coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

आदिशक्तिको पर्व नवरात्र

आश्विन शुक्लपक्षको नवरात्रलाई शारदीय नवरात्र भनिन्छ,  

जसलाई बडादसैंको रूपमा पनि मनाउने गरिएको छ। आश्विन शुक्लपक्ष प्रतिपदादेखि नवमीसम्मलाई नवरात्र भनेर मनाउने र विशेष रूपमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित दुर्गाका नौ रूपको पूजा गर्ने तथा दशमीका दिन टीका–जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने चलन रहेको छ। यो क्रम  

कतैकतै कोजाग्रत पूर्णिमासम्म रहको पनि पाइन्छ।  

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात् जयन्ती (उत्कृष्ट विजयशालिनी), मङ्गला वा मोक्षप्रदा (आफ्ना भक्तलाई जन्ममरण आदि संसाररूपी बन्धनबाट मोक्ष दिने), काली (प्रलयकालमा सम्पूर्ण सृष्टिलाई नै आफ्नो गाँस बनाउने), भद्रकाली वा सुखप्रदा (आफ्ना भक्तका लागि भद्र, सुख वा मंगल स्वीकार गर्ने), कपालिनी (हातमा कपाल र गलामा मुण्डमाला धारण गरेकी), दुर्गा (अष्टाङ्गयोग, कर्म र उपासनारूपी दुःसाध्य साधनाले मात्र प्राप्त हुने), क्षमा (जगत्कै जननी तथा अत्यन्त करुणामय स्वभाव भएकी हुनाले आफ्ना भक्तलगायत सबैको अपराधलाई क्षमा गर्ने), शिवा (सबैको शिव वा कल्याण गर्ने), धात्री (सम्पूर्ण प्रपञ्च वा व्यवहार धारण गर्ने), स्वाहा (स्वाहा रूपमा यज्ञको भाग ग्रहण गरेर सबै देवताहरूको पोषण गर्ने) र स्वधा

(स्वधा रूपमा श्राद्ध र तर्पण स्वीकार गरी सम्पूर्ण पितृहरूलाई पोषण गर्ने) नाम गरेकी हे प्रसिद्ध जगदम्बिके ! तिमीलाई मेरो नमस्कार छ।

सनातन वैदिक हिन्दु धर्म अनादि कालदेखि सुरु भएको शास्त्रवेत्ताहरूको मत छ। हिन्दूधर्ममा वैदिक आदिशक्ति साधनाका अनुयायी वा उपासक भएकाले शक्ति, शान्ति र मुक्तिका लागि शक्तिको उपासना महŒवपूर्ण मानिन्छ। तसर्थ नवदुर्गा उपासनाले दैविक साक्षात्कार गराउनमा सहयोग पुग्छ भन्ने शास्त्रीय तर्क छ।

अथर्ववेद, मार्कण्डेय पुराण, देवीभागवत जस्ता प्राचीन ग्रन्थमा देवी आदिशक्ति नै मूल हुन् भनिएको छ। तिनै आदिशक्ति स्वरूपा (दुर्गा)को उपासना गर्ने पर्व वा अवसर हो नवरात्र वा नौरथा। दुर्गाले विभिन्न समय र परिस्थितिमा विभिन्न रूप धारण गरी मानवलगायत सम्पूर्ण प्राणीको कल्याण गर्ने गरेको देवीभागवतमा उल्लेख छ। उनै भवानीले मधुकैटभ, चण्ड–मुण्ड, धुम्रलोचन, महिषासुर, रक्तबीज, निशुम्भ, शुम्भआदि दानवीय शक्तिको नाश गरी जगत्को कल्याण गरेको शास्त्रीय मान्यताका आधारमा नवरात्रमा नवदुर्गाको पूजा गरिन्छ। मार्कण्डेय पुराणमा देवी दुर्गा सबै प्राणीमा बुद्धि, निद्रा, भोक, छाया, शक्ति, तृष्णा, क्षमा, जाति, कान्ति, लज्जा, शान्ति, श्रद्धा, लक्ष्मी, वृत्ति, स्मृति, दया, मातृ, तुष्टि, भ्रान्ति आदि रूपमा रहन्छिन् भनिएको छ।  

