coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नेपाली बालसाहित्यको इतिहास

नयाँ पुस्तक

 रत्न प्रजापति

 

नेपाली साहित्यको इतिहासका सम्बन्धमा धेरै पुस्तक लेखिएका छन् । ती पुस्तकमा थोरैथोरै चर्चा बालसाहित्यका बारेमा पनि गरिएका पाइन्छन् । तर बालसाहित्यमै केन्द्रित भएर र बालसाहित्यको ऐतिहासिक खोजबिन गरी लेखिएका पुस्तक थोरै मात्र छन् । ती थोरैमध्येको एउटा महत्वपूर्ण पुस्तक हो ‘नेपाली बालसाहित्यको इतिहास’ । यसका लेखक हुन् वरिष्ठ बालसाहित्यकार तथा बालसाहित्यका अथक अन्वेषक प्रमोद प्रधान । बालसाहित्य सिर्जनासँगसँगै बालसाहित्यसम्बन्धी खोज र अन्वेषणमा निरन्तर लागिपरेका प्रधानका बालसाहित्यसम्बन्धी खोजपूर्ण पुस्तकहरू पनि उल्लेख्य छन् । यसमध्ये केही प्रमुख पुस्तक हुन् ‘नेपाली बालवाङ्मय परिचयकोश’, ‘नेपाली बालसाहित्य सन्दर्भ सूची’, ‘नेपाली बालवाङ्मय परिचयकोश २०६४–२०७०’, ‘बालसाहित्यमा विनय कसजू ः योगदान र मूल्यांकन’ आदि । पछिल्लो पटक केही परिमार्जन र संशोधनसहित प्रकाशित ‘नेपाली बालसाहित्यको इतिहास’चाहिँ नेपाली बालसाहित्यको महत्वपूर्ण ऐतिहासिक दस्तावेज नै हो ।

‘नेपाली बालसाहित्यको इतिहास’ एउटा विश्लेषणात्मक ग्रन्थ हो । यसमा बालसाहित्यका विभिन्न विधाहरूको ऐतिहासिक विवेचना गरिएको छ । साथै बालसाहित्यमा योगदान गरेका विभिन्न विशिष्ट व्यक्तित्वहरूको परिचयात्मक मूल्यांकनसमेत गरिएको छ । यस पुस्तकमा बालसाहित्यका विभिन्न दृष्टिकोण र परिभाषाहरूसहित बालसाहित्यको सैद्धान्तिक परिचय दिइएको छ । बालसाहित्यको विधागत विवेचना गरिएको हुँदा बालसाहित्य के हो र यसको कति महत्व छ भन्ने बुझ्न यो पुस्तकले निकै सघाउनेछ । चौथो संस्करण प्रकाशित हुनु र परिमार्जन र संशोधनसहित पुस्तकको पृष्ठसंख्या समेत पहिलो संस्करणको तुलनामा झन्डै तीन गुणा बढी हुनुले यो पुस्तकको महत्व र सान्दर्भिकता पुष्टि गर्छ । 

विभिन्न अध्यायमा विभाजित यो पुस्तकको पहिलो अध्यायमा बालसाहित्यको प्रयोजन, आवश्यकता र उपयोगिताका बारेमा विवेचना गरिएको छ । दोस्रो अध्यायमा बालसाहित्यको परिभाषा र दृष्टिकोणका बारेमा विवेचना गरिएको छ । तेस्रो अध्यायमा बालसाहित्य र बालपाठ्यपुस्तकका केही समानता र केही भिन्नताका बारेमा संक्षेपमा चर्चा गरिएको छ । चौथो अध्यायमा नेपाली भाषामा बालसाहित्यसम्बन्धी विस्तृत विवेचना गरिएको छ । यसैगरी पाँचौं अध्यायमा नेपाली बालसाहित्यको विधागत विवेचना गरिएको छ । जसअनुसार नेपाली बालसाहित्यमा बालगीत÷बालकविता, बालकथा, बालउपन्यास, बालएकांकी÷नाटक, बालोपयोगी जीवनी, चित्रकथा÷चित्रपुस्तक, अनुवाद बालसाहित्य आदिका बारेमा उदाहरण तथा पुस्तकहरूको विवरणसहित सटिक विवेचना गरिएको छ । त्यसपछिका अध्यायमा नेपाली बालसाहित्यमा विशिष्ट योगदान गर्ने लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, देवकुमारी थापा, रमेश विकल, श्यामप्रसाद, ध्रुवकृष्ण दीप, शान्तदास, कृष्णप्रसाद पराजुली, जनकप्रसाद हुमागाई, देवीप्रसाद वनवासी, विश्वम्भर चञ्चल, दैवज्ञराज न्यौपाने, परशु प्रधान, प्रेमा शाह, गोपाल पराजुली, कल्पना प्रधान, तेजप्रकाश श्रेष्ठ, रामबाबु सुवेदी, विनय कसजू, कविताराम, रञ्जुश्री पराजुली र विजय चालिसे गरी २३ जना विशिष्ट सर्जकको परिचयसहित मूल्यांकन गरिएको छ  । नेपाली बालसाहित्यका अरू धेरै सर्जकमध्ये यति मात्रै नाम चयन गर्नुमा सर्जकको बालसाहित्य सिर्जनाको अवधि, संख्या र प्रसिद्धिलाई आधार बनाएको अनुमान गर्न सकिन्छ । यसबाट बालसाहित्यमा योगदान गर्ने सर्जकका बारेमा चिन्न, बुझ्न र प्रेरणा लिन सघाउ पुग्ने विश्वास गर्न सकिन्छ ।

