८ वैशाख २०८१ शनिबार
कला

चोर

लघुकथा

आविष्कार भारती

 

रातको ठीक ११ बज्यो, ग्याँस–स्टेसन अगाडि गाडी रोकेर अश्लेश भित्र छिर्यो । ढोका खोल्नासाथ ट्याङ् घण्टी बज्यो । भित्र रजिस्टरमा काम गरिरहेको कामदारको एउटा बफादार सूचक बनेर ।

अश्लेश दाहिने हात उठाउँदै काम गरिरहेकी गोरीलाई सोध्छ, – हाउ यु डुइङ ? हाउ वाज योर सिफ्ट ?’

अनि ऊ काउन्टरभित्र पस्छ ।

गोरी “इट वाज नट ब्याड, सी यु टुमरो, ह्याभ ए सेफ नाइट” भन्दै बाहिर निस्किन्छे ।

यो ग्याँस–स्टेसन यानेकी अमेरिकी पेट्रोल पम्प चौबिसै घण्टा खुल्लै रहन्छ । यहाँ दिनभरि एउटी गोरी काम गर्छे र रात परेपछि अश्लेश जस्ता विद्यार्थी काम गर्छन्, जो आफ्नो युनिभर्सिटीको शुल्क तिर्न र खर्च टार्न रातदिन खटिरहन्छन् । काउन्टरको वरिपरि र स्टोरभरि आठदशवटा सेक्युरिटी क्यामेरा जोडिएको छ । लाग्छ समानभन्दा पनि यो पसलमा अरू नै कुनै कुराको चोरीको डर छ साहूलाई । यस पसलको साहू पाकिस्तानबाट धेरै पहिले आएका सलमान भाइ हुन् ।

अश्लेश इमान्दार भएर काम गर्छ र पनि सल्मान भाइ समयसमयमा फोन गरेर, “मेरा नजर तेरे उपर है, कहीँ इधरउधर किया तो तेरा क्रेडिट कार्डका पैसा सब ले’ के तुझे पुलिसको देदुङ्गा समझ रहा है ना तु ?” भनेर हेपेर भनिरहन्छ । अश्लेशको हिन्दी अलिकति कम्जोर छ, अम्रिका आएर पनि हिन्दीमै कुरा गर्नपर्ला भन्ने उसले सपनामा पनि चिताएको थिएन । हँसिलो अनुहार गर्दै फोनमा उत्तर फर्काउँछ, “ओहो सल्मान भाइ, तपाईंले मलाई चोर सम्झिता है ? ल हेर त मैँचैँ यो स्टोरको आफ्नै सम्झेर काम गर्ता हुँ अनि तपाईंचैँ । यह तो गलत हो गया ना ।”

अश्लेशको धुजाधुजा भएको हिन्दी बल्लबल्ल बुझेर सल्मान साहू हाँस्छ र भन्छ, ‘क्या पता कौन कब चोर बन्जाए ।’

अश्लेश लुकेर काम गरेकोमा खिन्न मन गर्दै, अमिलो अनुहार र मन लिएर आफ्नो सिफ्टको काममा तल्लीन हुन थाल्छ । त्यतिबेलै उसको साथीले नेपालबाट फोनमा भन्छ, ‘अमेरिका पुगेकै छस्, मोज गर केटा !’

प्रकाशित: ३० आश्विन २०७७ ११:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App