४ वैशाख २०८१ मंगलबार
कला

मोहनी र दशैँ एक पर्व एकै उत्सव

दशैँ नेपालीको महान् चाड। महान् चाड भएकैले रोजीरोटीका लागि स्वर्गभन्दा प्यारो घर छाडेर टाढिएका पनि दशैँमा घर फर्कने गर्छन्, केवल ठूलाबडाको आशीर्वाद अनि कुलदेवीको सुदृष्टिका लागि।  

दशैँको आगमनसँगै बालबालिकादेखि ज्येष्ठ नागरिकबीच पनि एक किसिमले नयाँ उमंग छाएको हुन्छ। यसरी उमेरले नछेकिएको दशैँलाई उपत्यकामा मोहनी भन्ने गरिन्छ। नेवारहरूबीच मोहनी अर्थात् दशैँको सुवास अलि पृथक् छ।  

घरभन्दा मन्दिर बढी रहेको उपत्यकाका नेवारहरू दशैँको आगमनसँगै बिहानै मालश्री धुन बजाउँदै नदी किनारमा स्थापित नौ विभिन्न देवी पीठमा दैनिक रूपमा तीर्थयात्राका लागि पुग्ने गर्छन्। गैरनेवार समुदायले नवरात्र अवधिभर, शैलपुत्री, स्कन्दमाता, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, महागौरी र सिद्धिदात्रीलाई नवदुर्गाका रूपमा आराधना गर्ने गरिन्छ। नेवार समुदायले यस अवधिभर ब्रह्मायणी, माहेश्वरी, वैष्णवी, कौमारी, भद्रकाली, इन्द्रायणी, वाराही, महाकाली र महालक्ष्मीलाई पुज्ने गर्छन्। नवदुर्गाको नाममा पृथक् रहे पनि चण्डी पुस्तकमा दुवै देवीहरूलाई नवदुर्गाका रूपमा राखिएको छ।

देवी भागवतमा उल्लेख अनुसार चारवटा दशैँमध्ये शारदीय दशैँमा नदीको पवित्र बालुवा वा बलौटे माटो नवरात्रकुथि अर्थात् दशैँघरमा फिँजाइ जौको जमरा रोपेपछि सुरु हुने रौनक विजयादशमीका दिन टीका प्रसाद ग्रहणसँगै समापन हुन्छ। तर, अहिले नेवारहरूले मल्लकालीन नवरात्रकुथि शब्द उच्चारण पनि गर्न चाहँदैनन्, बरु नःलास्वाँकुथि भन्न रुचाउँछन्। दशैँ र मोहनी फरक छ भन्न लालायित छन्। जमरा रोपेपछि प्रारम्भ हुने दशैँको मुख्य गतिविधि महासप्तमीका दिनदेखि महानवमीसम्म नवरात्रकुथिमा स्थापित नवरात्र भगवतीको आराधना र उपासनामा दशैँका हिमायतीले समय खर्चिने गर्छन्। सप्तमीका दिन उपत्यकाका विभिन्न तलेजुलाई पूजास्थलमा सवारी गराइन्छ।  

दशैँको महाअष्टमीका दिन कुलदेवीको सुदृष्टिका लागि साधना गरेपछि नेवार समाजमा सोही रात कुलका सबै एकै स्थानमा जम्मा भई केराको पातमा भोज खाने गरिन्छ। विशेषगरी काठमाडौं उपत्यकामा बढी मात्रामा धान फल्ने भएकाले दशैँको अवसरमा जमरा राखेपछि चामलको भात खानु हुन्न भनी चिउरा खाने गरिन्छ। तर, समयले धेरै फेरबदल ल्याइसकेकाले हाल ‘कुलछि भ्वय्’का दिनदेखि विजयादशमीका दिनसम्म मात्र थरीथरीका व्यञ्जनसहितको चिउराको भोज खाने गरिन्छ। यसलाई मोहनी नेवारको हो भन्नेहरूले पनि बिर्सन थालेका छन्। अझ नेवारहरूले कुलका सबै मिलेर खाइने भोजलाई समेत दुईमाने भोज (कूछि भ्वय्) भनेर व्याख्या गर्दै दुईमानाका भाँडोमा कपडा कोचेर चिउरा जोख्दै खाने पनि छन्।

नेवार समुदायले दशैँलाई मोहनी भनी आए पनि यस पर्वको ऐतिहासिकता केलाउने हो भने तात्विक भेद पाइँदैन। ऐतिहासिक रूपमा हालसम्म दशैँलाई मोहनी भनी कतै लेखिएको छैन। एकै देवीलाई समुदाय स्तरमा विभिन्न नामले पुकारेजस्तै मोहनी भनेको बुझिन्छ।

