१५ चैत्र २०८० बिहीबार
कला

खोई मेरो सक्कली घर !

संस्मरण

खेमराज पोखरेल

 

मान्छेको जीवन निजी भए पनि आम हो । किनकि समय आम हो । परिवेश आम हो । भोगाइ आम हो । जीवन बुझ्नु भनेको एकदम कठिन कार्य हो । मान्छेले बुझेको जीवन हात्ती होइन, कान हो । त्यसकारण जाहिर छ, मैले बुझेको जीवन पनि कान नै हो । मान्छे पूरा हात्ती बुझेको भ्रममा बाँच्छन्, त्यो अर्कै कुरा हो । जीवन बुझाइ पनि एउटा खास साँघुरो दायराभित्रको उपदायरा हो । यही विन्दुबाट म मैले देखेका बाँचेका घरहरूबाट मेरै जीवन खोज्दैछु । हात्तीको कान नै सही, खोज्दैछु । 

म यो २०७७ सालको असोज महिनामा अमेरिकाको आँगनबाट आफ्नै जीवनको एक छेस्को जीवन देखाइ र भोगाइ अनुभूत गरिरहेको छु । सम्झिरहेको छु । किनकिन म सम्झेर द्रवीभूत पनि हुँदैछु । स्वाभाविक हो, मान्छेलाई आफ्नो विगत रोमाञ्चक लाग्छ । कहर भए पनि सानदार लाग्छ । रहर पूरा नभएको भएपनि स्वर्णिम लाग्छ । भोक नमेटिएको भए पनि उच्छवासपूर्ण लाग्छ । आङ नटालिएको भए पनि अलमस्त लाग्छ । अरूका महलभन्दा आफ्नो झुप्रो राम्रो लाग्छ । आत्मीय लाग्छ । यही रनाहामा म मेरो घर खोज्दैछु । घर माने सक्कली घर खोज्दैछु ।

मैले देखेको, भोगेको र बाँचेको जीवनमा यतिबेला म घुमिरहेको छु । मैले देखेको जीवन सुरु भयो सायद मेरो जन्मसँगै, जुन जन्ममा मेरो कुनै भूमिका थिएन । जन्मसँगै मैले मेरो घर देखेँ हुँला । घरभित्र पन्पेको मायाको घर पनि देखेँ हुँला । भोगे हुँला । परिवेशले जस्तो जीवन देखायो त्यही देखेँ । त्यही भोगेँ र बाँचेँ । ती जीवनहरू मेरा आँखाको बाटो हुँदै बगेका थिए । सललल बगेका थिए । राम्रा भए पनि बगेका थिए, नराम्रा भए पनि बगेका थिए । 

मैले सबैभन्दा पहिले जीवन देख्ता खरले छाएको घर थियो । त्यो घर हाम्रो थियो । मेरो थियो । त्यो घर बाँसका कोरा, खर, अग्राख, माटाका थिए । घर थियो, कोठाहरू थिएनन् । खानका लागि मीठोमसिनु थिएन, रोटोपीठोले जीवन चल्थ्यो । त्यो अपच थिएन । थुपार्ने सम्पत्ति थिएन, भोकै बस्न पर्दैनथ्यो । पल्र्याकपुर्लुक सुत्यो, रात कटायो । जे थिए, साझा थिए । साबुन एक थियो । तौलिया एक थियो । खान्गी एक थियो । पहिरन एक थियो । त्यो अपर्याप्त घरले पहाड तथा मधेसका धेरै आफन्तको भलो गरेको थियो । परिवारकै सदस्यको भौतिक तथा मनोवैज्ञानिक हैसियतमा बसेर धेरै आफन्तले स्कुल पढे । त्यो घर महान् बन्यो उनीहरूका जीवनमा । आउने जाने पाहुनाले पनि त्यो घरमा भोकै बस्न परेन । छिमेकीले पनि त्यो घरबाट नखाई जान पाएनन् । त्यो घरले यी कृत्यहरू आतिथ्यमा गथ्र्यो । पैसा प्रयोजन थिएन । अतिथि देवो भवः भन्ने आदर्शमा गथ्र्यो । अहिले त्यो घर खरबाट कर्कटपाताको छानोमा रूपान्तरण भएको छ । फेरि पनि जीवनको मियो भएरै बसिरहेको छ । उही गति उही तालमा बाँचेको छ । मैले सबैभन्दा पहिले अलमस्त पाराले देखेको जीवन त्यही थियो । मैले देख्न सुरु गरेको जीवन त्यही थियो । मैले बुझेको घरको परिभाषा पनि त्यस्तै थियो । जीवन बित्ने क्रममा मेरो जीवनले आँखाले देखाएको संसार देख्यो । पुस्तकमा जीवन पढ्यो । सुनिएका सुनाइएका कथ्य सुन्यो  र मेरा मगजभित्र केही केही हालिदियो। 

