१० कार्तिक २०७७ सोमबार
कला

रातो कलम

सूर्यप्रसाद लाकोजू

 

पुरानो कुराको यादले मानिसलाई सुखद् अनुभूत गराउँदो रहेछ । हुन  त जीवनका सबै स्मृतिहरू मंसिर–पुषको घामजस्तै पारिलो हुँदैनन् । थुप्रै स्मरणहरू हिउँदको तुषारोभित्र कठयाङ्ग्रिएर  रहेका हुन्छन् । जिन्दगीमा भएका सुख र दुखका यी दुई पाटाले मानिसलाई जीवन जिउने उत्साह, प्रेरणा, हौसला, ज्ञान दिइरहेको हुन्छ । स्मृति दुखद होस् वा सुखद अनि मीठो होस् या तितो मेरो विचारमा कुनै पनि स्मृतिले हामीलाई पाठ सिकाएर जान्छ । अहिले स्मृतिका बारेमा विचार पोख्नतिर लाग्नुभन्दा पनि म मेरो बाल्यकालतर्फ आफ्नो स्मृतिलाई डोह¥याउन चाहन्छु ।

हामी काठमाडौको स्वयम्भूबाट यहाँ पनौती बसाइँ सरेर आएका थियौं । मेरो पिताजी उतै जन्मिनुभएको रहेछ । उहाँ  दूधे बालक छँदा मेरा पितामह आफ्नो परिवारलाई लिएर यता आएका रहेछन् । मेरा पिताजीका चार भाइमध्ये पिताजी माहिला हुनुहुन्थ्यो । पनौती पिताजीको मावली । यता हाम्रो परिवार आएको बारे छुट्टै कहानी छ । 

म परिवारको जेठो सन्तान । आमा, बुबाको काखमा हुर्किएँ । पछि मेरा अन्य दुई भाइ जन्मे ।  सानामा म रुन्चे थिएँ । रोएर खूबै दुख दिने गर्थें । सानोमा अत्ति रिसाउँथें  पनि । हाम्रो घरको पूर्वतर्फ त्रिवेणी धाम छ । यो पवित्र तीर्थस्थल पनि हो । यसलाई उत्तर प्रयाग भन्ने गरिन्छ । थुप्रै मानिस आफ्ना धार्मिक आस्थाका कारण यहाँ आउने गर्दछन् । यस स्थानमा आई देवताहरूको दर्शन गर्नाले अनजानमा गरेका सम्पूर्ण पाप पखालिन्छ भन्ने जनविश्वास  छ । म धेरै रुने भएकाले मलाई रुन्चे लाग्यो भनेर बुबाले मलाई बिहान सबेरै त्रिवेणीघाटमा लगेर मुख धुन लगाउनुहुन्थ्यो । त्यसपछि दुबो टिपेर त्रिवेणीको पानीमा चोप्दै काखीमा छर्कनुहुन्थ्यो । त्यसो गरे रुन्चे लागेको निको हुन्छ अथवा हराउँदै जान्छ भन्ने मान्यता रहेको छ ।  यसो गरेको मलाई पटक्कै मन पर्दैनथ्यो तर बुबा हरेक दिन बिहान उठाएर लग्नुहुन्थ्यो । कहिलेकाहीं निदाएकोजस्तो गरेर बस्दा पनि सुख पाइन्नथ्यो ।  अरू समयमा त अल्छी मान्ने मलाई जाडो महिनामा कुनै अपराध गरेपछि दिएको सजायभन्दा कम हुँदैनथ्यो त्यो कर्म । मंसिर–पुष जाडोमा बाटाभरि सेताम्मे तुषारो टेक्दै त्रिवेणीघाटमा गई मुख धोएर काखीमा दुबोले पानी छर्कनुपर्ने ? अहिले सम्झँदा अन्धविश्वास हो कि जस्तो लाग्छ । मलाई जान पटक्कै मन लाग्दैनथ्यो । बुबा फकाएर लैजानुहुन्थ्यो । जोडा याममा पनि तातो ओछयान छोडेर बिहान सबेरै बुबासँग जानु परेर हो वा साँच्चिकै बिहानबिहान त्यहाँ गएर हो मेरो रुन्चे बानीमा धेरै परिवर्तन आइसकेको थियो । अब म धेरै रुन्नथें ।

म सानो छँदा, पढ्न पनि त्यति जाँगर चल्दैनथ्यो । इन्द्रेश्वर मन्दिर प्राङ्गणमा एउटा मोठ थियो । त्यो मोठ रहेको भवनलाई अहिले पनौती सङ्ग्रहालयको रूपमा  विकसित गरिएको छ । त्यहीं पहिले हामी पढ्ने ठाउँ थियो । बुबाले मलाई कक्षा एकमा भर्ना गरिदिनुभएको थियो । त्यहाँ अहिलेको जस्तो डेक्स, बेन्च लगायतका फर्निचरका सामानहरू थिएनन् । बस्नका लागि लामो लम्बाई र छोटो चौडाइ भएको बस्नल मात्रै पुग्ने सुकुल ओछ्याइएको हुन्थ्यो। हामी नेवारहरू भोज खानका लागि त्यस्तो सुकुलको प्रयोग गछौं । त्यसैले हामी त्यस्तो सुकुललाई ‘भ्वयः सुकु’ भन्छौं ।

