हामी नयाँठिमी र रत्नपार्कको बसपार्कमा प्रायः सधैं भेटिन्थ्यौं । मैले उनी कुनै प्राइभेट अफिसमा काम गर्दैछिन् भन्ने अनुमान गरेको थिएँ । बसको एउटै सिटमा परेका थियौँ ।
मैले सोधें, ‘सधैं यही समयमा यहीं भेटिनुहुन्छ । कुन अफिसमा काम गर्नुहुन्छ तपाई ?
– रत्नपार्कमा थाल पसल छ । सुन्धारामा होलसेल छ ।
– जीवन चल्छ त, त्यसले !
– म एउटा अफिसमा चिया पकाउँथे । कोरोनाले हाम्रो अफिस उठ्यो अनि बाध्य भएर यो थालको दोकान थापेकी हुँ ।
– दोकान राम्ररी नै चलेको होला नि !
– ग्राहक आए त चल्ने हो अनि तपाईँ के काम गर्नुहुन्छ नि !
– म माल कार्यालयको सरकारी जागिरे हुँ ।
– ए तपाईको पनि थाल पसल नै रहेछ । आफ्ना व्यवहारका लागि ग्राहकसँग थाल थाप्ने त हो नि तपाईहरूले पनि । तपाई र मेरो दुवैको थाल पसलमा ग्राहक आएन भने कमाइ हुन्न ।
– होइन, फरक छ । म जागिरे हुँ । मेरो नियमित तलब पनि हुन्छ । तपाईले ग्राहक आए मात्र पैसा पाउने हो रहेछ ।
– फरक त छ । हामी ग्राहकलाई चित्त बुझाएर पैसा लिन्छौं, तपाईहरू ग्राहकको चित्त दुखाएर पैसा लिनुहुन्छ ।
– हामीले पनि ग्राहकको काम गरिदिएरै पैसा कमाउने हो ।
तपाईहरू हलो अड्काएर पैसा लिनुहुन्छ । हामी हलो जोताएर पैसा लिन्छौँ ।
– कुरा एकै त हो नि ।
– कुरा एकै होइन, हामीलाई समाजले शोषण गर्छ, तपाईहरू समाजलाई शोषण गर्नुहुन्छ । नैतिकताको हिसाबले भन्ने हो भने तपाईको थाल पसलभन्दा मेरो थाल पसल निकै राम्रो हो ।
रत्नपार्कमा दुवै जना झर्यौं ।
अनि उनले मेरो नाडीमा च्याप्प समाएर भनिन् , ‘दम रोगी सासूआमा र बाउबिनाको अढाई बर्से छोरी छन् घरमा । आज घरमा बच्चा निकै बिरामी छ, अलिकति पैसाको जोहो गरेर चाँडै घर फिर्नु छ । उपचार गराउनु छ । तपाई जाने हो !
मैले सोधें, ‘कहाँ जाने ?’
उनले भनिन् , ‘ठाउँ सुरक्षित छ, धन्दा मान्नु पर्दैन तपाईंले । एकैछिनको कुरा त हो । जाऊँ न ल ! आखिर सरकारी कर्मचारी त हुनु हुँदो रहेछ नि।’
प्रकाशित: ५ कार्तिक २०७७ ०५:५६ बुधबार