एक संवत्सर (वर्ष) मा चारवटा नवरात्र हुन्छन्ः माघ शुक्लपक्ष, चैत्र शुक्लपक्ष, आषाढ शुक्लपक्ष र आश्विन शुक्लपक्ष। तीमध्ये चैत्र शुक्लपक्ष र आश्विन शुक्लपक्षको नवरात्रलाई विशेष महत्वका साथ देवीभागवतमा उल्लेख गरिएको पाइन्छ।

आश्विने च तथा चैत्रे शुक्ले पक्षे नराधिपः

नवरात्रोपवासो वै कर्तव्यः शुभमिच्छता।

अर्थात् आश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवरात्र महŒवपूर्ण भएकाले मनोकामना साधक वा भक्तहरूले सो अवसरमा जगज्जननी दुर्गा भवानीको पूजा–आराधना र साधना गर्नुपर्छ। नवरात्र भनेको नौ दिनको समय हो। आश्विन शुक्लपक्षको नवरात्रलाई शारदीय नवरात्र भनिन्छ, जसलाई बडादसैंको रूपमा पनि मनाउने गरिएको छ। आश्विन शुक्लपक्ष प्रतिपदादेखि नवमीसम्मलाई नवरात्र भनेर मनाउने र विशेष रूपमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित दुर्गाका नौ रूपको पूजा गर्ने तथा दशमीका दिन टीका–जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने चलन रहेको छ। यो क्रम कतैकतै कोजाग्रत पूर्णिमासम्म रहको पनि पाइन्छ।  

सनातन वैदिक हिन्दु धर्म अनादि कालदेखि सुरु भएको शास्त्रवेत्ताहरूको मत छ। हिन्दूधर्ममा वैदिक आदिशक्ति साधनाका अनुयायी वा उपासक भएकाले शक्ति, शान्ति र मुक्तिका लागि शक्तिको उपासना महत्वपूर्ण मानिन्छ। तसर्थ नवदुर्गा उपासनाले दैविक साक्षात्कार गराउनमा सहयोग पुग्छ भन्ने शास्त्रीय तर्क छ।

दुर्गाका नौ रूप

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्।।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।।

अर्थात् नवरात्रमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने शास्त्रीय मान्यता रहेको छ। यसमा पनि पहिलो दिन घटस्थापना, सातौं दिन फूलपाती, आठौं दिन महाअष्टमी, नवौं दिन महानवमी र विजयादशमीलाई विशेष रूपमा लिएको पाइन्छ।

पहिलो दिन (घटस्थापना)  

नवरात्रको पहिलो दिन आश्विन शुक्लको प्रतिपदा तिथिलाई घटस्थापना भनिन्छ। यस दिन घट (कलश) स्थापना गरी सम्पूर्ण देवीदेवताको आह्वान गरिन्छ। यस दिन बिहानै उठी आत्मशुद्धि गरी नदीकिनार वा चोखो ठाउँको बालुवा÷माटो ल्याएर विशेष गरी जौको जमरा राख्ने चलन छ। जौलाई देवकार्यमा अत्यावश्यक वस्तु मानिन्छ। साथै भगवती जगज्जननीलाई अत्यन्तै मन पर्ने भएकाले उनलाई खुसी पार्न पनि जमरा राख्ने चलन चलेको हो। जमरासँगै माटाको वा अन्य धातुको जलपूर्ण घडा (कलश) थापी वरिपरि नौवटी देवीको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा उच्च आसन बनाई लेपन गरिन्छ र घडावरिपरि जौ रोपिन्छ। साथै तामाको थालीमा चन्दन वा केशरले षट्कोण र त्यसको बाहिरपट्टि अष्टदल कमलको आकार तयार पारी ‘नवाक्षरस्य मन्त्रस्य बीजानि विलिखेत्ततः’ अर्थात् यो ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र लेखी महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा श्री दुर्गा भवानीको विधिपूर्वक न्यासध्यान गरी स्थापना र प्राणप्रतिष्ठा गरेर षोडशोपचारले पूजा गर्नु भनिएको छ। दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र १०८ पटक जपी नवरात्रभर प्रत्येक दिन दुर्गा सप्तशती या चण्डीपाठ, सकेसम्म प्रत्येक दिन १०८ हवन र कन्याको पूजा गर्नुपर्ने देवीभागवतमा उल्लेख छ।  