यो बेला मलाई राजविराजमा २०३२ देखि ३६ सालसम्म जीवन बिताएका घरको सम्झना आइरहेछ । त्यो काल भनेको मैले आइए– विए पढ्दाका काल हुन् । थोरै बुझेको, धेरै जानेँझैँ लागेको ठेट्नो काल थियो त्यो । तर ती दिन सिनेमाझैँ बितेका थिए । किनभने यो चार वर्षले मलाई मनोबलसहितको शिक्षा दिएको थियो । मेरा आँतभित्र आँटको खाका कोरिदिएको थियो । त्यो बेला लाग्थ्यो संसारको जुनसुकै काम पनि गर्न सक्छु म । अहिले जति उफ्रे पनि मेरो जग त्यही हो । त्यही मानसिक जगमा उभिएर म त्यो घरलाई सम्झिँदै छु ।

मैले एसएलसी गरेपछि बुवा चाहनुहुन्थ्यो कि म कुनै जागिर खाऊँ । तिनताक एसएलसी गर्नु भनेको सरदर शिक्षित मानिन्थ्यो गाउँमा । त्यसैले मेरा धेरै साथीहरूले एसएलसीपछि नै जागिरको जोहो गर्दै जीवन सुरु गरेका थिए । तर मलाई खोई के मेसो परेन कुन्नि, मैले जागिर पाइनँ । बुवाले घरैछेउको प्राविमा शिक्षक बनाउन थोरै भनसुन गर्नुभएको थियो तर पार चलेको थिएन । त्यसकारण म उच्च शिक्षा पढ्ने मनस्थितिमा पुगेको थिएँ । सो कालमा म राजविराजमा मेरी शुभद्रा फुपू दिदीको आश्रयमा बसेँ । खाने शुभद्रा दिदीकोमा सुत्ने उहाँको आमाजूको घरमा याने कि कमलाकान्त भिनाजुको घरमा थियो । घर लगभग जोडिएकै थियो । दिदीको घरमा सुत्न बिलकुलै कोठा थिएन । पर्याप्त सुत्ने कोठा त कमलाकान्त भिनाजुको घरमा पनि थिएन । घर फुसको थियो । भित्ता ईँटाले जोडिएका थिए । उहाँका दुई भाइ छोरा शशि र रमेशलाई एकएक वटा कोठा थिए । म जीवनका ती ४ वर्ष कहिले शशिसँग कहिले रमेशसँग सुतेर बिताएँ । कहिले बुइँगलमा लहरै सुतेर बिताएँ । यसबाहेक त्यो घरमा अन्य विद्यार्थीहरू, आफन्त जागिरेहरू पनि बस्थे । मजाको कुरो के थियो भने यो सबै काम खैराते थियो । लगभग होस्टलजस्तै थियो । भाडा होइन । पैसा प्रयोजन थिएन । कुनै स्वार्थ थिएन । सायद धर्म थियो । सायद सोच थियो । मजस्तै धेरैले त्यो घरबाट जीवन बनाए । संसारका मझेरीमा छरपष्ट भएका छन् । अहिले त्यो घर भत्किएको छ । तर म र मजस्ता आश्रयीका हकमा त्यो घर कहिल्यै भत्किएको छैन । भत्कने पनि छैन । त्यो घर सुरम्य भएर बसेको छ ।

