१५ कार्तिक २०७७ शनिबार
कला

कैफियतमा उल्लेख जिन्दगी

कविता

कुमार काफ्ले  

 

गाउँमा छँदा उसले,

कसैका लागि घर ठड्याउन

धरती कोपरेर जग खनेथ्यो

कहिले ढुंगा बोकेथ्यो त कहिले माटो

निदाल र धरानी बोक्दा

उसको काँध सधैं फेदतिरै हुन्थ्यो  

गह्रुंगो समय उसलाई हलुका लाग्थ्यो  

किनकि त्यो बेला  

समय उसको दाहिने थियोे  

र काम सकेपछि हिसाबखातामा

अन्तत उसको नाम अन्तिम छेउमा

कैफियतमा उल्लेख हुन्थ्यो ।

शहर छिरेपछि उसले,

कहिले भारी बोक्यो त

कहिले गाडा ठेल्यो  

कहिले इँटा बोक्यो त  

कहिले मसला घोल्यो  

ढलान सकिएको खुशीमा

सितन र चटनीसँग तीनपाने

सुरुप्प पार्दाको स्वादिलो समय

अनेक रङले भित्तो पोतिएर  

महल ठडिएपछि टिपोट खाताबाट

अन्ततः उसको नाम एक निमेषमा

कैफियतबाट सधैंका लागि मेटिन्थ्यो ।

 

समयको बिरुवा फुल्ने बेलामा

पत्रदलको पत्रपत्रमा लुकीछिपी खेल्दै  

उसको मन पंक्षीझैँ उड्न थाल्छ

बिरामी रात घस्रिरहेको बेला

ऊ ध्वाँसो लागेको घुर्माइलो भित्तामा

पहिले गाउँको घर सम्झन्छ

हो त उसले त्यो सुरे ढुङ्गो  

कसरी मिलाएर राखेको थियोे  

पछि शहरको महल नियाल्छ

भर्खरै जस्तो लाग्छ उसलाई  

अनुपात मिलाएर हालेको  

बालुवा र सिमेन्टको घोलमा  

तपतपी पसीना चुहिँदा

त्यसको रङ कस्तो देखिएको थियोे १

हुस्सुले घायल गरेको चिसो बिहान

तङ्ग्रिन नपाउँदै ढलेको त्यो दिन

स्यालले फलाकिरहेको कालो साँझ

जून दुब्लाउँदै गएको त्यो रात

तारा गनेर टोलाउने फुर्सद  

अहँ, छँदै थिएन उसलाई  

श्रीमती पीडाले छटपटाएको क्षण

भुराभुरी आमा, आमा भनेर

अलापिरहेको त्यो निर्दयी समय

हुचिलको हुहुसँगै सुस्तरी

समयको नदी उकालो बगिरहेको थियोे  

अहिले उसको हाँस्ने समय

अपहरणमा परेर  

भट्टी पसलको  टेबलमा

गजधुम्म पर्खिरहेको थियो  

घरमा बिरामी श्रीमती  

र भोका केटाकेटी  

प्रतीक्षा गरिरहेको बेला

ऊ लर्खरिदैं बाटो नाप्दा

पृथ्वीको गुरुत्वबलले पनि  

उसका खुट्टालाई ठेगान लगाउन

नसकिरहेको त्यो समय

ऊ फिस्स हाँस्दै  नियालिरहेथ्यो

कैफियतमा उल्लेख भएको  

आफ्नो जिन्दगी ।

प्रकाशित: १ कार्तिक २०७७ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App