेछ ।
मभन्दा अघिल्लो सिटमा बसेका रवि खित्का छोडेर हाँसे । उन्नाइसबीस वर्षे रविको उमेरलाई उछिनेको थियो उनको भद्दा शरीरले । एउटा टब्लरन चकलेट त उखुको लाँक्रोझैं चपाए रविले । उता अन्डाजत्रा दुई फरेरा रोचर चार मिनटमै च्वामच्वाम पार्नुभयो रविकी मम्मीले । चकलेटले पो डल्फिन बनेका रहेछन् आमाछोरा नै’– मनमा उठ्यो एउटा लहर ।
‘हुँहुँहुँ –ह्वाँ’ हुत्तिएर उठेको हाँसोसँगै चपाउँदैको चकलेट नाक र मुखबाट लततत लतलतियो रविको ।
मैले सोधें, ‘किन हाँस्यौ !’
‘ऊ हेर्नुहोस् न’– जनार्दनतिर देखाए रविले । दुई टब्लरन, दुई मार्स र दुई स्निकर खल्तीमा कोचिसकेर एक डल्लो फरेरा चपाउनु हुँदैथ्यो उहाँ ।
‘खल्तीमै कोच्नुपर्छ, ट्रेबाट झिक्दै खाँदै गरे भैहाल्या ेनि, हाँगा दियो बोटै सखाप पार्ने मान्छे तपाईं त’– शान्त तलाउको तरङ्ग बन्नुभयो उद्धवजी पनि ।
‘नेपालीहरू अहिले भोकै बसेर भरेका लागि खाना जोगाउँछन् भन्ने सुनेको थिएँ, प्रमाणित भयो उहाँबाट, त्यसैले हाँसेको’– बल्लबल्ल सम्हालिए रवि ।
नदी जत्तिकै अविराम गुडिरहेको हाम्रो बसले याङ्गुन पुल पार ग¥यो । धमिलो अनुहारमा बगिरहेछ याङ्गुन नदी । याङ्गुन शहरलाई रसिलो बनाइरहेछ याङ्गुन नदीले । याङ्गुन शहरलाई निर्मल बनाइरहेछ याङ्गुन नदीले । ‘येथावदी नदी भेट्छ याङ्गुन नदीमा । अण्डामान समुद्र भेट्छ याङ्गुन नदीले । याङ्गुन नदी र येथावदी नदीको दोभान अघिल्तिरको नदीमुख अन्न र फलफलको भन्डार नै हो । एसियाको चामल भरिएको कचौरा भनिन्न नि त्यो नदीमुखलाई ।– याङ्गुन नदी छ र यो आवतजावतलाई सजिलो छ याङ्गुन शहरलाई । तीन नै दिशामा नदीले स्पर्श गरेकोले नै सधैं झरिलो र रङ्गिलो छ याङ्गुन शहर । किनारमा उभिएर बताउनुभयो मीनले ।
परबाट बिस्तारै आयो एउटा फेरीबोट । हाम्रो नजिकै रोकियो । ग्वारग्वारती मान्छेहरू ओर्लिए, सामानको सानो पहाड नै ओरालियो किनारमा । किनारमा रोकिइराखेका कयौं मान्छे अर्को फेरीबोटमा चढे ।
कयौं बस र ट्रकहरूले बोकिनसक्ने मान्छे र सामानहरू एकै फेरीले ओसारिरहेछ । सधैं अँचेटिरहने इन्धनको उखरमाउलो रहेन त्यहाँ । सधैं बनाउने, भत्कने र बिग्रने बाटाको बलजफ्ती रहेन त्यहाँ । अविरल बगिरहेछ नदी । निरन्तर बहिरहेछ फेरी । हाम्रा बाग्मती, विष्णुमती, मनहरा, धोवीखोला, टुकुचा, महादेव खोलालाई थुनथान पारेर एउटै सञ्जालमा घुमाउन पाए कति राम्रो हुन्थ्यो काठमाडौको यातायात व्यवस्था, कति सुन्दर बनाउन सकिन्थ्यो काठमाडौ शहरलाई । अझ महाकालीको एउटा भँगालो मेचीको प्रवाहमा जोड्न पाए कति राम्ररी राँकिँदो हो देशको मुहार ।
यन्त्रवत् सामान चाङ लगाउँदै थिए एक हूल ज्यामीहरू । सम्पूर्ण शरीर पसीनाले निथ्रुक्क थियो तिनीहरूको ।
‘गाह्रो छ हगि याङ्गुन नदी किनारमा बाँच्न’– बर्मेली भाषामा सहानुभूति पोख्नुभयो मीनले ।