त्यो बेलाको एउटा घटना मलाई अहिले पनि याद छ ।  म स्कुल जान्न भनेर जिद्धी गरेर बसेको थिएँ । बिहानको खाना पनि खाइन । आमाले गाली गर्नुभयो । उहाँले खाना खाएर स्कुल जा भन्नुभयो  तर  म भने जान तयार थिइनँ । शरीरले पनि मनकै कुरा मान्यो । म डेग चलिन । त्यसपछि बुबाले अनेक तरहले मलाई फकाउनुभयो । खाना खाएपछि स्कुल जाने बेलामा तिलौरी किनिदिन्छु भन्नुभयो । तिलौरा भनेको त्यसबेला निकै चलेको एक प्रकारको मिठाई जस्तै थियो । त्यो मिठाई चाकु र तिलबाट बनाइन्थ्यो । तर अहिलै कतै देखिंदैन । पाँच पैसाको एउटा तिलौरी भन्दै कराउँदै नाङ्लोमा राखेर पनि बेच्न ल्याउने प्रचलन थियो । मलाई गुलियो मन पथ्र्यो । त्यसपछि स्कुल नजाने मेरो विचार वरफजस्तै पग्लन सुरु ग¥यो । मेरो अडान कुन बेला ठोसबाट तरल बन्ने हो थाहा भएन । बुबा फकाउँदै हुनुहुन्थ्यो । म पग्लँदै थिएँ । मैले बुबालाइृ भनें, “मलाई मेरो कक्षाको साथीले जहिले पनि कुट्छ, म स्कुल जान्न ।” यो कुरा सत्य पनि थियो । त्यसपछि बुबाले भन्नुभयो, “तिमीलाई पिट्ने साथीसँग तिमी झगडा नगर । त्यसलाई मीठामीठा कुरा गरेर साथी बनाऊ । त्योसँग निहुँ नखोज ।” 

मैले हुन्छ भने । बुबाको कुरा त्यस बेला त मैले बुझिन तर अहिले बुझ्दैछु

मेरो पारो पूरै घटिसकेको थियो । तैपनि मैले सर्त राख्दै भनें, “मलाई तिलौरी मात्र भएर पुग्दैन । पढ्नका लागि रातो कलम पनि चाहिन्छ ।”

बुबाले हुन्छ म किनिदिन्छु भन्नुभयो । सानैदेखि मलाई रङमा रातो र खानामा गुलियो औधी मनपर्छ ।

त्यसपछि खुशी भएर खाना खाएँ । स्कुल घर नजिकै थियो ।उहाँले घरसँगैको सानो पसलबाट तिलौरी किनिदिनुभयो । त्यसपछि मलाई पहिला स्कुल पु¥याइदिनुभयो । कलम किन्ने पसल केही पर रहेकाले मलाई स्कुल पु¥याएर बुबा कलम किन्न जानुभयो । स्कुल पुगेपछि छाती फुलाएर तिलौरी खाएँ । अनि साथीहरूलाई धाक देखाउँदै भने, “आज मलाई मेरा बाले रातो कलम किनिदिनुहुन्छ ।”

त्यो बेला सिसाकलमको चलन याद भएन । सिलोटमा खरीले अक्षर लेखेर कहिलेकाहीँ बुबाले पढाएको याद छ । त्यो बेला हामी प्राय निलो कलमले लेख्थ्यौं । कसैकसैले रातो कलम ल्याउँदा त्यसको शान नै अर्को हुन्थ्यो । मेरो पनि  रातो कलम आउने भयो भनेर म मक्ख थिएँ । बुबाले कलम ल्याइदिनुभयो । बाहिरको कलमको आवरण रातो थियो । तर लेखेर हेर्दा निलो सरयो । मेरो अनुहार कलमको सराईजस्तै निलो भयो । खूबै रिस उठ्यो । रातो कलम भनेको त निलो पो ल्याइदिनुभएछ भनेर रोएँ । यो रातो होइन त भनेर बुबाले हप्काउनुभयो । उहाँको हप्काइपछि म चूपचाप बसें ।  कहिल्यै गाली नगर्ने बुबाको हप्काइबाट म डराउनुको बदला आश्चर्यमा परें । त्यसैबेला कक्षा शिक्षक पनि आइसक्नुभएको थियो । बुबाको गालीबाट म चूपचाप बसें तर मेरो अनुहारभरि अघिको जस्तो खुशी पोतिएको थिएन । साथीहरूको अगाडि मेरो इज्जत..., मेरो शान.... म दिनभर झोक्राएर बसिरहें ।  

प्रकाशित: २ कार्तिक २०७७ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App