coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सन्ध्याको अनौठो यात्रा

बालकथा

गीता अधिकारी

 

सबैतिर डरलाग्दो हुँदै गएको थियो । कारण थियो संसारका सबै ठाउँमा फैलिदै गएको नयाँ रोग । वैज्ञानिकहरूले यो रोगको नाम कोरोना भाइरस (कोभिड–१९) राखेका थिए । यसले गर्दा सबैतिर ठप्प थियो भने सन्ध्या स्कुल नगएको पनि आठ महिना हुनै लागेको थियो । सुरुको दुईतीन महिना त्यतिकै घरमा बसे पनि पछिल्लो समय भने सन्ध्याको अनलाइन कक्षा भइरेहको थियो । लामो समयसम्म साथीहरू भेट नहुँदा सन्ध्यालाई कतिबेला स्कुल जाउ र साथीहरूसँग भेटौ भइरहेको थियो । स्कुल जाने खेल्ने सन्ध्या यतिबेला घर भित्र नै बन्दी भएकी थिइन् । सन्ध्याको ममले सन्ध्यालाई नयाँनयाँ कुराहरू त सिकाउनुहुन्थ्यो तर पनि उनको मन भने कतिबेला बाहिर जाऊँ, बाहिर गएर साथी भाइहरू भेटौ धेरै खेलौ भइरहेको थियो ।  

काठमाडौंको राम्रो स्कुलमा भर्खर सात कक्षामा पढ्दै गरेकी सन्ध्या बाबाआमाकी प्यारी छोरी थिइन् । बाबाआमा साथै घरका सबै परिवारले सन्ध्याले गरेका कामको प्रशंसा गर्ने गर्थे । स्कुलमा पनि त्यतिकै सबैको प्यारी थिइन् उनी । पढ्न पनि त्यतिकै जाँगर र नयाँनयाँ कार्य गर्न मन पराउने सन्ध्याको बानीका कारण स्कुलका शिक्षकशिक्षिकाको पनि उनी प्यारी थिइन् ।

गत वर्ष स्कुलबाट उनी पोखरा घुम्न गएकी थिइन् । सन्ध्याले अहिलेसम्म घुमेको ठाउँमा सबैभन्दा मन परेको ठाउँ थियो पोखरा । उनी जतिबेला जहाँ पनि पोखराका बारेमा कुरा गरेर, पोखराको वर्णन गरेर थाक्दैनथिन् । उनलाई पोखराले लोभ्याएको थियो । कुनै पनि कुरालाई रमाइलो तरीकाले प्रस्तुत गर्ने सन्ध्याको बानीले सामान्य कुरा पनि रोचक हुने गर्थे । यी सबै कुरा उनले आफ्नो हजुरबाबा, हजुरआमाले सुनाउने कथाबाट सिकेकी थिइन् ।

एकदिन सन्ध्या अचानक नयाँ ठाउँमा पुगिन् । सन्ध्यालाई लिन विशेष खालको यन्त्र आएको थियो । चिरपरिचत जस्ता लाग्ने साथीको साथमा लागेर उनीसँगै गइन् । बादलको माथिमाथि हुँदै उनी त्यस ठाउँमा गइन् । उनलाई अहिलेसम्म घुमेको ठाउँमध्ये रमाइलो लागेको ठाउँ पोखराभन्दा पनि त्यो विशेष लागेको थियो । नयाँ साथी भए पनि सन्ध्याका लागि ती पहिलेदेखि देखेजानेका जस्ता लागिरहेका थिए । कोरोना भाइरसका कारण घरमा नै बन्दी भएकी सन्ध्या एकैपटक आफूले नसोचेको ठाउँमा पुग्न पाउँदा आनन्दित भएकी थिइन ।

उनका साथीहरूले उनलाई राम्रो व्यवहार गरिरहेका थिए । नयाँनयाँ  मीठामीठा खानेकुरा र नयाँ रमणीय ठाउँले उनलाई आनन्दित बनाएको थियो । सन्ध्या हामी बसेको ठाउँ पृथ्वी लोकभन्दा अर्कै ठाउँमा गएकी थिइन् । उनका साथीहरूले उनलाई पृथ्वीका मानिसले आफैंले आफ्नै कारणले नयाँनयाँ रोग निम्ताएको बताएका थिए । उनीहरूले त्यही कारणले अहिले पृथ्वीका मानिसले दुःख पाइरहेको भने ।

सन्ध्यालाई उनका साथीले अब सधैँ यही बस्न र पृथ्वीमा नजान आग्रह गरे तर सन्ध्याले मानिन् । सन्ध्याले जिद्धी गरेपछि उनीहरूले सन्ध्यालाई धेरै उपहार दिँदै पृथ्वीमा ल्याएर छोडिदिए । सन्ध्यालाई यो कुरा निकै अनौठो लाग्यो । उनले घरपरिवारका सबैलाई यो कुरा सुनाइन्  तर कसैले पत्याएनन् । जब उनले उनका साथीहरूले दिएका अनौठा उपहार देखाइन् तब सबैजना उनको कुरा पत्याउन बाध्य भए । सन्ध्यालाई अर्कै लोकका मान्छेले अज्ञात उडान वस्तु (उडड्न तस्तरी) मार्फत् आफ्नो ठाउँमा लगेर फेरि ल्याइदिएको उनका घरका सदस्यले अड्कल काटे । सन्ध्याले यो यात्राबारे रोचक ढंगले प्रस्तुत गर्ने गर्छिन् तर उनको कुरा पत्याउने भने कोही छैन । उनले यहाँभन्दा अर्को ठाउँमा रहेका मान्छे धेरै राम्रा र धेरै कुराको ज्ञान भएको जतिबेला पनि बताउने गर्छिन् ।

प्रकाशित: ३० आश्विन २०७७ ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App