टीका आत्रेय
प्रिय पर्वहरू
महामारीको यो वर्षमा
कसैगरी नसम्झनू
सातो उडेका घरहरू
तिमीहरू सुख साट्ने खुसी हौ
आँसु सुहाउँदैन आँखामा,
तिमी आयौ भने नआऊ भन्दाभन्दै
पखालिन्छ गाजल सधैँसधैँलाई
भत्किनसक्छ जिन्दगी सधैँसधैँलाई
सुकेको खर भएको छ समय
डढेलो सल्किन सक्छ,
नआओ आगाको साम्राज्यमा
तिमी स्वयं आगो बन्न सक्छौ
र आफैलाई जलाउन सक्छौ
तिमीहरूले बाँच्नु छ
अनन्त – अनन्तसम्म
मुटु जोड्ने पुल भएर
प्रिय उमङ्गहरू
ननाच्नू मन्दिरका आँगनहरूमा
नउम्रिनू पहेंलपुर जमराहरूमा
र नफुल्नू सयपत्री मखमलीहरूमा,
नटेक्नू भन्दाभन्दै टेक्यौ भने
यो सन्त्रास भरिएको आँगनमा
वर्षिनेछन् वृद्ध बाआमाका आँखाहरू
तड्पिनेछन् चेलीमाइतीका आत्माहरू
नआउनू प्रिय पर्वहरू
यसपालि आउँदै नआउनू
ती फूलजस्ता नानीका
पुतलीजस्ता रहरहरू
उड्न पाउने छैनन् उमङ्ग भरेर
मच्चिने छैनन् पिङका झड्काहरू
तिमीहरू आयौ भने नटेरीनटेरी
जल्नेछन् कलिला सपनाहरू
खरानी भएर
प्रिय पर्वहरू,
यो वर्ष यस्तै रह्यो
चित्त नदुखाउनू
बाँचिएछ भने यो घर तिम्रै हो
हाँसीहाँसी स्वीकार गरूँला
अर्को साल अँगालोभरिभरि
विन्ती,
नटेक्नू यसपटक
यो थलिएको संघारमा
मृत्यु सल्बलाइरहेको छ
कोरोना टाँसिएर
अक्षतार आशीर्वादहरूमा ।
प्रकाशित: १ कार्तिक २०७७ ०३:५९ शनिबार