७ वैशाख २०८१ शुक्रबार
कला

सामूहिक प्रगतिको कामना

शीतल गिरी

ईसाको चौधौं शताब्दीमा सङ्कलित प्राचीन नेपालको इतिहास ‘गोपाल वंशावली’ ले ईसापूर्व हजारौं वर्षदेखि  प्राचीन काल सुरू भएको मानेता पनि स्पष्ट छैन ।

गोपाल वंशावली अनुसार नेपाल उपत्यका पहिले एउटा ठूलो तलाउ वा दहको रूपमा रहेको र पछि तलाउको पानी निकालेर बस्ती बस्न योग्य बनाइसकेपछि यहाँ गोपालहरूको बस्ती बस्यो । यस वंशका संस्थापक मरीचि ऋषिका ‘ने’ नाम गरेको मुनिलाई मानेको छ । तर यथार्थ ठीक यसको विपरीत छ । चारैतीर डाँडाकाँडा रहेको वागमती र विष्णुमतीले सिञ्चित यस उपत्यकामा गोपाल वंशलाई पहिलो जाति मान्नु भनेको इतिहासलाई अवहेलना गर्नु हो । मैले यो उपत्यकाको रैथाने जाति व्यापार पेशा अपनाउने भेडापाल जातिलाई नै प्रथम जाति मानेको छु । 

भेडापाल मङ्गोलको एक शाखा थियो । जो सङ्घमा रहन्थ्यो । गणमा गणमाता प्रमुख हुन्थिन् । मलाई पूरा विश्वास छ कि सिन्ध प्रदेशबाट पलाएन भएका दस्यु (महिषपाल) सरस्वती र यमुना नदीमा माछा मार्ने जाति पनि यस उपत्यकामा आएर रहन थालेका हुन् । मातृसत्तात्मक चलन रहेको उपत्यकाको मिश्रित सङ्घ गणमा गणमाताकै प्रधानता थियो । सिन्ध प्रदेशका महिषपाल र माछामार नेपाल उपत्यकाको रैथाने भेडापाल जातिको सहमिलनले मानवोचित बुद्धिको सदुपयोग गरिएको थियो । गोपाल वंशको बारेमा कपोलकल्पित परिणाम निकाल्न खोज्नु अनावश्यक हो । काठमाडौं उपत्यकाको बारेमा पुनर सोचीविचारी लेख्नुको पछाडि मेरो कुनै प्रक्षिप्त प्रयोजन छैन । यो त तर्कद्वारा अनुमानद्वारा सम्भव भएसम्म सत्यको खोजी गरी आनन्द बटुल्न खोजेको मात्र हुँ । रचनात्मक कार्यले अनावश्यक कल्पनालाई पाखा लगाइदिन्छ । ईसाको चौधौं शताब्दीमा सङ्कलित प्राचीन नेपालको इतिहासले औल्याएको गोपालवंश परिष्कृत (वैदिक) आर्य नभएको बुझिएको छ ।

विक्रमपूर्व तेस्रो शताब्दीको मध्यताका प्राचीन मगधको शासन गुप्तहरूको हात प¥यो । कुशासनहरूको शासन कमजोर भएकोले गुप्तहरूका ससाना राज्य स्थापित भएका थिए । मगधको शासनमा आएका गुप्तहरू क्षत्रिय थिए, जसको विवाह वैशालीका बज्जिगणका लिच्छवीसँग चल्दथ्यो । भारतीय इतिहास अनुसार मगधका गुप्तहरूका आदिपुरुष श्रीगुप्त थिए, जो सामन्त राजाले मान्य भए । भारतमा गुप्तहरूको विक्रमको आठौं शताब्दीको मध्यान्तरसम्म रह्यो । गुप्तहरू गोबद्र्धक थिए, त्यसैले उनीहरूलाई गोप पनि भनिन्थ्यो । भारतीय गुप्तकालीन शासकहरूभन्दा कैयौं शताब्दीअगाडि नेपालमा गोपालको बस्ती भएको थाहा हुन्छ । महिष्मतीको किनारमा बसोबास गर्ने यादवहरू हैहय कार्तवीर्य सहस्रार्जुन, सर्यात र तुण्डीकेराहरूबाट आफ्नो प्राणरक्षाहेतु लुक्तै भाग्दै काठमाडौं उपत्यकामा आइपुगेका हुन् । राम्रो कुरा हो । तर आगन्तुक जाति रैथानेसँग मिलेर बसेको कतै पाइएको छैन । यस कुरातर्फ प्रथमत विचार पु¥याएर कलम चलाउनुँपर्ने सत्य मलाई थाहा छ । 