अहिले म नियतिका दलानमा बसेर सम्झँदै छु कि यदि शुभद्रा दिदीले मलाई आश्रय नदिएको भए वा कमलाकान्त भिनाजुले आश्रय नदिएको भए मेरो भविष्य के हुन्थ्यो होला ! त्यसैत्यसै सोचमग्न हुनपुग्छु । कत्रो फराकिलो मन होला शुभद्रा दिदीको, शत्रुघ्न भिनाजुको । भिनाजु कमलाकान्तको, दिदीको । उहाँहरूको विचार, स्वभाव र मन देखेर म अहिले पनि भावविह्वल हुन्छु । सम्झनाका आँसुहरू आइदिन्छन् । मनहरू तरङ्गित हुने गर्छन् । कुनै एकैदिन पनि मैले मानसिक रूपमा ‘यो घर मेरो होइन’ भन्ने मनोवेग बोक्नु परेनँ । अझ मलाई त लाग्थ्यो यो मेरै घर हो । लाग्थ्यो मैले यो घरबाट कहिले पनि हिँड्नु पर्दैन । हुन पनि जसरी त्यो घरका अंशियार पढाइ सकेर समृद्ध जीवन खोज्न हिँडेका थिए, त्यसैगरी म पनि हिँडेको थिएँ । मैले भोगेको एउटा घर यस्तो थियो । त्यो पनि मेरो पौरखको घर भने थिएन ।

कमलाकान्त भिनाजु र दिदीको प्रेमिल सम्बन्ध देखेर अहिले मन नै लोभिएको छ । सायद त्यो सम्बन्ध बराबरीको थिएन होला । पुरुषप्रधानताले किचिएको थियो होला र पनि सम्झन्छु अपहेलित थिएन । भिनाजुले भात मुछ्ने अनि दिदीलाई ‘आऊ सानू सँगै खाने’ भनेर अर्को थालमा खान दिनुहुन्थ्यो । संस्मरण रहोस्, ती दिनमा लोग्नेसँगै बसेर खान अधर्म मानिन्थ्यो । घरमा अहोरात्र तास चल्थ्यो । मान्छेहरू तास खेल्न आउँथे । त्यो बेला पप्लु निकै प्रसिद्ध थियो । तास खेल्न दिदीलाई पनि आउँथ्यो । एउटा तासे घटना सम्झन्छु, रातको लगभग ११ बजेको हुँदो हो, तासको खाल सकिएको थियो । भिनाजुलाई निद लागेको थिएन होला । अनि सब तासे हिँेडेपछि भिनाजुले सुत्नु भएकी दिदीलाई बोलाउनुभएथ्यो र उठाएर बूढाबूढी तास पो खेल्न थाल्नुभएथ्यो । यो जीवनप्रति दिदीमा कुनै गुनासो थिएन । कुनै झिन्झिनाहट थिएन । कुनै कर्कश थिएन । थियो भने पनि देखाउनु हुँदैनथ्यो, अचम्म !

भिनाजुले पनि जीवन चलाउनुपर्ने थियो । पैसाको सङ्कट परिहाल्थ्यो पक्का । जीवन चलाउने आर्थिक सबालमा भिनाजु अलि मितव्ययी हुनुहुन्थ्यो सायद । हामीलाई उहाँ कन्जुस लाग्थ्यो  तर कमलाकान्त भिनाजुसँग गरेको एउटा यात्रा सम्झेको छु यतिबेला । र त्यो यात्रा थियो राजविराजबाट काठमाडौँको । तिनताक काठमाडौँ जान बाइरोडको बाटो मात्र थियो । विनोद पोखरेल दाइको डेरा हेटौँडामा बास बसी काठमाडौँतिर लागेका थियौँ । जीवनका तानमा धेरै सम्पन्न भनिने मान्छेसँग संगत भयो, तर यात्रामा त्यस्तो मुठी खुला भएको मान्छे मैले अहिलेसम्म देखेको छैन । भोगेको छैन । मानौ म कुनै अरबपति मनकारीसँग हिँडेको छु ।