अष्टमीका दिन कुलछि भोज खाइसकेपछि महानवमीका दिनदेखि मातृशक्तिको उपासना र साधना गरिन्छ। पेसागत रूपमा कृषि पेसा गर्नेले कुटो कोदालोलाई धोइ–पखाली अर्को वर्षका लागि सुरक्षित राख्ने उद्देश्यले नवरात्रकुथिमा स्थापित आराध्यदेवी नवरात्र भगवतीसँगै देवत्वकरण गरी पुजिन्छ। सुनचाँदीका कार्य गर्ने शाक्यका साथै फलामका काम गर्ने नकर्मी, काठको काम गर्ने सिकर्मी, तेलको काम गर्ने मानन्धर, डकर्मी आदि प्राविधिक नेवारले पेसागत रूपमा आवश्यक सामग्रीलाई नै देवीका रूपमा पुज्ने गर्छन्।  

मोहनी र दशैँ एक पर्व एकै उत्सव..

अप्राविधिक नेवारले पुस्तकजस्ता सामग्रीलाई नै देवत्वकरण गरी पुज्ने गर्छन् भने हाल आएर सवारीसाधन पनि पुज्ने परम्पराको विकास भएको छ। यसबाहेक कतिपयले कुलायन परम्परा अनुसार खड्ग स्थापना गरी देवीको आराधना गर्ने गर्छन्। यसरी पूजा गर्दा नेवार समुदायबीच पनि विविधता रहेको छ। यसले गर्दा प्रत्येक नेवार समुदायबीच एउटै दशैँभित्र पनि पृथकता देखिन्छ। विशेषतः कुलदेवी वा आगमदेवीको साधना गरिने यस दिन माटोको भुडुल्का अर्थात् थापिं स्थापना गरिन्छ। तीनवटा छुट्टाछुट्टै भाँडोमा रातो जाँड, सेतो जाँड र रक्सीले भरेर त्यसलाई कलशको रूप दिइने थापिंमाथि माटाको पालाले छोपी त्यसमाथि चिउरा, अदुवा, भटमास, लसुन र साँधेको छोयला राखिसकेपछि सोही नवरात्रकुथिमा बलिदिइएको बोका, हाँस वा भेडाको आलो मासु पनि राखिन्छ। अन्य समुदायको तुलनामा केही पृथक् भएकै कारण कतिपय नेवारले यस पूजाको आधारमा दशैँ र मोहनी फरक छ पनि भन्ने गर्छन्। मूल रूपमा अन्य गैरनेवार समुदायले पनि यस दिन बलि दिन्छन्, नेवार समुदायले दिइने बलिलाई स्याकोत्याको भनी चिनिँदै आएको छ। तर यसलाई देवीसमक्ष शक्ति साधना गर्ने पद्धतिका रूपमा लिनुपर्छ। यसरी शक्ति साधना गरिने यस पर्वमा कतिपय नेवारले यस दिन थापिंमाथि राँगाको मासु टुक्रा हाल्ने परम्परा छ। स्वभावगत रूपमा राँगाको मासुलाई पूजाकोठीमा प्रवेश गराएका नेवारले कुलदेवीसमक्ष दिइएको बलिको मासु प्रयोग गर्नुपर्ने भए पनि राँगालाई घरको कोठा चोटामा लगी बलि दिन नसकिने भएकाले तलेजुमा दिइएको बलिको मासुको टुक्रालाई नै आ–आफ्नो घरमा स्थापना गर्छन्। तलेजुमा दिइएको बलिको मासुमाथि पहुँच नहुनेले भक्तपुरको ब्रह्मायणी पुगी नवदुर्गागण समक्ष दिइएको राँगाको मासुको टुक्रालाई नै नवरात्रकुथिमा स्थापना गर्छन्। यसरी बलि दिइएको मासुमाथि पहुँच नहुनेले मासु व्यवसायीसँग किनिएको मासुलाई भए पनि प्रसादका रूपमा थापिंमाथि स्थापना गर्ने चलन छ।

शक्ति साधनाको बेजोड नमुनाका रूपमा रहेको नवमीमा गरिने पूजापद्धतिमा नेवार र अन्यबीच त केही भिन्नता छ नै, समग्रमा भन्ने हो भने नेवारहरूबीच पनि भिन्नता छ। यस दिन नवरात्रकुथिमा दिइएको बलिको सिकाभू बाँडिन्छ। बोका, भेडा भए पनि ती जीवको टाउकोलाई आठ भाग गरी जेष्ठ नागरिकदेखि प्रसादको रूपमा वितरण गर्नुलाई सिकाभू भनिन्छ। हाँस वा अन्य पक्षीजन्य भए टाउको, पखेटाहरू सिकाभू भनी बाँड्ने गरिन्छ।

मोहनी र दशैँ एकै हुन् ?

