८ वैशाख २०८१ शनिबार
कला

दयालु पुन्टी

बालकथा

सुशीला देउजा

 

           तराईको एउटा गाउँ, जहाँको धेरैजसो घर भुईचालोले भत्किएको थियो । त्यहीँ गाउँको एउटा मदारीले आफ्नो भत्केको घरलाई टीनले बेरबार पारी आफ्नो वासस्थान बनाएको थियो । उसको घरमा एउटा पुन्टी नाम गरेकी कुकुर आफ्ना दुई छाउराहरूसंगै बस्थी । धेरै जसो समय मदारी गाउँगाउँ  डुली बाँदर नाच नचाएर जीवन गुजारा गर्दै आइरहेथ्यो । मदारी बाहिर गएको बेला घरको रखवाली पुन्टीले गर्ने गर्थी । आज मदारी घरमा भएकाले पुन्टी आगनमा लमतन्न भई आरामले सुतेकी थिई ।

  उसका दुई छाउराहरू रमाउदै आँगनमा दौड्दै खेल्दै आमाको दूध चुस्दै थिए । सन्तुष्ट आमा आँखा चिम्म गरी निदाइरहिथी ।  

आँगनकै छेउमा एउटा ठूलो एभोकार्डको रुख थियो ।  

कतिबेलादेखि त्यस रुखमा बसेकी कली नाम गरेकी बाँदर पुन्टी र बच्चाहरूलाई लोभिएर एकोहोरो हेरिरहेकी थिई । ऊ आफ्नो बच्चालाई सम्झेर धुरुधुरु रुँदै थिई ।

एकाएक पुन्टीको नजर कलीमा प¥यो । ज¥याकजुरुक उठेर पुन्टीले गाली गर्दै भनी, ‘तिमी जंगलवासीलाई किन हाम्रो गाउँबस्तीमा आउनुपरेको ?’

कलीले बिस्तारै नरम स्वरमा भनी, ‘तिमीहरू गाउँबासीले नै मलाई यहाँसम्म आउन मजबुर  बनायौ । नत्र यहाँसम्म तिम्रो गाली खान किन आइरहन्थे ।’

‘कसरी  र किन ? जे पायो त्यही दोष नलगाऊ है’ । पुन्टीले अलि चर्काे स्वरमा भनी ।

रुन्चे स्वरमा कलीले भनी, ‘तिमी पनि आमा म पनि आमा । एउटा आमाले अर्काे आमाको मर्म बुझ्न सक्छ भनेर नै म तिमीलाई हेरिरहेकी ।’  

अब भने पुन्टी नरम भई र सतर्क हुँदै भनी, ‘के भयो बहिनी ल भन । मैले तिमीलाई के सहयोग गर्न सक्छु ?’  

‘भन त दिदी यो घर मदारीको हो कि हैन ?’

पुन्टीले ‘हो’ भनी टाउको हल्लाई ।  

‘हिजो मात्र यहाँ एउटा बच्चो बाँदर ल्याएको छ हैन ?

पुन्टीले ‘हो’ भनी टाउको हल्लाई ।

बर्र आँसु  झार्दै कलीले भनी, ‘हेर न दिदी हिजो मेरो आँखैअगाडिबाट यो मदारीले मेरो दूध खाँदै गरेको बच्चालाई जालमा पारेर ल्यायो । मेरो बच्चाले आमाआमा भनी रोएको सुनेर त्यो मदारीको पछिपछि म कतिबेर दौडिएँ । मोटरसाइकलमा आएका उनीहरूलाई भेट्टाउन नै सकिनँ । रातभर रुँदै हिँडेर म यहाँसम्म आइपुगे । यहीँ घरबाट मेरो बच्चाले आमाआमा भनी मलाई बोलाएको  सुनिरहेछु । साँच्चि भन त मेरो बच्चा यहीँभित्र छ हगि ?’  

पुन्टीले ‘हो’ भनी टाउको हल्लाई । ‘ल तिमी नै भन दिदी आफ्नो बच्चालाई यसरी कैद गरेर राखेको देख्दा विवश आमाको मन कति दुखिरहेको छ होला । त्यो त तिमीले पनि महसुस गर्ने कुरा हो’ भन्दै कलीले बर्र आँसु झारी ।  

एउटी दुखी आमाको वेदनाले अर्की आमाको मन पनि नराम्रोसंग दुख्यो । दया लाग्यो । आफ्नो बच्चालाई कसैले लगिपो हाल्छन् कि भनी पुन्टीले बच्चाहरूलाई गम्लङ्ग अंगालो मारी । ‘अब आमा र बच्चालाई कसरी भेट गराउने’लामो सास तान्दै पुन्टी सोच्न थाली । निकैबेरमा एउटा राम्रो जुक्ति उसको दिमागमा फु¥यो । उसले कलीलाई एकछिन पख भन्ने इसारा गरी र आफू बिस्तारै टीनको ढोका घरक्क उघारेर घरभित्र छिरी । गर्मीको बेला मदारी पंखा चालु राखेर खाटमा मस्त सुती रहेथ्यो । सिक्रीले बाँधेको अर्काे ठूलो बाँदर मदारीको कपालमा जुम्रा हेर्दै थियो । पुन्टीलाई मौका यही हो जस्तो लाग्यो । अनि कलीलाई भित्र आउन इसारा गरी । कली बिस्तारै गएर आफ्नो बच्चालाई बाँधेको डोरी खोल्न थाली । बन्धनमुक्त भएको बच्चा आमासंग लपक्क टाँसियो । निदाइरहेको मदारीले केही चाल पाएन ।

बच्चा लिएर पुन्टी र कली खुसीसाथ बाहिर आँगनमा आए । कलीले आँखाभरि आँसु पार्दै भनी, ‘दिदी तिमी कति दयालु ! तिमीले गर्दा मैले मेरो बच्चा पाएँ ।  यो गुन म कहिल्यै भुल्ने छैन । धेरैधेरै धन्यवाद ।’  

उनी रमाउँदै बच्चासहित छिटोछिटो आफ्नो वासस्थानतर्फ भागी । जाँदै गरेकी कलीलाई एकोहोरो हेर्दै गरेकी पुन्टीको एकमनले भन्यो, ‘कलीलाई सहयोग गरेर कहीँ मैले मालिकलाई धोका त दिइनँ ?’ तर अर्काे कोमल आमा मनले भन्यो, ‘हैन आमा र बच्चाको मिलन गराउनु धर्म हो ।’

सोचले खुसी भई । सन्तोषको लामो सास फेरि र जाँदै गरेका आमा बच्चालाई हेरिरही ।  

प्रकाशित: ३ कार्तिक २०७७ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App