त्यो ४ वर्षमा मैले सिनेमा हेर्न सिकेँ । हिरो हिरोइन चिन्न सिकेँ । प्राय हरेक हप्ता सिनेमा हेर्न जाने गरिन्थ्यो । सोले फिल्म त १६ पल्ट नै हेरेको सम्झन्छु । राजेश खन्नाको फ्यान थिएँ म बिनाबित्थामा । हिरोइनमा रेखा, हेमामालिनी खूब मन पर्ने थियो । दिदी, मेरी फुपू, फुपूका छोरीहरू, भान्जीहरूका साथमा धेरै सिनेमा हेरेँ मैले त्यो ताक । सिनेमा हेर्न गएको भोलिपल्ट त्यो घरको आँगनमा चिया चमेनाको व्यवस्था गरी सिनेमाको कथा भन्ने, सुन्ने चलन थियो । लाग्दथ्यो, त्यो पूरा मोहल्ला एउटा घर थियो । यो सिनेमा हेराइले पनि अहिलेको कथा लेखन जीवनमा कतै काम लागेको हो कि भन्ने जस्तो लाग्दछ । लैलामजनु हेरेर ग्वाँग्वाँ रोएको त्यतिबेलै हो । जीवनमा यो सिनेमा हेर्ने बानी पनि निकै सहयोगी हुने रहेछझैँ लागेको छ अहिले । किनकि जब म समयले कुटेर विह्वल हुन्छु, त्यो बेला अहिले पनि फिल्म हेर्छु । मजा मानेर हेर्छु । अन्यायी भिलेनलाई न्यायको प्रतीक हिरोले बेस्सरी हिर्काउँदा आफैँलाई खोई किन हो न्याय पाएझैँ लाग्छ ।

मानवीय सम्वन्ध सायद त्यसैबेला सिकेको जस्तो लाग्छ । त्यो घरलाई मैले जीवनकै महत्वपूर्ण मानेको छु । कमलाकान्त भिनाजु आफ्नो जागिरे जीवनको एकदम अन्त्यमा बित्नुभयो फ्याट्ट । दुःख कसैलाई भएन । राजविराजबाट एम्बुलेन्समा काठमाडौँमा ल्याउँदा सुत्त । श्रीमतीकै काखमा । छोराकै काखमा । कसैलाई केही दुःख दिनु भएन । तर दिदीले भने त्यो मृत्युलाई सहज रूपले लिन सक्नु भएन सायद । बिस्तारैबिस्तारै बिर्सँदै अल्जाइमरमा पुग्नुभयो । अल्जाइमरका बेलामा पनि उहाँ भिनाजुलाई सम्झिनुहुन्थ्यो । केही वर्षको सास्ती पछि दिदी पनि बित्नुभयो । मलाई यसबेला यस्तो लागिरहेको छ कि उहाँका सन्तानहरूले गरेको तरक्की भोग्न पाउनु भएन । पूरा आयु बाँच्न पाउनु भएन । अहिले पनि जब म राजविराज पुग्छु र त्यो घर भए ठाउँमा पुग्छु, अनि म भावविह्वल हुन्छु । किनभने अहिले त्यो घर छैन । त्यो घरमा मैले भोगेको परिवेश छैन । केही छैन । जीवन भन्नु पनि यही हो रहेछ सायद, जन्म्यो, हुक्र्यो, बढ्यो, पढ्यो, बाँच्यो अनि मर्यो ।तर सक्कली घरले दिएका मीठा झङ्कार भने पछिसम्म तरङ्गित हुने रहेछन् । 