कालिका पुराणमा घट वा कलशमा सम्पूर्ण देवीदेवता, सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदीनाला एवं तीर्थहरू रहन्छन् भनिएको छ। साथै कलशमा अष्टमंगलको शुभ चिह्न समाहित भएको मानिन्छ। यिनै शास्त्रीय आधारमा यस दिनलाई घटस्थापना भनी मनाउन थालिएको हो।  

यस दिनदेखि नवमीसम्म घरको पूजाकोठा वा देवीघरमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शंख, घण्टी, डमरु आदिको धुनसहित दुर्गासप्तशती (चण्डी), कालिकास्तोत्र, दुर्गाकवच, देवीभागवतआदि पाठ गर्ने चलन रहेको छ। पूजापछि शास्त्रीय विधानअनुसार बलि दिएर पूजा विसर्जन गर्ने गरिन्छ ।

यस दिन ‘शैलपुत्री’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। पर्वतराज हिमालयकी पुत्रीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा उल्लेख छ। उनको आराधना गर्नाले धनधान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारका मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। शैलपुत्रीलाई वैज्ञानिक रूपमा सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा लिइन्छ। यस दिन दुई वर्षकी कन्यालाई ‘कुमारीदेवी’ को नामले पूजा गर्ने परम्परा छ। उनको उपासकले आफ्नो मनलाई ‘मूलाधार’ चक्रमा स्थिर गर्ने गर्दछन्। उनलाई खुसी पार्न ‘ॐ ऐं ह्रीं क्लीं शैलपुœयै नमः’ भनेर जप गरिन्छ

दोस्रो दिन  

नित्य पूजासँगै ‘ब्रह्मचारिणी’स्वरूपा दुर्गा भवानीको पूजा गरिन्छ। ब्रह्माको आचरणमा रही कठोर तपस्या गरेकी र शिरमा अर्धचन्द्र तथा नाना प्रकारका आभूषण धारण गरेकी हुनाले ब्रह्मचारिणी नाम रहन गएको हो। उनले हिमालय कन्याको रूपमा जन्मिएर भगवान् शिवलाई पति पाऊँ भनी तपस्या गरेकी थिइन्। ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य जीवन सुखी रहने बताइन्छ। उनलाई वैज्ञानिक दृष्टिले आकर्षण तथा चुम्बकीय शक्तिको स्वरूप मानिन्छ। यस दिन तीन वर्षकी कन्यालाई ‘त्रिमूर्ति’ देवीका रूपमा कुमारीपूजा गर्ने चलन छ।  

साधकले यस दिन आफ्नो मन उनको चरणमा लगाउँछन्। उनलाई खुसी पार्न ‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नमः’ भनेर जप गरिन्छ।

तेस्रो दिन

नित्य पूजासँगै ‘चन्द्रघण्टा’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। उनको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले उनको नाम चन्द्रघण्टा रहन गएको हो। उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ। यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजललगायत सामग्री चढाइन्छ। नित्य पूजाअर्चनाका क्रममा साधकहरू मणिपुर चक्रमा उनको ध्यान गर्दछन्। विभिन्न शारीरिक तथा मानसिक कष्टबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रूपमा यिनलाई पुजिन्छ। उनलाई खुसी पार्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ भनेर जप गरिन्छ।