‘कहाँ गाह्रो हुनु ! पसीना निस्कँदैमा गाह्रो हुन्छ ? हाम्रा बाजे पनि यसैगरी जानुभयो । बाबु पनि यसैगरी जानुभयो । मैले यसै गरेर जहानबच्चालाई खुशीसाथ पालिरहेछु । यो नदी नहुँदो हो त कहाँ पाइन्थ्यो र हाम्ले काम, कहाँ बगिरहन्थ्यो र यति आनन्दसँग जिन्दगी । नदीले पानी मात्र दिँदैन पौरखअनुसारको पेशा पनि दिन्छ जोसुकैलाई । त्यसैले हाम्री आमा पनि हुन्, बाबु पनि हुन्, छोराछोरी पनि हुन् याङ्गुन नदी’– भारी बोक्दाबोक्दै झ्वाम्लाङ्ग हामफाले दुई ज्यामी र फर्केर निरन्तरता दिए आफ्नो कामलाई । परिश्रमलाई पूजा ठान्नेहरूको मन कति सन्तोषी हुन्छ; पवित्र र निर्मल हुन्छ याङ्गुन नदीको पानीभन्दा धेरै बढी ।
‘सुख भनेको मनको सन्तोष नै त हो नि’– कुलकुलाइरहेको याङ्गुनलाई सुनाएँ बिस्तारै ।
पारिपट्टि पहेंलपुर धानको बयेलीसँगै फुत्रुक्क ओर्लिए घाम धमिलो याङ्गुन नदीमा र टाँसिएरै टल्किरहे लहरदेखि किनारसम्म । अलिपरको खेतमा डयाङ्ग फोर्नेहरू फोरिरहेछन्, हिल्याउनेहरू हिल्याइरहेछ र छुपुछुपु धानको बिउ रोपिरहेछन् रोपाहारहरूले । उनीहरूको हात चलाइमा परेवाले आहार टिप्दाको गति छ । लाठे रोपाहार सबैले गाउँदै छन् बर्मेली भाषाका गीतहरू । ‘सुख त किसानको खेतबारीमा बस्दोरहेछ र उम्रँदो रहेछ त्यतैतिर’– त्यस्तै चित्र सल्बलाइरहेथ्यो त्यो तरुनो खेतका गहरा, इत्ला र आलीहरूमा ।
खात लागेका रेष्टुरेण्टहरू नदीकिनारमा । सर्वत बेच्नेहरू पनि ग्यालग्यालती छन् पाइलापाइलामा । गोल्डन रिभर रेष्टुरेण्ट, गोल्डन भ्याली भ्यू रेष्टुरेण्ट, होटल सनसट भ्यू, याङ्गुन रिभर रेष्टुरेण्ट यस्तैयस्तै नामका रेष्टुरेण्टहरूमा फटफटाइरहेछन् मान्छेका जत्था ।
‘सर, जाऊँ, ऊ त्यो होटलमा पसूँ हामी दुईजना’– अघिल्तिरको रङ्गुनरिभर भ्यू रेष्टुरेण्टतिर तान्न खोजिन् मलाई सन्ध्या बहिनीले ।
‘ए बहिनी, हामी दुई मात्र पस्यौं भने त ‘कुराले लठ्यायो, रेष्टुरेण्टमा हत्यायो’ भन्लान् नि, साथीहरूले ।
छोड्नुस् सर, ‘मस्ती खोज्नेले गस्तीसँग डराएर हुँदैन’– सवालभन्दा जवाफ कडा फर्कियो विश्वास बहिनीबाट ।
‘हामीलाई अछुतो मान्दा पछुतो पर्ला है हजुर । बिट मारौं अब बगरको यात्रा’– कोस्टरको कुनाबाट कराउनुभयो जनार्दनजी ।
पझुडाउँ पुलको काँध चढेर वारिपट्टि फर्कियो हामी चढेको कोस्टर । काठका घरहरू छन् । घरैघरको माझमा काठको धरोहर उभिएको छ । धरोहरमा बाहिरबाटै देखिन्छन् बुद्धका मूर्तिहरू सुतेरै स्वस्ति गर्दैछन् भिक्षुहरू । काठको छाना, काठका भित्ता, काठकै बौद्धमूर्तिहरू। आफ्ना आस्थाहरू फुलाउन विशेष वस्तु नै किन चाहिन्छ र मान्छेलाई । ढुंगा, माटो, धातु, फलाम, काठ जेजेमा पनि उदाएका छन् बुद्ध याङ्गुनका आँगनभरि । काठे धरोहर देखाउँदै मीनले भन्नुभयो– ‘सय वर्षा खपिसकेको छ यो काठे चैत्यले ।’ लुुँगी सुक्र्यानो पार्दै सल्बलाइरहेछन् मान्छेहरू । गोलमोहर घारीले शीतल बनाइरहेछ बस्ती ।
टलफल टलफल टल्किरहेछ सुनौला घाम गोलमोहरका चिल्ला पातहरूमा ।