नेवार समुदायले दशैँलाई मोहनी भनी आए पनि यस पर्वको ऐतिहासिकता केलाउने हो भने ताŒिवक भेद पाइँदैन। ऐतिहासिक रूपमा हालसम्म दशैँलाई मोहनी भनी कतै लेखिएको छैन। एकै देवीलाई समुदाय स्तरमा विभिन्न नामले पुकारेजस्तै मोहनी भनेको बुझिन्छ। इतिहासकार डा. महेशराज पन्तका अनुसार नेपालमा पहिलोपटक दशैँ मनाएको इतिहास वि.सं. १४३२ मा देखिन्छ। मध्यकालदेखि अत्यन्त प्रचलनमा रहेको दशैँबारे लेखिएको अभिलेख नेपालभाषामा रहे पनि मोहनीलाई नवरात्र नै लेखिएको छ। नेपाली र हिन्दीको दश दिनबाट दशमी अर्थात् दश दिनसम्म मनाइने भएकाले दशैँ भनी चिनिएको मोहनीको अन्तिम दिन नेवार समुदायले महानवमीसम्म गरिएको पूजाको प्रसाद ग्रहण गर्नेबाहेक अन्य गरी आएको पाइँदैन।  

विविधताले भरिएको दशैँमा नेवार समुदायले शक्ति साधना र उपासना गर्ने गर्छन्, विशेष गरी आठ विभिन्न देवीको आराधना गरिन्छ। नवरात्रको अवसरमा गरिने पूजामा ‘मोहिनी देव्यै नमः, संभिनि देव्यै नमः, आकर्षिणी देव्यै नमः, जाम्भिनी देव्यै नमः, स्तम्भिणी देव्यै नमः, वशंकरी देव्यै नमः, मारिणी देव्यै नमः र उच्चातिणी देव्यै नमः’ भनी पुजिन्छ। यसरी मोहिनी देवीको आराधना गर्ने गरे पनि तन्त्रदीक्षा नलिएका नेवार समुदायले यी देवीको पूजा गर्ने पद्धतिलाई निरन्तरता दिएको पाइँदैन।  

ध्वाँसोको नाममा पर्वको नामाकरणका प्रयास  

उपत्यकामा दशैँको अवसरमा अक्षता मुछिएको रातो टीका, जमरा, रातो र सेतो कपडाको माला प्रसादसँगै ध्वाँसोको टीका पनि लगाइन्छ। कुलभोजको अवसरमा नौसुते नौवटा कपासको बत्ती तोरीको तेलमा बाली त्यसको ध्वाँसो माटोको पालामा थाप्ने गरिन्छ। यसरी थापिएको ध्वाँसो दशमीका दिन कुलायन परम्परा अनुसार सबैलाई दर्शन गराई कान्छी औँला वा सिन्काले निधारमा लगाइदिने गरिन्छ। यसरी लगाइने ध्वाँसोलाई मोहनी भनिएकै कारण कतिपय नेवारले ध्वाँसो थाप्ने पर्वको नाममा मोहनी र दशैँ फरक हो भन्छन्। तर, तान्त्रिक रूपमा यसरी थापिएको ध्वाँसोले शरीरमा तेजतत्वको वृद्धि गर्ने भएकाले विशेष गरी तान्त्रिक पूजाहरूमा यस्ता ध्वाँसो अनिवार्य छ। उपत्यकामा सत्यनारायण पूजा र देवदेवीसमक्ष बलि दिँदा समेत ध्वाँसो थापी टीका ग्रहण गर्ने परम्परा छ।  