चौथो दिन  

नित्य पूजासँगै कुष्माण्डा माताको पूजाआराधना गरिन्छ। जगज्जननीले आफ्नो हाँसोद्वारा ब्रह्माण्डको उत्पत्ति गरेकीले दुर्गादेवीको नाम कुष्माण्डा रहन गएको श्रुतिशास्त्रमा उल्लेख छ। तन्त्रअनुसार साधकहरूले अनाहत चक्रमा कुष्माण्डा देवीको स्वरूपको ध्यान गर्दै मनलाई स्थिर गर्छन्। जुन शक्तिको आराधनाले दुःखकष्ट, रोगव्याधि हटेर आयु, सन्तान, यश, कीर्ति, बल प्राप्त हुने शास्त्रमा उल्लेख छ।  

कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ। यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने र कुष्माण्डा देवीलाई विशेष रूपमा कचौरामा मधुपर्क (मह र दही) चढाउने विधि छ। रोग, दोष, शोकको निवृत्ति तथा यश, बल वा आयु वृद्धिका लागि माता कुष्माण्डालाई पूजा गर्ने र ‘ॐ कुष्माण्डायै नमः’ भनेर जप गर्ने शास्त्रीय मान्यता रहेको छ।

पाँचौं दिन

नित्य पूजासँगै स्कन्द माताको पूजा गरिन्छ। दुर्गा माताको पाँचौं रूप कार्तिकेयकी माताको रूपमा भएको र कमलको आसनमा बस्न रुचाउने भएकीले यो स्वरूपलाई पद्मासना पनि भनिन्छ। स्कन्दमाताका चारमध्ये दायाँ र बायाँतिरका माथिल्ला दुई हातमा कमलको फूल र काखमा षडानन कुमारको बालरूपलाई लिएको स्वरूपमा मानिन्छ। बायाँतर्फको तल्लो हातले वरमुद्रा धारण गरेकी स्कन्दमाताको वर्ण हिउँजस्तो सेतो मानिएको छ। स्कन्दमाता भवानीको उपासना गर्नाले सबै प्रकारका इच्छापूर्ति हुने मान्यता छ। स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ। यस दिन ६ वर्षकी कन्यालाई ‘कालिका’ नामले पूजा गरी विशेष रूपमा साडी, ओढ्ने आदि वस्त्र चढाउने विधि छ। पूजाआराधनाका क्रममा विशुद्ध चक्रमा उनको ध्यान गरिन्छ। सुख, शान्ति तथा मोक्षकी देवीको रूपमा स्कन्दमातालाई लिइने र उनलाई खुसी पार्न ‘ॐ ऐं ह्रीं क्लीं स्कन्दमातायै नमः’ भनेर जप गरिन्छ।

छैटौं दिन  

नित्य पूजासँगै आद्यशक्ति कात्यायनीको पूजा–आराधना गरिन्छ। महिषासुर वध गरेकाले उनी महिषासुरमर्दिनी नामले पनि चिनिन्छिन्। भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन व्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेको शास्त्रमा उल्लेख छ। कात्यायनी देवीको पूजापाठको प्रभावले अविवाहिताको यथाशीघ्र विवाह हुने र धर्म, अर्थ, काम तथा मोक्ष प्राप्त गर्न सकिने शास्त्रीय मान्यता छ। कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ। यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ। कात्यायनीको ध्यान गर्दा आज्ञा चक्रमा बसेर यिनको आराधना गर्ने गरिन्छ। उनलाई खुसी पार्न ‘ॐ ऐं ह्रीं क्लीं कात्यायन्यै नमः’ भनेर जप गरिन्छ।

सातौं दिन (फूलपाती)