नेपाल उपत्यकाको रैथाने जाति भेडापाल मातृपूजक, प्रकृतिपूजक थिए । साथै महिषपालहरूको इष्टदेव पशुपति (लिङ्गदेव) लाई भेडापाल र माछामारहरूले पनि आफ्नो बनाएका थिए । गोपाल लिङ्ग पूजक थिएनन् । नेपाल उपत्यकामा आफ्नो धर्म पालन गरेर बस्न सबै मुक्त थिए । आफ्नो धर्म थियो र गोपालहरू लिङ्गपूजक बन्नैपर्छ भन्ने बाध्यता थिएन ।  

नेपाल उपत्यका अशान्त थिएन । नेपाल उपत्यका प्रवेश गरेको नवागन्तुक गोपाल जाति महत्त्वाकांक्षी थियो । सोचे थोरै शक्ति लगाउँदा गणमाताको ठाउँमा गणपति हुनसक्छ । 

अहिले पनि काठमाडौं वरपर अवशेषको रूपमा भए पनि मातृगणका प्रमुखहरूले पूजा पाइरहेको पाउछौं । गणमाता र गणपति संघर्षबाट सत्ता हस्तान्तरण भएको हुँदो हो त अष्टमातृका, चण्डेश्वरी, शोभाभगवती, कुमारी, काली, त्रिपुरसुन्दरी आदि पुजनीय हुने थिएनन् ।

मातृपूजाको प्रश्न धर्मको विचारले समाधान खोजिनुपर्छ, किनभने मातृपूजा धार्मिक श्रद्धावश गर्ने गरिन्छ । गोपालहरू संख्यामा थोरै भए पनि लडाकु हुनाले अरू जातिलाई सहजै वशमा पारे । अरूहरूको अपेक्षा गोपालहरूको बुद्धि धेरै नै विकसित भइसकेको थियो । गणमाताको चलन भत्काएर गणपति (पितृसत्तात्मक युग) को प्रचलन गोपालहरूको पालादेखि नै भएको हो ।  

गणमाताको चलन भत्काइए पनि नारीहरू आजको जस्तो निरीह अवस्थामा भने पुगेका थिएनन् । प्रकृतिको नियमलाई स्वीकार गर्दा मानव जीवन सुखमय बन्छ । प्रकृतिबाट मानवले धेरै चिज पाउँछ । जस्तो कि जाडोमा सूर्यको रापिलो न्यानोपन । प्रकृति धर्म मानिसले बुझ्न सक्नुपर्छ, चिन्न सक्नुपर्छ । यो कहिल्यै सोच्नु हुँदैन । अल्पसंख्यकको मोजमजा, सान र शासन खातिर बहुसंख्यकलाई दमन गर्ने । गोपालहरूले गणपति प्रथा लागू गरे पनि उपत्यकाको पुरातन धर्म च्यूत भइसकेको थिएन । धर्म भनेको मर्यादा हो, यो कति जरुरी छ यो कसलाई थाहा छैन र । मानिसले आफ्नो स्वार्थ खातिर जे पनि गर्ने गरेको छ  । 