‘थप्पु खान पाइन्छ यो बजारमा’– पझुडाउँ पर्तिरको स्यानो बजार देखाउनुभयो मोती बहिनीले ।
‘हो, मलाई त असाध्य मीठो लाग्छ, थप्पु । ससुराली जाँदा कहिलेकाहीं थप्पु खान्थें म भरतपुरको बर्मेली टोलमा’– मैले भनें ।
पेट मिचिमिची हाँस्नुभयो उद्धवजी र जनार्दनजी ।
‘के भन्नुभएको त्यस्तो, थप्पु खाने बजार रे ! ससुरालीमा थप्पु खाएको रे !! थप्पु खान पनि बजार र ससुराली धाउनुपर्छ र ? रीस उठ्यो भने जसले पनि चखाईहाल्छ नि थप्पु’– सामूहिक भाव ओर्लियो साथीहरूको ।
‘कुटाई होइन क्या । भुटेको चनाको पिठोलाई बफ्याएर पकाएको रोटीलाई पो थप्पु भनिन्छ बर्मेली भाषामा । अमिलो अचारमा थप्प चोपेर खाँदा कस्तो मीठो हुन्छ’– गहुँगोरो अनुहारमाथि मीठोको तरङ्ग उब्जाउँदै बोल्नुभो मोती बहिनी ।
कुरा बुझेपछि फेरी हाँसो हल्कियो बसभरि ।
‘लाटो तीनचोटि हाँस्छ भनेको सिद्ध भयो है तपाईंहरुबाट’– हाँसै हाँसोका फुरौला बर्सियो ग्वारग्वारति ।
कसैको मुख फुर्सद बसेको देख्ने बित्तिकै चकलेट तेस्र्याइदिइहाल्नुहुन्थ्यो रबिकी मम्मीले ।
‘हजूर नहुनुभएको भए कहाँ यति गुलियो हुन्थ्यो र हाम्रो यात्रा’– चकलेट च्याप्दै बोलें म ।
‘हजूर नहुनु भएको भए पनि कहाँ खोतलिन्थे होलान् र यात्राका रहस्य’– जवाफ थियो रविकी मम्मीको ।
रङ्ग खुइलेको, टाटेपाटे बजारको बीचमा एउटा आधुनिक भवन ठडिएको देखियो । लेखिएको रहेछ– कान्वाजा बैंक लिमिटेड ।
‘याङ्गुनमा यो एउटा मात्र प्राइभेट बैंक सञ्चालनमा छ । उच्च ओहोदाका सैनिक र उनीहरुको परिवारको लागि मात्र हो यो बैंक । सर्वसाधारणलाई कहाँ सुलभ छ र बैकिंग सुविधा म्यान्मारमा । बैंक खाता खोल्न कठिन छ । ऋण लेनदेन शून्यप्रायः छ । ड्राफ्ट, हुण्डी, इ–बिडिङ्ग त कुन चराको नाम हो त्यसको अत्तोपत्तो छैन । बैंक नै सुलभ नभएपछि कसरी ज्यूँदो बन्छ अर्थतन्त्र ? सेनाले सुकायो म्यान्मारको सुस्केरा’– लामो सुस्केरा पछि सुस्ताउँनुभयो मीन ।
‘’जनताले कसरी गर्छन् मनोरञ्जन ? कसरी थाहा पाउँछन् समयको नालिबेली ?– पाखामा सुकायौं प्रश्नका पङ्तीहरू।
पातलो ज्यानको मीन लिखुरे र खबटे देखिनुभयो । उदास भूँमरीमा अँचेटिएको आभास थियो अनुहारमा । बाल्नुभयो– ‘सबै भएर पनि केही नभएको बनेको छ म्यान्मार । गरीवीको चरमताले मनोरञ्जनको बारेमा सोच्नै सक्तैनन् मान्छेहरू। जो सोच्न सक्छन् तिनीहरुको लागि पनि कहाँ छन् र मन बहलाउँने ठाउँ । बस्तीहरुमा न थिएटर छ न जुट्ने माहोल । गाउँभरीमा एक दुईवटा टेलिभिजन सेट पाउँन पनि गाह्रो छ । युवा युवतीहरूनाचगान र नाटक प्रदर्शनमा मन गर्दछन् तर सैनिकको सेन्सरसीप विना पाइलो चाल्न पाईंदैन । कयौं लेखक मारिएका छन् । सयौं स्रष्टा थुनिएका छन् । शहर छ, पुस्तकालय छैन । स्कुल र कलेज छन्, पढ्ने पुस्तक छैनन । कलेजका पाठ्यपुस्तक पाइने एउटा मात्र पुस्तक पसल छ याङ्गुनभरमा ।’ ‘न्यू लाइट अफ म्यान्मार’ र ‘मिरर’ नामका दुई पत्रिका निस्कन्छन् सरकारी । निजी क्षेत्रबाट पनि निस्कन्छन् केही । तर ती त पत्रिका होइनन् भ्रम फिंजाउँने भाँडा मात्र हुन् । निरङ्कुश शासनको प्रशस्ती गाउँन निकालिएका पुस्तक पत्रिका हुनुभन्दा नहुनुनै वेश । गद्दीमा निरङ्कुश बसेपछि कुटुकुटु काट्दो रहेछ सवैका पखेंटा, तनतनि प्यँुदो रहेछ मान्छेको रगत, भूतभूतेमा मान्छेलाई पिल्स्याएर आmू लुछिरहँदो रहेछ मुटु र कलेजाका सुरुवाहरू। साँच्चै हजूर, म्यान्मार यतिखेर बेसरी बेरिएको छ अजिङ्गरका फेराहरुमा, यो सवै च्यातचुत पारेर एकदिन सुनौला चरा बनाएर उडाउनेछौं यो सुवर्णभूमिलाई– कयौं पीडा, कयौं आक्रोश र कयौं दृढताको नदीनै बगे मीनबाट । मैले यत्ति बोलेको थाहा पाए भने जुन्ताका जुत्ताहरुले भरेनै निकाल्नेछन् मेरो श्वास र चढाउँनेछन् मेरो नाम देशद्रोहीको सूचीमा ।
‘कहिलेसम्म थुनिरहन सक्छन् हाम्रो घामको मुस्लोलाई जुन्ताका यी जुत्ताहरुले ।’
आङ्साङ् सुकी को उच्चारण भित्ताले पनि सुन्छ भन्ने आतङ्कको हावाले हुत्याएको छ मीनलाई पनि । अग्लोमा आरामसाथ लेटिरहेछन् भगवान बुद्ध । तल मझेरीमा ध्यानमग्न छन् असंख्य भक्तहरू। हामी पनि त्यही लहरमा छौं । ज्ञानको ज्योति फ्याँकिरहेझैं लाग्दैछन् बुद्धका आँखा । सल्बल र चल्मल हुनेझैं लाग्दैछन् पाखुरा र शरीर । शान्ति र शील खुलिरहेछ बुद्धका सर्वाङ्गबाट । सुनौला मूर्ति पहेंलो शरबदा फूलेझैं लागिरहेछ । चरित्रलाई मूर्तिमा अनुवाद गर्नसक्नु– कति राम्रो कलाकारिता ।
लेटिरहेका बुद्धका सामुन्ने हामी सयौ मान्छेहरूपनि झिना र पुड्का लागिरहेछौं । बिशाल गुम्बामा लेटिरहेछन् बुद्ध । कमलको फूल, हात्ति, घोडा, बाघ, सर्प र मन्दिरका चित्रहरूअंकित छन् बुद्धका पाइतालाहरुमा ।
तीन अवस्थाको श्रृङ्खला हो जिन्दगी– ‘ओकासालोका, सात्तालोका र सङ्खरालोका’१(बाल, युवा र बृद्ध (बर्मेली भाषा)) बाल अवस्थामा शान्त र शालीन हुन्छ प्राणी । युवामा हिंस्रक र आक्रामक । अनि निर्बल र छटपटीको दोसाँधमा बित्छ बृद्धवय । बनस्पति र प्राणीलाई प्रतिक बनाएर उनीहरुको स्वभाव अनुसार प्राणीका उमेर अवस्थाको स्वभाव चित्रण गर्न खोजेका छन् बुद्धका पाईतालाका चित्रहरुले– जेसुकै कुरा पनि चालु टेपरेकर्डरको आवाज जसरी बोल्नुहुन्छ मीन ।
‘किन आरामसाथ सुते बुद्ध, किन उठेनन् वा बसेनन् ?’– मेरो खसखस पोखिइसकेको थियो आवाज बनेर ।
हाम्रो आवाजलाई नजिकबाट ध्यान दिनुभएको रहेछ शान राज्यका माउङ्ग स्वान यी ले ।
‘दुई पाटाले कहिल्यै छोड्दैन जिन्दगीलाई । सुख पनि छ, दुःख पनि छ । अँध्यारो पनि छ, उज्यालो पनि छ । थकान पनि छ, आराम पनि छ । थकान नभए कहाँ महत्व हुन्छ आरामको ? हो, त्यही परिश्रम र थकान पछिको अवस्थालाई इङ्गित गरिरहेछ रिक्लाइनिङ्ग बुद्धले– अथ्र्याउँनुभयो माउङ्ग स्वान यी ले ।
नेपालीको पहिचानले उत्साहित हुनुहुन्थ्यो माउङ्ग ।
‘यति ठूला मूर्तिहरूकति छन् लुम्बिनीमा ?’–
‘साह्रै कम ।’