नित्य पूजासँगै नवदुर्गा भवानीको कालरात्री स्वरूपको पूजा गरिन्छ। कालरात्रीको पूजा मध्यरातमा गर्ने चलन पनि छ। सम्पूर्ण अशुभ, भय, अहंकार, अज्ञान आदिको काल अर्थात् विनाशिनीका रूपमा अवतरण भएकी हुँदा दुर्गादेवीको यो स्वरूपलाई कालरात्री भनिएको हो। कालरात्री शब्दको अर्थ ध्वन्यात्मक छ। रात्रि भनेको अज्ञान, अन्धकार, भय, डर, त्रास भन्ने अर्थमा र काल विनाशिनी अर्थात् शुभकरी भन्ने भावमा कालरात्री नामकरण भएको पाइन्छ। चार हात भएकी कालरात्री स्वरूपमा दुर्गा भवानीको यो स्वरूप अन्य स्वरूपभन्दा डरलाग्दो छ। विधिपूर्वक नियम पालना गरी पवित्र भएर एकचित्तले कालरात्रीको साधना उपासना गर्नाले साधक कहिल्यै पनि दुःख र दरिद्रतामा पर्दैन भन्ने शास्त्रमा उल्लेख पाइन्छ। यस दिन आठ वर्षकी कन्यालाई ‘शाम्भवी देवी’का नामले पूजा गरी विशेष रूपमा छाता र फूलमाला चढाउने परम्परा छ। उनको आराधना गर्दा ललाटमा ध्यान गर्ने गरिन्छ। उनलाई खुसी पार्न ‘ॐ ऐं ह्रीं क्लीं कालराœयै नमः’ मन्त्र जप्नुपर्ने शास्त्रीय विधान छ।

यस दिन पूजाकोठा वा देवीघरमा फूलपाती भिœयाइन्छ। फूलपाती भन्नाले–  

‘रम्भाकच्चु हरिद्रा च जयन्ती विल्वदाडिमौ,

अशोकौ मानकश्चैव धान्यानि नवपत्रिका’ अर्थात् केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशोक र जयन्ती नवपत्रिका वा फूलपाती भनेर शास्त्रमा उल्लेख छ। यो फूलपाती साइत हेरेर दसैंघरमा भिœयाउने गरिन्छ।  

आठौं दिन (महाअष्टमी)

नित्य पूजासँगै दुर्गा भवानीको महागौरी स्वरूपको पूजा–आराधना गरिन्छ। माता दुर्गाको यो आठौं रूप हो। माता पार्वतीले यही स्वरूपमा भगवान् महादेवलाई पतिको रूपमा पाऊँ भनी तपस्या गरेकी थिइन्। दुर्गा भवानीको यो स्वरूप अत्यन्त शान्त छ। चार हातमध्ये दायाँतिरका दुई हात अभयमुद्रा र त्रिशूल लिएकी तथा बायाँतर्फका दुई हातमा क्रमशः डमरु र वरमुद्रा धारण गरेकी महागौरीको उपासनाले असत्, अन्याय र अत्याचारको मार्गबाट निवृत्त भई सत्य न्याय, सदाचारको मार्गमा लाग्न प्रेरित गर्छ।  

यस दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ किनकि सतीदेवीले प्राण त्याग गरेपछि त्यही बेला रिसले चुर भएका महादेवबाट महाकालीका रूपमा भद्रकाली प्रकट भएकी थिइन्। तसर्थ, यसै दिन महागौरीसँगै भद्रकालीस्वरूपा देवीको पनि पूजा गर्ने चलन छ। यस दिन पूजापछि बलि दिने चलन छ। बलि भनेको मनुष्यमा रहेका काम, क्रोध, लोभ, मोह, मद, अहंकार आदि दुर्गुणको त्याग गर्नु या भगवतीको चरणमा अर्पण गर्नु भनिएको हो। शास्त्रमा कुभिण्डो वा बेलको बलि दिनुपर्छ भनिएको छ।  

