बुबाले भन्नुभयो, ‘आमा, बिरामी भइन् । यहाँ उपचार हुँदैन रे । ठाउँमै लैजानुपर्छ रे । के गर्नु होला अब ?’
कान्छा छोराले भन्यो, ‘खोई, छ महिना भयो कोरोनाले गर्दा कोठामा थुनिएको । काम गर्न पाएको छैन । यताउति गर्दै गर्नुस् । पछि मिलाउँला ।’
जेठाको जवाफ आयो, ‘लुकेर काम गर्दै थिएँ । अचानक कोरोना फैलियो । बिरालाले खेदेको मुसाजस्तै भएको छु । म भाइलाई भन्छु । भाइले नपठाए कसैबाट ऋण सहयोग लिनुस् । पछि हेरौँला ।’
बुबाले छोरीलाई अस्पतालको छेउमा बोलाए र भारी मन फुकाउँदै भन्नुभयो,
‘छोरी अब के गर्नु होला ?’
छोरीले यताउतिबाट बल्लतल्ल खर्च जुटाइन् । हेली चार्टड गरेर आमालाई उडाइन् र कोरोनाको पर्वाह नगरी आमाको उपचार गराइन् ।
केही समयपछि दाजुभाइ घर फर्किए । उपचारमा भएको खर्चलाई लिएर दाजुभाइका बिचमा विवाद भयो ।
छोरीले आँखाको आँसु पुछ्दै भनिन्, ‘सक्ने भए म पूरै खर्च बेहोेर्थें। शत्रुलाई रमिता देखाउनु हुँदैन । उपचारमा लागेको खर्च चार भाग लगाऊँ । दुई भाग म बेहोर्छु, बाँकी एकएक भाग तपाईहरूले मिलाउनू !’
कान्छाले भन्यो, ‘कति धेरै खर्च, बिल त होलान् नि ?’
जेठाले भन्यो, ‘त्यही त, गाउँमै हुने उपचार । बाठो भएर कुदाइस् । अहिले हामीलाई यत्रो टेन्सन ।’
बुबाले बिल देखाउँदै भन्नुभयो, ‘साँढे पाँच लाख जति खर्च भएको थियो तर यहाँ पाँच लाखको मात्रै बिल भेटियो ।’
जेठी बुहारीले शङ्काउँदै भनिन्, ‘यी सबै कीर्ते बिल हुन् । नत्र किन देखिएन बाँकी बिल !’
कान्छी बुहारीले भनिन्, ‘जे गर्नुपर्छ मैयाँले गर्छिन् । उनैले खर्च गरेकी हुन् ।’
आमाले नरम हुँदै भन्नुभयो, ‘के गर्नु म ज्यादै हुस्सु छुु । बाबु नानी हो, सबै कुराको बिल कहाँ राख्न सकिन्छ र ! तिमीहरूलाई हुर्काउन, बढाउन, पढाउन लागेको खर्चको बिल पनि त मसँग छैन नि ।’
प्रकाशित: २२ आश्विन २०७७ १२:११ बिहीबार