नेपाली बालसाहित्यको इतिहास लेख्ने क्रममा बालसाहित्यलाई प्रवद्र्धन गर्न मद्दत गर्ने नेपाली बालपत्रिकाहरूको विगत र वर्तमानका बारेमा पनि विस्तृत विवेचना गरिएको छ । बालसाहित्यको लेखनको प्रारम्भिककालदेखि अहिलेसम्म प्रकाशित बालपत्रिकाहरूको विवरण र तिनले बालसाहित्यको प्रवद्र्धनमा पु¥याएको योगदानको चर्चा गरिएको छ । साथै बालसाहित्य प्रकाशनमा सघाउने प्रकाशकहरूको विवरण पनि उत्तिकै महत्वका साथ प्रस्तुत गरिएको छ । यसैगरी बालसाहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गर्न र हौसला बढाउन स्थापित विभिन्न बालसाहित्य पुरस्कार र बालसाहित्यको प्रवद्र्धनमा संलग्न विभिन्न संघसंस्थाहरूको विवरण पनि पुस्तकमा समेटिएको छ । अन्त्यमा उपलब्ध भएसम्मका र जानकारीमा आएसम्मका बालसाहित्यकारहरूको कृति र बालपुस्तकका चित्रकारहरूको सूचीसमेत समेटिएका छन् । यसो त यस्तो सूचीमा धेरै बालसाहित्यकार र तिनका प्रकाशित पुस्तकहरूको नाम छुटेका छन् । छुटेका बालसाहित्यकार र तिनका प्रकाशित पुस्तकको सूची आगामी संस्करणमा समेटिने आशा र विश्वास गर्न सकिन्छ ।

यो ग्रन्थ तयार गर्न लेखक प्रमोद प्रधानले निकै मिहिनेत गरेको देखिन्छ । लगन र धैर्यसहितको अथक प्रयासले मात्रै यस्तो गहकिलो पुस्तक अथवा ग्रन्थ तयार पार्न सम्भव हुन्छ । लेखक प्रमोद प्रधानको अथक प्रयासले नेपाली बालसाहित्यका बारेमा एउटा ऐतिहासिक दस्तावेज थपिएको छ । यो ग्रन्थ स्वदेश तथा विदेशका विश्वविद्यालयहरूका विभिन्न तहका पाठ्यक्रममा समेत सन्दर्भसामग्रीका रूपमा स्वीकृत भएको छ । यही तथ्यले यो ग्रन्थको महत्व पुष्टि हुन्छ । यो ग्रन्थ बालसाहित्यमा रुचि राख्ने जोसुकैका लागि अत्यन्तै उपयोगी हुनेछ भन्ने कुरामा कुनै सन्देह गर्नै पर्दैन । बालसाहित्य बुझ्न र बालसाहित्य लेख्न चाहनेहरूलाई यो ग्रन्थले सघाउनेछ । बालसाहित्यका बारेमा थप अध्ययन र अन्वेषण गर्न चाहनेहरूका लागि पनि यो ग्रन्थ एउटा महत्वपूर्ण सन्दर्भग्रन्थको रूपमा रहनेछ । 

पुस्तक – नेपाली बालसाहित्यको इतिहास

विधा – विश्लेषणात्मक ग्रन्थ

लेखक – प्रमोद प्रधान

प्रकाशक – शिखा बुक्स

संस्करण – चौथो (संशोधन र परिमार्जनसहित) २०७७

पृष्ठ – ४८६

मूल्य –४९५

प्रकाशित: ३ कार्तिक २०७७ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App