मैले देखेको, सुनेको र भोगेको जीवनमा काठमाडौँको एउटा अर्को घर पनि थियो । मैले थाहा पाउँदा त्यो घर भाडाको घरमा बस्थ्यो । त्यो भाडाको घर मेरा भान्दाइहरूको थियो । उहाँहरू चेत, भाग्य वा अग्रसोचका कारणले होला, आफ्ना आफन्तभन्दा अलि चाँडै छिर्नुभएको थियो काठमाडौँ । तिनताक त्यो भाडाको घर मधेस तथा पहाडबाट काठमाडौँ तीर्थाटनका लागि आउने आफन्तहरूको आश्रयस्थल थियो । भाडाको थियो, त्यसकारण जाहेर छ कोठाहरू पर्याप्त थिएनन् । तर आफन्त तीर्थालुका हुद्दाहरू त्यही घरमा ठोकिन्थे । सुताउनु, खुवाउनु मात्र होइन, डुलाउनु पनि त्यही भाडाको घरले गर्नुपथ्र्यो । पछि त्यो भाडाको घरले आफ्नो निजी घर बनायो । म आफैँ जिन्दगीको हतासोले डोर्याएर काठमाडौँ पुगेको थिएँ । त्यो बेला मेरो आँटको पृष्टभूमि त्यही घर थियो । काठमाडौँको जीवनको सुरुवात त्यही घरबाट गरेको थिएँ । त्यो घरलाई त्यो कर्म लाग्थ्यो वा धर्म लाग्थ्यो, दायित्व लाग्थ्यो वा हर्ष लाग्थ्यो मलाई थाहा छैन । तर त्यो घरले कहिल्यै गुनासो गरेको थाहा पाइनँ ।  बिस्तारैबिस्तारै त्यो निजी घर अग्लो भयो । ठूलो भयो । फराकिलो भयो र धेरैवटा निजी घरमा परिणत भयो । कोठै कोठा बोकेको भयो। तर सनैसनै त्यो घरले आफ्नै अंशीयार पनि घरमा नबसेको अवस्था भोग्न थाल्यो । फेरि आफन्तका कोही न कोही अवसरको गोहो ढुक्न काठमाडौँ नै बस्ने दिनहरू आए । त्यसकारण मैले काठमाडौँमा जीवन सुरु गरेको त्यो एउटा प्रतिनिधि घर, जुनबेला कोठा र सुविधा थिएनन्, आफन्त तथा पाहुनाको आवाजले घनीभूत पन्पेको थियो । जुनबेला कोठैकोठामा परिणत भयो, विरान भयो । घनीभूत काठमाडौँ शहरमा यस्ता ठूल्ठूला घरहरू बग्रेल्ती बिरान देखिन्छन् । यस्तै रहेछ जिन्दगी ।

मेरो जीवनले मेरा आफ्नै पौरखका भाडाका घरहरू देख्यो, भोग्यो र बाँच्यो ।  घरबेटी थेग्यो, झेल्यो र बुझ्यो । अहिले पनि देशका विभिन्न शहरमा केही घरमा कोठैकोठा छन्, तर खाली छन् । एकै कोठाका छन् तर घुइँचो छ । कोही मैलेझैँ घरबेटी झेल्दैछन् । कोही थप्दैछन् । तर निश्चित कुरा के हो भने, ती सबै घर जिन्दगीका बहाबमा बाँच्दैनन् । ती घरबेटी वा भाडावाल जान्छन् र बिर्सन्छन् परिवेश । मेरा छिमेकका घरका कथा पनि सम्झन्छु यो बेला । काठमाडौँमा डेरा गरी बसेको बेला एउटा साथी मसँग आएर भन्थ्यो – यार तेरा त घरबेटी असल परेका छन् । मेरो पो काट्नुको छ । टाट्नामा बाँधेर घाँस हालिदिऊँ भनेजस्तो छ । मोरो बूढोले मर्दा पनि सँगै लैजान्छु जस्तो गर्छ । हाम्रा पनि त देशको कुनै कुनामा घर छ नि हौ । यी काठमाडौँकाले के ठानेका छन् हँ !