‘निर्माण गर्नुपर्छ विश्वकै ठूलो बुद्धमूर्ति लुम्बिनीमा । मूर्तिलाई एउटा कलाको रुपमा मात्र हेरिनु हुँदैन । आस्थाको प्रतिक पनि हो मूर्ति । विश्वकै ठूलो बुद्धमूर्ति लुम्बिनीमा निर्माण हुनु भनेको संसारभरका बुद्धमार्गीलाई भगवान बुद्धको जन्मथलोले तानिरहनु हो, यो धार्मिक बिचारलाई समेटिरहनु हो । बरु सहयोग गर्न तयार छौं हामी म्यान्मालीहरू पनि ।’
‘राम्रो बिचार हो, बामियानमा बुद्धका मूर्तिहरूफुटाउँदा घाउ लागेको छ सम्पूर्ण बुद्धमार्गीलाई ।’
नेपाली भेटकोमा गौरव थियो माउङ्गलाई । बुद्ध भनेपछि हुरुक्कै हुने म्यान्माली मित्र पाउँदा खुशी फक्रिएको थियो हाम्रा रङ्ग र तरङ्गहरुमा ।
‘दामोदर सर जन्मवार कुन हो तपाईंको ?’– मीनको प्रश्न ।
‘बिहिबार’
‘ओहो, त्यसो हो भने तपाईंको नाम त ‘दामोदर’ होइन ‘मीन’ पो राख्नु पर्छ । म पनि बिहिबार जन्मेकोले ‘मीन’ नाम जुरेको ।’
‘कसरी ?’
लेटिरहेका बुद्धसँगै लहरै बसिरहेका सात बुद्ध र सात अरु प्राणीका मूर्तिहरूछन् । हरेक जोडामूर्तिको अघिल्तिर एक एक वटा पोलिथिन बाटा र चार चार वटा ग्लासहरूराखिएका छन् । म्यान्मारमा जन्मबार अनुसार बच्चाको नामाकरण गर्ने र इष्टदेव पूज्नु पर्ने प्रचलन रहेछ । त्यसमुताविक आइतवार जन्मनेको गरुड, सोमवार जन्मनेको बाघ, मंगलवार जन्मनेको सिंह, बुधवार जन्मनेको हात्ति, बिहिबार जन्मनेको मुसा, शुक्रवार जन्मनेको गिनिपिग र शनिवार जन्मनेको लागि ड्रागन इष्टदेव पूज्नुपर्ने रहेछ ।
समूहका सवैले जन्मवार अनुसार जल सिञ्चन गर्नुभयो बुद्ध र इष्टदेवतालाई । मीन र मैले मूसा र बुद्धलाई अभिषेचन ग¥यौं । आफ््नो जत्ति उमेर त्यति ग्लास पानी सिञ्चन गर्नुपर्ने रहेछ इष्टदेव र बुद्धलाई ।
‘आजदेखि दामोदर सरको नाम फेरियो ।’ ‘दामोदर’ होइन ‘मीन’ भनेर बोलाउँनुहोला सवैले– एउटा फर्मान जारी गर्नुभयो मीनले ।
‘तपाईं मीनलाई यतै राख्नुहोस्, दामोदरलाई लैजान्छौं हामी’– रबिकी मम्मीसँगै हाँसो खुल्यो सवैको ।
चकलेट खाइएकै छ । पानी पिइएकै छ । गाडी चढिएकै छ । नयाँ नयाँ दृश्यहरूटाँसिएकै छन् आँखा र मनमा । ‘कुवेरको यात्रा जतासुकै जाला, जहाँ जाला उहीं खाला’ जस्तो भइरहेथ्यो हाम्रो यात्रा ।
घडीले होशियार बनायो दिउँसो दुई बजेको संकेतमा ।
बोज्योक आङ्ग सान बजारको सडक नाप्दै वल्लो कुना र पल्लो गल्ली चहारिरहेछ हामी चढेको कोस्टर ।
‘बेलायती साम्राज्यमा स्कट मार्केट भनिन्थ्यो यो बजारलाई । म्यान्मार स्वतन्त्र भएपछि बर्माकी नेतृ आङ्गसाङ्ग सु कीको पिता बोज्योक आङ्ग सानको नामबाट नामाकरण गरियो यो बजारको’– इतिहास जोड्नुभयो मीनले ।
