अवतार ढकाल
रोहन र म सँगै पढेका साथी थियौँ । स्नातक सकिएपछि म जागिरमा लागें । ऊ राजनीतिमा छिर्यो । राजनीतिबाट त्यति माथिको पदमा पुगेको त थाहा थिएन तर मजस्ता समान्य जागिरेको भन्दा अलि माथिल्लो स्तरको जीवन बाँचिरहेको थियो ।
अस्ति उसको घरमा जाँदा ऊ मोवाइलमा थियो । मतिर खासै ध्यान नदिएको देखेपछि मैले भनें , ‘के पारा हो , केमा व्यस्त छस् यार ! घरमा साथीलाई बोलाएर आफू पूरै मोवाइलमा झुन्डिरहने !’
‘एकैछिन पख् है । यहाँ केही फोटाहरू आफूले मात्र हेर्न मिल्ने बनाउँदै छु । त्यो मन्त्री भ्रष्टाचारमा मुछिएछ । उसँग खिचेर फेसबुकमा राखेका फोटाहरू लुकाउनु पर्यो नि यो बेलामा नत्र आफ्नो पनि बेइज्जत हुन्छ । लास्टै दुख दिन्छन् यार ।’ उसले आफूले गर्दै गरेको काम भन्यो ।
मैले उपाय सुझाएँ, ‘त्यस्ता भ्रष्टको फोटो पूरै हटाइदिनू नि ! किन लुकाउनु मात्र ।’
‘ तँ उहिलेदेखि अहिलेसम्म उस्तै सोझो छस् , यार । धन्न पढेकै भरमा जागिरचाहिँ पाइस् र सुखैले बाँचेको छस् । नत्र हलो जोत्थिस् कि भारी बोक्थिस् ।’ उसले भन्यो ।
मैले कुरो नबुझेर उतिर हेरिरहें ।
उसले मलाई सम्झाउँदै भन्यो, ‘हेर केटा, यो नेपाल हो । केही दिनपछि फेरि यिनै फोटाहरू भटाभट सार्वजनिक गरेर धाक जमाउनुपर्छ ।’
प्रकाशित: ३० आश्विन २०७७ ११:२९ शुक्रबार