२५ फाल्गुन २०७७ मंगलबार
कला

रत्नपार्कको थाल

लघुकथा

  

 

हामी  नयाँठिमी र रत्नपार्कको बसपार्कमा प्रायः सधैं भेटिन्थ्यौं । मैले उनी कुनै प्राइभेट अफिसमा काम गर्दैछिन् भन्ने अनुमान गरेको थिएँ । बसको एउटै सिटमा परेका थियौँ । 

मैले सोधें,  ‘सधैं यही समयमा यहीं भेटिनुहुन्छ । कुन अफिसमा काम गर्नुहुन्छ तपाई ?  

– रत्नपार्कमा थाल पसल छ । सुन्धारामा होलसेल छ ।  

– जीवन चल्छ त, त्यसले !  

– म एउटा अफिसमा चिया पकाउँथे । कोरोनाले  हाम्रो अफिस उठ्यो अनि बाध्य भएर यो थालको दोकान थापेकी हुँ ।  

– दोकान राम्ररी नै चलेको होला नि !  

– ग्राहक आए त चल्ने हो  अनि तपाईँ के काम गर्नुहुन्छ नि !

– म माल कार्यालयको सरकारी जागिरे हुँ ।  

– ए तपाईको पनि थाल पसल नै रहेछ । आफ्ना व्यवहारका लागि ग्राहकसँग थाल थाप्ने त हो नि तपाईहरूले पनि । तपाई र मेरो दुवैको थाल पसलमा ग्राहक आएन भने कमाइ हुन्न ।  

– होइन, फरक छ । म जागिरे हुँ । मेरो नियमित तलब पनि हुन्छ । तपाईले ग्राहक आए मात्र पैसा पाउने हो रहेछ ।  

– फरक त छ । हामी ग्राहकलाई चित्त बुझाएर पैसा लिन्छौं, तपाईहरू ग्राहकको चित्त दुखाएर पैसा लिनुहुन्छ ।

– हामीले पनि ग्राहकको काम गरिदिएरै पैसा कमाउने हो ।  

तपाईहरू हलो अड्काएर पैसा लिनुहुन्छ । हामी हलो जोताएर पैसा लिन्छौँ ।  

– कुरा एकै त हो नि ।

– कुरा एकै होइन, हामीलाई समाजले शोषण गर्छ, तपाईहरू समाजलाई शोषण गर्नुहुन्छ । नैतिकताको हिसाबले भन्ने हो भने तपाईको थाल पसलभन्दा मेरो थाल पसल निकै राम्रो हो । 

रत्नपार्कमा दुवै जना झर्यौं । 

अनि उनले मेरो नाडीमा च्याप्प समाएर भनिन् , ‘दम रोगी सासूआमा र बाउबिनाको अढाई बर्से छोरी छन् घरमा । आज घरमा बच्चा निकै बिरामी छ, अलिकति पैसाको जोहो गरेर चाँडै घर फिर्नु छ । उपचार गराउनु छ । तपाई जाने हो !

मैले सोधें,  ‘कहाँ जाने ?’

उनले भनिन् , ‘ठाउँ सुरक्षित छ, धन्दा मान्नु पर्दैन तपाईंले । एकैछिनको कुरा त हो । जाऊँ न ल ! आखिर सरकारी कर्मचारी  त हुनु हुँदो रहेछ  नि।’

प्रकाशित: ५ कार्तिक २०७७ ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App