त्यही उसको पुरुषार्थ रहेको छ । पशुको सोझो सम्बन्ध भोक र भोगसँग हुन्छ । तटस्थता सम्बन्ध पशुलाई थाहा हुँदैन । यसैकारणले गर्दा पशुमा नितान्त वेग र बल हुँदाहुँदै पनि प्रगति र उन्नतिको सामग्री अर्थात् विवेक हुँदैन ।  

विवेकको मूलमा तटस्थता रहन्छ । नेपालको इतिहास हेर्दा गुप्तवंशका राजाहरूले शासन गरेका रहेछन् भन्ने थाहा पाइन्छ । बाग्मत किनारमा स्थापित पशुपति (लिङ्ग) देवलाई मानिसहरू आदरसाथ पूजा गर्थे । यसरी पूजा गरेको गोपाल सरदारलाई चित्त बुझेको थिएन । एकदिन उसले लिङ्गदेव (पशुपति देव) लाई उखेलेर फाल्न चाह्यो । धर्ममाथि नाङ्गो प्रहार गरेको लिङ्गपूजकहरूले सहन सकेनन् । धर्मविरोधी गोपाल सरदारलाई मारिदिए । 

यो कुरा विभिन्न इतिहास लेखकहरूले पाएका बेग्लाबेग्लै वंशावलीले उल्लेख गरेका स्रोतको निचोड हो । त्यस्ता लेखकहरूमा कर्णेल विलियम किर्कप्याट्रिक, डेनियल राइट र भगवानलाल इन्द्रजीको नाउँ प्रख्यात छ । अर्को स्रोत हो, ‘गोपालराज वंशावली’, जसमा गोपालवंशीय राजाको उल्लेख गरेको छ ।

त्यसको १७ पातोमा पाण्डवका जेठा छोरा युधिष्ठिरको बयान छ । त्यही बेला हिमाल पहाडको काख भूमण्डल (उपत्यका) भित्र भृङ्गरेश्वर भट्टारक विहार गर्दा गोपाल उत्पन्न भए । मालाखाबाट आएका नेप नामका गोपालकी कैली गाईले दूध चुहाउने गरेको ठाउँ खनी हेर्दा श्रीपशुपतिको ज्योतिर्लिङ्ग उत्पत्ति भएको कुरा उल्लेख छ । त्यसै क्रमले गोपालवंशमा प्रथम राजा भूमिगुप्त भए, जसले ८६ वर्ष राज्यभोग गरे । त्यसपछि जय गुप्तले ७३ वर्ष ३ महिना, धर्म गुप्तले ९१ वर्ष ,  हर्ष गुप्तले ६७ वर्ष , भीम गुप्तले ३४वर्ष ,  मणि गुप्तले ३७ वर्ष ,  विष्णु गुप्तले ४६  वर्ष ,  जिन गुप्तले ७१ वर्ष  गरी आठ गुप्त राजाले जम्मा ५०५ वर्ष ,   ३ महिना राज्य गरेको कुरा पनि ‘गोपालराज वंशावली’ बाट बुझिन्छ । त्यस्तै अर्को भाषा वंशावलीमा श्री राजा भूमीगत   ८४वर्ष ,  जय गुप्त वर्ष  ७३, परम गुप्त वर्ष  ९१, हर्ष गुप्त ७७, भीम गुप्त वर्ष  ३८,  मति गुप्त वर्ष  ३७, विष्णु गुप्त ४६ ले मातातीर्थमा ठूलो गौशाला बनाई ब्राह्मणको रक्षा गरी शासन चलाए ।

