१५ कार्तिक २०७७ शनिबार
कला

म पेन्टर हैन

कविता

 विमला चाम्लिङ  

 

 

म पेन्टर हैन त्यै पनि,

पेन्ट गर्दै छु, दुखसुखको साझा फूलबारी,  

लड्दै –उठ्दै गर्ने क्रमागत जीवनको पहाड ।

कोठा, आँगन र घुरयानबारीका सप्पै कान्लाहरूमा

मेरो पसीनाका रङहरूले पेन्ट गर्दैछु ।

नगरेको कहाँ हो र !

धेरै लगानी गरेर स्कुलमा पनि,

बर्षौं बर्ष पेन्ट गरेकै हुँ ।

नतीजा उच्च श्रेणीमा आछ ।

जागीरको सिलसिलामा

अफसोस,

फाइल समातेर बल्लतल्ल हाकिमको कोठा पुग्दा

मेरो उचाइ, उमेर र रङ हेरेर

सर्टिफिकेटको मूल्य शून्य बनाइएपछि ।

असन्तुष्टि र कलिला सपनाहरू  

पानीजस्तै छताछुल्लै बाटोमै पोखेर ।

फेरि तिनै हाकिमको घरका लागि  

गिट्टी, बालुवा र सिमेन्टले भरिएको,

डोकाहरु पनि थुप्रै पेन्ट गरेको छु ।

म पेन्टर हैन त्यै पनि  

उच्च श्रेणीको सर्टिफिकेटको,

शून्य उपलब्धि पाएपछि,

सक्कली र नक्कली सर्टिफिकेट्को छानबिन गर्नु  

मन्त्रालयमा सिफारिस पठाउँदापठाउँदै

आधा उमेर सकिदासम्म पनि केही पार नलागेपछि।

आज हरेक दिन जङ्गल पेन्ट गर्दैछु ।

किनकि यहाँ अनुभवले चल्छ ।

उच्च श्रेणीको सर्टिफिकेटले हैन  

यतिसम्म कि घाँस, दाउरा गर्ने क्रममा

सुनाखरी र चमेली फूलले  

जबसम्म हार स्वीकार गर्दैन,

तबसम्म पसीनाको पर्फ्यूम छरिरहन्छु।

छरिरहन्छु सुगन्धित फूलको वरिपरि,  

अमिलो पसीनाको पर्फ्यूम छरिरहन्छु।

अनाजका दानाहरू उकेरी नसकेसम्म

भालेको पहिलो डाँकोसँगै उठेर,

जंगली जनावरहरूले घर जाने  

अनुमति र धम्की  नदिएसम्म

मेरो पसीनाले पेन्ट गरिरहन्छु 

खेतबारीका सबै कान्लाहरूमा ।

तर म ढुक्क छु, अबदेखि,

उच्च श्रेणीको सर्टिफिकेट बोकेर,

हाकिमको घरको ढोकामा,  

चिप्पिएर, गर्ल्याम्म लड्ने छैन महोदय ।

परिवारको साझा, तहगत सपना

यही अमिलो पसीनाको पर्फ्युमले

पेन्ट गरेर सुगन्धित बनाउने छु  

म पेन्टर हैन, तरै पनि  

पसीनाले सबै पेन्ट गरिसकेको छु ।

प्रकाशित: ३० आश्विन २०७७ १६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App