ऊ एक हप्तापछि फेरि आएको थियो र मलाई भनेको थियो – यार घरबेटी बूढो त मर्यो ।  

यस्ता कैयौँ घर देखेको छु मैले । सायद तपाईँले पनि । आफू जन्मेको, बढेको, हुर्केको र जीवनको एउटा महत्त्वपूर्ण कालखण्ड भोगेको घर अंशवण्डा गरेदेखि नै बैरीको घर भएको हुन्छ । यस्तैयस्तै घरहरू छन् । घरहरूका कथाभित्र नियति, सोच, चिन्तन, जीवन, अजीवन सबै अटाएका छन् । अनि घरबेटी वा भाडावाल सबै नक्कली घरका फिराकमा छन् ।

यहाँनेर मैले यति धेरै घरहरूलाई सम्झनुको कारण के हो भने मैले पनि जीवनका धारहरू बोक्दै, धारहरूमा हार मिलाउँदै, बिलाउँदै यहाँ आइपुगेको छु । जीवनका देउरालीहरूमा निउरमुन्टी न लगाएर नै जीवन चलेको छ । गच्छेअनुसारको फूलपाती चढाएरै जीवन चलेको छ । यही क्रममा जीवनको एउटा सानो कालखण्डमा मेरो पनि काठमाडौँमा एउटा घर थियो । साढे ३ तला थियो । अग्लो र राम्रो थियो । जाहेर छ त्यो सुविधासम्पन्न थियो । मैले भोगेका अचाडू घरबेटीले पोलेका घाउमा मलम लगाउने खालको थियो । आफ्ना भौतिक तथा मानसिक क्रियाको धकमधक्काको परिणति थियो । त्यो घर मेरो पौरख थियो । तर मैले अघि भोगेका दयाशील घरजस्तो मेरो घर भएन । त्यो मेरो पौरखिलो घर कसैका लागि आश्रयस्थल बन्न सकेन । त्यो घरले कसैको जीवनमा केही गुण लाउन सकेन । त्यो घर ठिङ्ग उभियो र सभ्यताको भ्रममा स्वार्थी भएर बस्यो । त्यो घरले आफूलाई सम्झिने कुनै काम गरेन । मेरा जीवनको एकदम सानो कालखण्डमा मलाई आफैँलाई मात्र आश्रय दियो । कोठाचोटा दियो । अलिकति भाडा दियो र मल बिष्टा बनाउन सहयोग गर्यो । र फेरि मेरा व्यवहारका चपेटामा नामसारी गरेर अन्त गयो । मलाई उसको भौतिक गमनले खासै कायापलट अर्थ राखेन, तर जब सक्कली घर खोज्छु, म त बुक्काको बुक्कै ।

यही बुँदामा आइपुगेपछि मलाई लागिरहेको छ कि किन म सक्कली घरको मालिक हुन सकिनँ ! मान्छेहरूले पनि मैले जस्तै ढुङ्गामाटाको नक्कली घर बनाउँछन् । त्यसमा कोठाहरू हुन्छन् । ती खाली पनि हुन्छन् । तिनमा पौरख हुन्छ, तर गौरव हुँदैन । काठपात सक्कली हुन्छन् तर घर नक्कली हुन्छ । कृत्रिम हुन्छ । देखिँदा सग्लो देखिन्छ । भित्रभित्र कहिल्यै नमेटिने धाँजा फाटेको हुन्छ । र यही प्रसङ्गमा म अहिलेका आधुनिक सभ्य घरहरूलाई हेर्दैछु, बोध गर्दैछु र एक्लिँदै छु । मजस्तै मान्छेहरू एक्लिँदै छन्  ।

यही धाँजाका च्यापमा बसेर म सोचिरहेको छु, मरिलाने जिन्दगीमा खोई कहाँ छ मेरो सक्कली घर !

प्रकाशित: २ कार्तिक २०७७ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App