घरहरूछन् तर जीर्ण देखिन्छन् भित्ता, बुर्जा, बार्दली र झ््याल ढोका । सडक छन् तर साँघुरा, भत्केका र फोहोर । मुहारमा हाँसो छ तर चमक देखिंदैन मान्छेहरुको । जतासुकै जे जे पनि बेच्न राखिएका छन् । अन्नका खोस्टा, फलफूलका बोक्रा र सागपातका डाँठ र पातहरूमिल्किरहेछन् जतासुकै । थोत्रा सवारीको भेल जस्तो छ सडक । समसमी जताबाट पनि बाटो काटेका छन् मान्छेहरुले । ट्याक्सीहरूदेख्दा त दिग्दार नै लाग्यो । असिना परेको गोवरजस्तो । अगाडि–पछाडि तल–माथि कुच्चिन कहिं बाँकी देखिंदैन ट्याक्सीहरुमा । रङ्गरोगन छैन । हर्नको भ्याँ भ्याँ र भुँ भुँले बेचैनको बाजा बजिरहेछ । हिँड्दा हिँड्दै गतिको सन्तुलन गुमाएजस्ता लाग्दछन् ट्याक्सीहरू। फुटेको घ्याम्पोमा अटसमटस कोचिएको गुन्द्रुकका झ््याम्टा लत्रिएझैं ठेलमठेल बस चारै चक्का वरिपरी झुण्डिएर यात्रा गरिरहेछन् यात्रुहरू। धन्न, कुन क्षमताले गुडिरहेछन् त्यहाँ ट्याक्सी र बस ।
बोज्योक चोकमा बस रोकेर साँघुरो गल्लीभित्र छि¥यौं हामी । घाम छिर्नै मुश्किल साँघुरा गल्लीहरूछन् हाम्रै असन र इन्द्रचोकतिरका बजार जस्तो । मोती र म अलि अगाडि छौं अरु भन्दा ।
‘भाउज्यूलाई उपहार लगिदिनु पर्दैन ?’
‘पर्छ, के लाने होला ?’
‘बर्माकी छोरीलाई बर्मेली लुङ्गी, ब्लाउज र रुबी, अरु के लानु ।’
‘हेरौं न त, मलाई त कहाँ जानकारी छ र तीनवटै कुराको ।’
हरेक पसलहरूभरिएका छन् बर्मेली पोशाकहरुले । सिल्क, सुती, नाइलन, टेरलिन, जीन र अरु पनि धेरै धेरै जातका कपडामा बनाइएका छन् ब्लाउज, लुङ्गी र टि–सर्ट । पसलमा प्रायः महिला बिक्रेताकै संख्या बढी छ ।
‘म्यान्मारको मन लैजानुस्’– पसलमा छिर्ने बित्तिकै एउटी बोलिन् ।
‘कस्तो मन ?’– मोती र म हाँस्यौं ।
‘म्यान्मेली मन क्या, सुन्दर, सफा, रङ्गिन् र सुनौलो, यिनै पोशाकहरूबुनिएका छन् मनका ती श्रृङ्खलाहरुले’– लुङ्गी कस्दै शर्ट तन्काइन् तिनले । फिका हरियो शर्ट र हरियो लुङ्गी, सेतो ब्लाउज र पातबुट्टे छिरबिरे लुङ्गी र नीलो र रातो समानान्तर धर्साहरूपृष्ठमा रहेको ड्रागन चित्रको ब्लाउज र लुङ्गी समेत तीन सेट छानिन् मोतीले ।
‘असाध्यै राम्री देखिनुहुन्छ भाउज्यू यी पोशाकहरुमा’– मोती बोलिन् ।
‘ठ्याक्कै सुनफूलजस्ती’– पसल्नीले थपिन् र हाँसिन् ।
‘सुनफूल होइन, बनफूल मनपर्छ मलाई त । बास र स्पर्श दुवै नहुने सुनफूल के काम’– खरिदमा चासो नभएझैं बोलें म ।
‘शरबदा र सयपत्रीकै पात त हुन् नि यिनीहरु, किनेर त लैजानुस्’– ग्राहकको मन नजिते कसरी हुन्छ व्यापार, बुझेरै बोलिन् साहुनी ।
मोलमोलाइ सुरु भयो ।
‘तीन जोरको छत्तीस हजार च्याट’– साहुनी गर्जिइन् ।
‘बाह्र हजारमा पाए लाने’– चौवीस हजार घटाएर मागिन् मोती बहिनीले ।
‘हुन्न, तीस हजारमा लैजानुस् ।’
‘हुन्न, तेह्र हजारसम्म पाए लैजाने नत्र अरू पसलमा जाने ।’
‘अन्तिम, पन्ध्र हजारमा हुन्छ ?’
‘अन्तिम, पन्ध्र हजारमा हुन्न भने हामी फर्कन्छौं ।’
मलाई उठ्ने संकेत गर्दै जुरुक्क उठिन् मोती बहिनी ।
‘भोभो लैजानुस्, पन्ध्र हजारमै तर अमेरिकी डलर नै दिनुहोला ।’
पचास अमेरिकी डलरका तीन जोर लुँगी र ब्लाउज बोक्यौं हामीले ।
‘मोती नभए त ‘धोती न टोपी’ पार्ने रहेछन् हगि हामीलाई त बोज्योकमा ?’