पायो पर्व र दशैँबीचको सामीप्यता  

पायो जात्रा अर्थात् खड्गयात्राका आधारमा उपत्यकामा दशैँ र मोहनी फरक छ भनी देखाउने प्रयत्न गरेको पाइन्छ। ऐतिहासिक रूपमा पहिलोपटक वि.सं. १४३९ मा पायोजात्रा गरिएको देखिन्छ। राजा जयस्थिति मल्लले आश्विन शुक्ल अष्टमीका दिन भारदारलाई चोकमा भिœयाई एक हजार सात सय वटा ढाल–तरबार दिएको उल्लेख इतिहासमा पाइन्छ। यसरी ढाल तरबार बाँडे पनि पायो जात्रा भनी उल्लेख गरिएको छैन। शत्रुमाथि विजय प्राप्तिका लागि गरिने यस साधनामा सयौँको संख्यामा हतियारसहित प्रदर्शन गरिन्छ, यस आधारमा पनि दशैँको अवसरमा हतियार प्रदर्शन गर्नु नियमित प्रक्रियाका रूपमा लिन सकिन्छ। पायो पर्व हतियारसहित मात्रै गर्नुपर्छ भन्ने पनि रहेको छैन। कतिपय स्थानमा सुकुन्दाको पायो निकाल्ने गरिन्छ भने कतिपय नेवारले पेसागत रूपमा आवश्यक सामग्रीको प्रदर्शन गर्ने गर्छन्। त्यसमाथि दशैँमा नेवारले मात्र होइन, पश्चिम नेपालका मष्टो परम्परामा पनि हतियार प्रदर्शन गरिन्छ। शत्रुनाश, आफ्नो क्षेत्राधिकार कायम राख्न र धर्म परम्परालाई स्थापित गर्नका लागि पश्चिम नेपालमा सराय नाच देखाइन्छ। अन्य समुदायले दशैँमा गरिने सराय नाच, खाँडो जगाउने वा मष्टो भने पनि नेवारहरूले यस अवसरमा हतियारसहितको प्रदर्शनलाई चालं भन्ने गर्छन्। चालंमा रुद्रयामल तन्त्रमा उल्लेख भएअनुसार ‘गमनं चार्थ लाभाय क्षमाय विजयाय च शत्रुपक्ष विनाशाय’ अर्थात् ‘म अर्थलाभका लागि जान लागेको छु, विजयका लागि जान लागेको छु, शत्रुपक्षलाई परास्त गरी म फेरि फर्किन्छु’ भनी विजया दशमीका दिन कुलदेवी वा आगमदेवीको टीकाप्रसाद ग्रहणपश्चात् सोही स्थानमा स्थापित खड्ग बोकी नगर वा आफ्नै क्षेत्राधिकारभित्र रहेको स्थानमा प्रदक्षिणा गर्ने गरिन्छ। यसरी खड्ग बोकी प्रदक्षिणापछि अन्तमा राक्षसको चित्रांकृत वा कपडाले बेरिएको कुभिण्डो, उखुको बोट, अदुवाको बोटमाथि खड्ग प्रहार गर्ने गरिन्छ। राक्षसमाथिको विजयको रूपमा कुभिण्डोमाथि प्रहार गरिने यस गतिविधिलाई नेवारले मौलिक भन्ने गर्छन् तर यो विधि मेरुतन्त्रबाट साभार गरिएको देखिन्छ। उक्त ग्रन्थमा लेखिएको छः

कुष्माण्ड, नारिकेलश्च श्रीफलं चेक्षुमेव च  

वस्त्रसंवेष्ठिटं कृत्वा छेदयंच्छुरिकादिभि

एष स्मार्तोबलि प्रोक्ता धम्र्म शास्त्रानुगामिभि  

प्रत्यक्ष हिंसाकर्मलाई स्थान नदिनेहरूले कुभिण्डो, नरिवल, बेल, उखु छेदन गर्ने गरे पनि जीवहिंसा गर्नेहरूले भने स्मार्तहरूले जस्तै सार्वजनिक रूपमा कुभिण्डो, उखु र अदुवामाथि प्रहार गर्दै आएका छन्। यद्यपि बलिलाई प्रश्रय दिनेहरूले नवरात्रकुथिमा जीवबलिलाई निरन्तरता नै दिने गरेका छन्।  

अन्तमा

दशैँलाई विविध नामले नामाकरण गरे पनि मूलतः शक्ति उपासना गर्ने पर्वका रूपमा लिइन्छ। एउटै पर्वलाई दशैँ वा मोहनी भने पनि यी नामाकरण शास्त्रीय नभई लोक प्रचलनको रूपमा मात्र रहेको देखिन्छ। नेवार समुदायबीच पनि पूजा परम्परामा पृथकता एवं विविधता रहेको अवस्थामा अन्य समुदायबीच विविधता देखिए पनि पूजा–परम्पराको तात्विक भेद भने रहेको पाइन्न। तसर्थ, आफू शक्तिशाली हुन, शत्रुमाथि विजय र यशकीर्ति स्थापना गर्नका लागि स्थापित दशैँको नाममा विविधता रहे पनि यसको भावना पवित्र छ। यो मात्र नेपालीको महान् चाडका रूपमा अघि बढाउन सकिन्छ। 

प्रकाशित: १ कार्तिक २०७७ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App