८ वैशाख २०८१ शनिबार
कला

उनको दशैं

लघुकथा

राजेन्द्र शर्मा 

‘दशैं आयो बाबा,  खै त मलाई नयाँ लुगा किनिदेको !’ छोरीको प्रश्नमा उनले पर्ख न छोरी आमा आएपछि किनौला भनेर चुप लगाउँथे । उनकी पत्नी स्टाफ नर्स थिइन्। अहिले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीमा बिरामीको उपचारमा अग्रपङ्क्तिमा अहोरात्र खटिएकी थिइन् ।

फोनमा टिर्रटिर्र घण्टी बज्नासाथ छोरी आमाको फोन आयो होला भनेर फोनतिर कुद्थिन् । उनको बाल मानसपटलमा आमाको तस्वीर मात्रै थियो । आमा घर नआएको  छ महिना जति भएको थियो । यसपटकको दशैंमा आमा आउने आशामा थुप्रै सपना बुन्दै बसेकी थिइन् । उनी यो कोरोनाको समयमा विद्यालय बन्द हुँदा घरमा पढेलेखेका कुरा आमालाई सुनाउन आतुर थिइन् । उनले आफूसहित सबै परिवारका सदस्य सामेल भएको एउटा सुन्दर तस्वीर स्केच पनि बनाएकी थिइन् ।

एकाबिहानै रेडियोमा समाचार बज्यो, ‘कोरोना संक्रमित बिरामीको संख्या दिन प्रतिदिन उल्लेख्य संख्यामा वृद्धि  हुँदैछ ।’ यो समाचार सुनिरहेकी छोरीले पाँच सालअघिको स्वाइन फ्लुु महामारी सम्झिन् । त्यतिबेला पनि आमा करीब छ महिना घरमा आउन पाउनुभएको थिएन ।

उनले यो समाचार सुनेर तु आमालाई फोन घुमाइन् र भनिन् , ‘आमा बरू यो दशैंमा मलाई केही चाहिँदैन । म पुरानै लुगा लगाएर बाबासँग दशैं मनाउँछु । हजुर छिट्टै यो युद्ध जितेर आउनू है  अनि हामीसँगै दशैं मनाउँला भन्दै  फोन राखिन् । तर आमाले मनमनै सोचिन् , ‘पोजेटिभ भएर आइसोलेसनमा बसेको सत्य छोरीलाई  कसरी भनूँ म !’ 

प्रकाशित: ३ कार्तिक २०७७ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App