‘सुरुको मोललाई तीनले भाग गरेन भने त ‘तीन न तेह्रको’ हुन बेर लाग्दैन सर यहाँ त । फेरि जेसुकै पनि कस्तो महँगो हेर्नुस् न, एक बोरा पैसाले एक झोला तरकारी पनि किन्न नसकिने भैसक्यो सर अव त म्यान्मारमा ।’
‘यात्रामा लोकलको साथ नछोड्नू र संगीतमा भोकलको साथ नछोड्नु होइन त ?’ कपडा बजारदेखि रुवी बजार नपुगेसम्मका गन्थन ।
‘जस्तो बेपार उस्तै सिंगार’ बोल्दै बसेको भेटियो रुवि बजार ।
साँघुरा गल्लीमा सजिएका छन् गहना पसल । हार, लकेट, टप, औंठी, ब्रासलेट, फुली, ढुंग्री अनेक छन् गहना । सुन कम शीला बढी छन् गहनाहरूमा । गहना हुन सुन नै चाहिन्छ भन्ने परिभाषालाई बदलेको रहेछ बोज्योक गहना बजारले ।
‘रुबी पनि एउटा मुख्य चिनारी हो बर्माको’– मोगोक रुबी हाउसभित्र सम्झाउँदैछिन् मोती । ‘अनि मेरो घर छ’– ‘रुबी उपत्यका’ अर्थात् मोगोकमा ।
रुबीका गहनाहरूले ढपक्क ढाकिएको छ रुबी हाउस । राताम्य र रंगीन शीलामा लयहरू देखिंदैछ कलाकारिताले ।
‘हामीलाई नक्कली रुबि चाहिएको थियो, पाउन सकिन्छ ?’– पसलमा नक्कली गहना छन् कि भन्ने आशंकामा सोधें मैले ।
‘छैन–छैन, हामीकहाँ त सक्कली मात्र पाइन्छ रुबि’– गहुँगोरी पसल्नी बोलिन् ।
मोतीले भनिन्, ‘म रुबि’ राम्रोसँग चिन्दछु, रुबिबिनाका रुबिहरू देखिंदैनन् यहाँ ।
‘रुबिको देशमा पुगिएको छ, कति खुशी हुन्थे होलान् पारु, छोरी र अरू आफन्तहरू एकेक वटा रुबिका गहना उपहार लगिदिन पाए’– मन त्यसैमा खुशी मान्यो ।
लकेट, टप, औंठी, बाला– धेरै कुराहरू ओल्टाईपल्टाई ग¥यौं मोती र मैले । सामान जुन पनि राम्रो मूल्य जुनको पनि चर्को । उच्च चाहना र उच्च मूल्यको समागम बिन्दु नभेटेसम्म कहाँ हुँदो रहेछ र वस्तु खरिद ।
‘म्याडमको अनुहार जिन्दगीभर जूनजस्तो उज्यालो हेरिरहने भए यो लगिदिनुहोस्’– ठयाक्कै आङ्ग साङ्ग सुकीको बहिनी भन्न सुहाउने एउटीले रुबिको हारतिर तानिन् मेरो ध्यान ।
राता रुबिको लर्कन ।
चिप्लो, टलक्क र उज्यालो ।
शरदको घामलाई अङ्कमाल गर्न ठिक्क परेको इन्द्रेनीको लहर ।
वक्षमाथि छरिएका तरबर्रर ताराहरूको बिस्कुन ।
पाकेर राताम्ये मलायो हाँगाभरि लटरम्म झुलिरहेका ।
हार हेर्दाहेर्दै हर्षमा हराएँ म । एउटा हार लगिदिन पाए कति खुशी हुँदी हुन् पारु तर गहना भनेर कहिल्यै मरिहत्ते गरिनन् तिनले । घर बनाउँदा नाकको फुलीसमेत बेचेको सम्झना आयो । अभावमा फुलीसम्म फुकाल्न पछि नपर्नेलाई सक्दा हारले छोपिदिनु ‘सुखको गहना मौका परे खजना’ नै त हो नि ।
‘सोकेशभरि गहना छन् तर तपाईहरू सबैको हात कान बुच्चै देख्नु म’– पल्लो सोकेश अघिल्तिर उभिएकी पसल्नी माथि खन्याएँ जिज्ञासा ।
‘गहनाहरू देखाउनका लागि हुन् लगाउनका लागि होइनन् । चाडपर्वमा होस् वा मेलापातमा, गहना, देखाउँछ मान्छे र थन्क्याउँछ, अनकन्टार कुनाकानीमा । मोडल हुँ म म्यान्मारकी । प्रदर्शनीमा गहनाले छापिएर प्रस्तुत हुन्छु । जब फुकालिन्छन् गहनाहरू शरीरका अंगअंगबाट तब मेरो रूपलाई खिया लगाउने वस्तुहरू त हुन् नि गहनाहरू भनेझैं लाग्छ । गहनाबिनाको रूप पो वास्तविक हो मान्छेको’– गहना बिक्रेता होइन दार्शनिक जसरी बोलिन् चाओ बहिनी । हुन पनि अकबरी सुनलाई किन लगाइरहनुपथ्र्यो र कसी ?