यस दिन नौ वर्षकी कन्यालाई ‘दुर्गादेवी’ नामले पूजा गर्ने चलन रहेको छ। उनको साधनाले अलौकिक सिद्धि प्राप्त हुनुका साथै असम्भवदेखि असम्भव कार्य पूर्ण हुन्छन्। त्यस्तै, देवीको वाहन सिंहलाई विधिवत् पूजा गर्ने र सकेसम्म नौ प्रकारका हातहतियारको पूजा गर्ने प्रचलन रहेको छ। माता महागौरीको आराधना गर्दा मस्तिष्कमा ध्यान गरी जप गर्ने गरिन्छ। उनलाई खुसी पार्न ‘ॐ ऐं ह्रीं क्लीं महागौर्यै नमः’ भनेर जप गर्नुपर्ने शास्त्रीय विधान छ।

नवौं दिन (महानवमी)

नित्य पूजासँगै सिद्धिदात्रीस्वरूपा दुर्गाको पूजाआराधना गरिन्छ। नामअनुसार सिद्धिदात्री देवीका सम्पूर्ण अंगहरू दिव्य कान्तियुक्त हुन्छन् भनिएको छ। नाना प्रकारका रत्नजडित अमूल्य आभूषण धारण गरेकी, चार हात भएकी, कमल तथा सिंहको आसनमा विराजमान देवीको पूजाआराधनाबाट सर्वसिद्धि प्राप्त हुने विश्वास रहेको छ। देवीभागवतमा भगवान् शिवजीले उनकै कृपाले सम्पूर्ण सिद्धि प्राप्त गरेका थिए र अर्धनारीश्वर रूपमा उनी प्रसिद्ध भएको उल्लेख गरिएको छ। यस दिन नवदुर्गाको शास्त्रीय विधिअनुसार पूजा गरी १० वर्षीया कन्या ल्याएर सुभद्रा नाम राखी पूजा गरिन्छ। नवमीको दिन नौजना कन्या र दुई बटुक (गणेश र भैरव) को रूपमा पूजन गर्ने पद्धति पनि रहेको छ। मन्त्रसहित कुभिन्डो र नरिवलको बलि अर्पण गरिन्छ र अग्निस्थापना विधिले विशेष रूपमा भगवतीको नाममन्त्रले हवन गरिन्छ।  

सप्तसती वा देवीभागवतको पाठ पनि यसै दिन पूर्ण हुन्छ। सिद्धिदात्री देवीका चार हात र सिंह वाहनले सबैलाई अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व गरी आठ सिद्धि प्रदान गर्दछन् भनिएको छ।  

सिद्धिदात्रीको अनुकम्पा प्राप्त भए जगत्मा केही पनि अप्राप्य र दुर्लभ हुँदैन भनिएको छ। सिद्धिदात्रीलाई मध्य कपालमा साधना गर्ने गरिन्छ। उनको साधनाले सबै मनोकांक्षा तथा सिद्धि पूरा हुने धार्मिक विश्वास रहेको छ। उनलाई खुसी पार्न ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदाœयै नमः’ भनेर जप गरिन्छ। यस दिन नौवटी कन्याको पूजा, विश्वकर्माको पूजा, कलकारखाना तथा मेसिन पूजा, हात्ती, घोडा, मोटरसाइकल, गाडी आदि वाहनको पूजा गर्ने चलन रहेको छ।  

यसरी शास्त्रीय विधिले नौ दिनसम्म जगज्जननी चण्डिकाको पूजाआराधना गरेर विजयादशमीका दिन अपराजिताको पूजा गरी प्रसाद ग्रहण गरे शत्रुमाथि विजय प्राप्त गर्नुका साथै राज्य प्राप्ति हुन्छ भनेर देवीभागवतमा बताइएको छ।  

प्रकाशित: १ कार्तिक २०७७ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App