coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सुरक्षा

लघुकथा

डा.पुष्करराज भट्ट

भर्खरभर्खर कोरोनाको प्रभाव देखिँदै थियो । सरकारहरू आफ्ना नागरिकलाई सचेत गराउँदै थिए ।  

“घरबाहिर ननिस्कनु होला, सुरक्षित बस्नुहोला ।” सन्देशको सार थियो ।

“प्रभु सर्वशक्तिमान् हुनुहुन्छ । उहाँको कृपाले हामीलाई केही हुँदैन । आउनुस्, दैनिक प्रभुको स्मरण गरौं ।” चर्चका पादरीले आफ्ना भक्तजनलाई दैनिक चर्चमा आउन सन्देश जारी गरे ।

“अल्लाह सर्वशक्तिमान् हुनुहुन्छ । उहाँले हाम्रो रक्षा गर्नुहुन्छ । उहाँका सामुन्ने यस्ता सानातिना महामारीले केही गर्दैन । दैनिक अल्लाहलाई याद गरौं ।” मौलवीले पनि आफ्ना भक्तजनलाई दैनिक मस्जिदमा आउन सन्देश जारी गरे ।

“ईश्वर महान् हुनुहुन्छ । हामीले ईश्वरभक्तिलाई कदापि बिर्सनु हुँदैन । नियमित पूजापाठ, आफ्नो कर्मकान्ड गरौं ।” पुजारीले पनि यति आह्वानन गरेर आफ्नो कर्तव्य पूरा गरे ।

गिर्जाघर, मस्जिद अनि मन्दिरमा धर्मपरायण भक्तजनको भीड बढ्दै गयो । कतिपय मानिसलाई रोग पनि लाग्न लाग्यो ।

एकदिन यस्तो खबर सुनियो, “पादरी, मौलवी र पुजारीलाई पनि कोरोना संक्रमण । क्वारेन्टिनमा उपचार गराउँदै ।”  

संयोगले उनीहरू एउटै क्वारेन्टिनमा रहेछन् । भेटमा उनीहरूले एक अर्कांको हालखबर बुझे ।

“के छ खबर ?” साझा प्रश्न ।

“नजरका सामुन्ने छ हजुर । जस्तो यहाँको हाल त्यस्तै हाम्रो हाल ।” साझा जवाफ ।

उनीहरूका बिच एक सामूहिक विज्ञप्ति निकाल्ने सल्लाह भयो ।

“पहिले हामीले आफ्नो धर्मप्रतिको निष्ठाका कारण एक ठाउँमा भेला हुने हाम्रो परम्परागत चलनलाई मान्यौं । अहिले महामारीले उग्र रूप लिएकोले सबैले आआफ्नो निवासमा रहेर आफ्ना कर्म गरौं । राज्यको निर्देशन मानौं । घरमै बसौं, सुरक्षित बसौं ।” विज्ञप्तिको सार थियो ।

“आफूलाई मार परेपछि सबको बोली नै बदलिने रहेछ ।” यो खबर सुनेर आएका प्रतिक्रियामध्ये एक प्रतिक्रिया यस्तो पनि थियो ।  

प्रकाशित: ३ कार्तिक २०७७ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App