यस वंशावली हेर्दा गोपालवंशीले जम्मा ४३६ वर्ष   ३ महिना राज्य गरेको कुरा थाहा पाइन्छ । नेपालको इतिहास लेख्नेले माथिका स्रोत हेरेर लेखेको देखिन्छ । यस्ता वर्णन तथ्यपरक नभएको हुँदा नेपालको प्राग्इतिहास गंजागोल बनेको छ । लिङ्गपूजक जाति गोपालहरूको विरोधमा ओर्लिए । थोरै संख्यामा रहेका चलाख गोपालहरूले लिङ्गदेव पुज्ने शर्तमा सम्झौता गरे । चलाख गोपालहरूले आफ्नो गोत्रकी विवाहयोग्य कन्याहरू पनि दिए । सम्झौतापछि सम्पूर्ण जाति एक भयो र तिनीहरूको सरदार (गणपति) बन्यो भुक्तमान । केहीबेर छाएको कालो बादल हट्यो । वर्तमान र भविष्यको बीचमा अरू केही आउन सक्तैन । भावुकतावश कुनै घटना घट्यो र त्यसको समाधान चाह्यो भने समाजले सम्मान दिन्छ । लोकमत बनाउन र प्रकट गर्न गणपति सिपालु हुनुपर्दछ । देशका लागि जातिका लागि कसैले केही नगरोस्, इतिहासबाट पाठ सिकेर वर्तमान अनुकूल भविष्य बनाउने चाहना भए पनि हुन सक्दैन । यदि इतिहासको गुण र स्वभाव चिन्न सकियो भने स्वीकार गर्न सकिन्छ कि वर्तमान सुखमय बनाउन सकिनेछ । व्यवहारमा नै भविष्य निर्भर गर्दछ ।

देशको स्थितिभन्दा पहिले व्यक्तिलाई घरले छुन्छ । त्यो यसकारणले कि हृदयलाई स्थितिले छुने गरेको छ । व्यक्तिले अरू कुराभन्दा पनि मनस्थितिलाई बुझ्ने गर्दछ ।

यस्तो गर्नु भनेको व्यक्तिका लागि आनन्दको होइन, मुक्तभावको होइन । 

नेपालमा औसत मानिसको यही अवस्था छ । मानसिक स्थिति विषम भएको छ । 

योजनाहरूको प्रतिवेदनले के भन्छ, धेरैलाई थाहा हुँदैन । सधै पत्रिका पढ्नेले शिलान्यास हुने गरेको थाहा पाएकै हुन्छ । नकारात्मक सोचलाई उपेक्षा गरेर भविष्यलाई सुखमय बनाउन वर्तमानमा हामी कति सजग छौं, त्यो हेरिनुपर्छ । आसक्ति भएन भने मानिस टिक्न, हिँड्न पनि सक्दैन । नेपालमा तनाव र अविश्वासको वातावरण व्याप्त छ पक्कै पनि यसको मूलमा दूई विरोधी आसक्तिहरूले काम गरेका छन् । प्रत्येकलाई आफ्नो देश प्यारो लाग्छ, चालचलन (रीतिरिवाज) प्यारो लाग्छ । द्वैष बढेको अवस्थामा सम्झौताबाहेक अर्को उपाय हुँदैन, प्रेमलाई आफ्नो बनाउनका लागि गोपालले सम्झौता गरेको हुँदा, सबैको बन्नसके । यिनीहरूले कृषि नै सभ्यताको जननी भएको निचोड निकालेका थिए ।

धेरैअघि आएको ठुलो भूकम्पले बाग्मतीको निकासद्वार चोभारमा थुनिनाले अहिलेको कालीमाटी, थापाथली, मैतिदेवी लगायतका होचा भूभाग जलमग्न भएको थियो । कृषियोग्य भूमि खोज्ने क्रम सुरु गरे । 

दहको रूपमा लामो समय परिणत भएको भूमि निकाल्ने सोच बनाए । यसका लागि चोभारको डाँडो काटी पानी निकाल्ने कुरो उठ्यो । चोभारको डाँडा काटी पानी निकाल्ने कुराको विरोध बाणासुरले ग¥यो । बाणासुरको विरोधले चर्को रूप लियो । गोपालहरू उसको वध गर्ने निर्णयमा पुगे । वध गर्न लागेको थाहा पाएर वाणासुर थानकोट (शोणितपुर) मा गयो । थोरै समयमा उसले निकै लडाकाहरू सङ्गठित पारेको थियो । तब पनि गोपालहरूले त्यही गएर वध गरेरै छाडे । 