‘तीस लाख च्याट’ अर्थात् ‘दश हजार अमेरिकी डलर’ मूल्य लेखिएको रहेछ हारको । नेपाली सात लाख पचास हजार रुपैयाँ । कहाँ थियो र त्यति धेरै रकम मसँग ? भए पनि के अर्थ हुन्छ र त्यति रकम जमाएर कहिलेकाहीँ इष्टमित्रको सामु झिलिकमिलिक पार्नुको ।
‘जाऊँ मोती, पछि आउँला कुनै दिन’– हामीहरू निस्कियौं मोगोक रुबि हाउसबाट ।
जेड ढुङ्गाका नीला हात्तीहरू, मैनरङ्गे बुद्धमूर्तिहरू, स्वेडगाउँ पगोडा चैत्यहरू, जंगल, सबै सजीव र जुरुक्क उठेझैं लागिरहेथ्यो पसलको कुनाकुनाबाट । ग्राहकले सामान किन्नु सामानको मूल्य वृद्धिमा रोक लगाउनु हो, नकिने पनि ग्राहकले आँखा लगाउनु सामानको भाउ बढ्दै जानु हो– चाओ बहिनी र जेडढुङ्गाका कलाहरूले एकैपटक भनेझैं लाग्यो मलाई ।
‘कुर्दाकुर्दा करङ्ग समेत गलिसके हाम्रा । कता कुलेलम ठोक्नुभयो कुहिराको काग बनियो हामी त’– थाकेर सोत्तर अनुहार बोकेका साथीहरूभेटियो साकुरा होटल अघिल्तिर ।
हाम्रो अलमलमा बेला बगिसकेको थियो अलि पर्तिर ।
‘आम्मामा कति ठूलो .....’– पार्कबीचको बढेमाको रुबि देखेर झन्झनायो उद्धवजी र मेरो दिमाग । धरोहरको टुप्पामा एक क्विन्टल अन्न भरिएको बोरा जत्रो छ रुबि । ‘करोडले पनि कोट्टिदैन होला त्यसको मूल्य’– हाम्रो अड्कलले पार लगाएन । ‘हरेक ढुङ्गानै रुबि हुन् यहाँका, अनि के खाँचो पार्क सजाउँन’– बन्द नहुने रेडियो झैं एकोहोरो फतफताउँन थाल्नुभयो मीन ।
लाग्छ देशको दुर्दशाले बेसरी कोपरेको छ मीनको मानसिकतालाई
सुनौलो छ तर सुगन्ध लुटिएको छ
प्रकृतिलाई ढडाइँदैछ आगोले
भिक्षुहरू नै प्रताडित छन् रक्तपिपासु काँडाहरूबाट
अट्टहास छर्दै ड्रागनले चपाइरहेछ मान्छेका सपनाहरू
कृत्रिम निद्रामा लठ्ठिन विवश छन् सम्भावनाका पहाडहरू
चम्किली देवी म्यान्मारमा
भव्य बगैंचा छ
सम्पदाहरू छन् सुनौला
तर भित्रभित्रै चपाइरहेछ धमिराले सम्पदा र बगैंचाका आधारहरू
त्यसैमाझ राखिएको छ पिँजडा
र, पिँजडाभित्र हुन्हुनाइरहेछौं हामी चराहरू
जतिसुकै कलात्मक भए पनि
फूल, झरना र पहाडबीच राखिए पनि
पिँजडा त आखिर पिँजडा नै हो
कति तम्तम्याइलो हुन्छ पिँजडाभित्र बस्नुको स्वाद र रङ
सधैं सहिरहन सक्तैन समयले दाह्रा, नङ्ग्रा र विषको वर्चस्व
केही समयमै देख्नेछन् सबैले
पिँजडाबिनाको एउटा वासन्ती बगैंचा
‘यो सन्नाटा भित्रको सुस्केरा हो, प¥यो भने उज्यालोको लागि हात दिनुपर्छ हजुरहरूले पनि’– एकाएक कान्दाउजी ताल जस्तो निर्मल देखिनुभयो मीन । उहाँको अनुहारमा भने लगातार चलिरहेका देखिँदैथे आँधीका झोक्का र तरङ्गहरू।
प्रकाशित: ५ कार्तिक २०७७ ०६:४२ बुधबार