गोपाल सरदार भुक्तमानले वाणासुरकी छोरी चित्रलेखासँग विवाह ग¥यो । कतिपयले चित्रलेखाको नामबाट उपत्यका प्रवेश गर्दा छिचोल्नुपर्ने पर्वतको नाम चित्रागिरी (वर्तमानमा चन्द्रागिरी) राखीयो भनी भन्ने गर्छन् ।  

वाणसुर प्रगति चाहँदैनथ्यो, ऊ भयको साम्राज्य खडा गर्न चाहन्थ्यो । उसमा सामूहिक प्रगतिको कामना थिएन । गोपालमा उपासना थियो, सबैको र सबमा हित व्याप्त सत्य थियो । गणतन्त्रमा कुनै एक व्यक्तिको दम्भ र दर्प, कुनै एकको बल र अभिमान स्वार्थ सम्मान त्यहाँ हुन सक्दैन अनि सम्पूर्ण गणका मानिसहरूले परिश्रम गरे ।

बाग्मती नदी थुनिएको स्थान चोभार परिश्रमको केन्द्र थियो । अथक प्रयत्नको जित भयो । परिश्रम सफल बन्दा मुहार हसिलो हुन्छ र मन हास्न थाल्दछ । प्रकृति पनि रमाउँदछ । दहको पानी निस्कदा कति रोचक देखिएको थियो होला । परिश्रम सफल भएकोमा उत्सव गरे होलान् । वर्तमानलाई मात्र हेरी भुल्नेहरूले इतिहासको वास्ता गर्दैनन् । अथक प्रयत्नले चोभारको पहरा वि.पू. ४००० ताका ताछिएको हुनसक्छ । निकास खुलेपछि पानी बग्यो ।

बाग्मतीको पानी बग्नाले खेतीयोग्य थुप्रै भूभाग प्रकट भयो । गोपाललाई यस कार्यले अमर बनाएको छ । गोपाल नेपालको प्रथम जाति नभए पनि बाग्मतीसँग पर्याय रूपमा नाम जोडिन पुगेको छ । कसैको महान् कार्यलाई अतिरञ्जित बनाउन खोज्नु अथवा नकार्नु राम्रो होइन । श्रीकृष्ण र सुदर्शन चक्र बिचमा ल्याइदिंदा गोपाल इतिहासमा निरीह बन्न पुग्यो । अँध्यारो पारिएको इतिहासबाट यस्ता कुराहरू खोजेर अगाडि ल्याउनु आजको युग धर्म हो । संगठित स्वार्थबलले चोभारको पहरा पन्छाउन सक्यो । संगठित स्वार्थ भनेको मानवतालाई एक बनाउनु हो र युद्ध र त्यसको आवश्यकतालाई निःशेष गर्नु हो । यहाँ एउटा यथार्थ छ । संगठित स्वार्थले सामूहिक हितको क्षमता बढाउने सम्भावना दियो । हृदयहृदयमा उत्साह जगायो । संगठित शक्ति अमोघ हुन्छ भन्ने जानकारी गरायो ।

राम्रो कामको प्रभाव पछिसम्म रहन्छ । यो व्यक्तिव्यक्तिको आधारमा हुन सक्तछ । परिश्रम खन्याउनुपर्ने स्थानको कमी छैन । आवश्यकता परिश्रम खन्याउने नेतृत्व गर्ने व्यक्तिको छ । यस्ता नेतृत्व सक्षम व्यक्ति युगमा कहिलेकाहीँ मात्र जन्मने गर्छन् । व्यापक संगठित शक्तिको भरोसा गोपालमा थियो । समयअनुसार नचलेमा वंशलोप हुन सक्छ । यो सोच रहेकोले नै विषम परिस्थितिमा सही निर्णय लिएर इतिहासको पानामा स्वच्छ अक्षरमा जीवित रहन सक्यो ।  

प्रकाशित: २ कार्तिक २०७७ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App