२५ फाल्गुन २०७७ मंगलबार
कला

यथार्थता

लघुकथा

भूतपूर्व हाकिम सा’प अनन्त आफ्नी श्रीमतीसँग आफ्नै घरको पटाङ्गिनीमा कुर्सीमाथि बसेर विगत सम्झिँदै थिए –

– चाहे आमा समूह होस् ,चाहे एकल समूह जुनले कार्यक्रम गरे पनि मै प्रमुख अतिथि हुन्थेँ ।

– मलाई डिनरका लागि घरमै बोलाउँथे । नयाँ सुब्बाकी श्रीमतीले त नानीलाई झैँ मलाई खाना खुवाउनै खोज्थिन् ।

– सुब्बा साहेव पनि भन्थे, अडिटका लागि के पीर मान्नुहुन्छ सर । मिलाउने त म छँदै छु नि ।

– शर्मिला सुब्बा पनि भन्थिन्, यो चोटिचाहिँ जसरी हुन्छ मेरो सरुवा मिलाइदिनुस् है, हजुर जुन बेला आए पनि हुन्छ । म सधैं एक्लै हुन्छु कोठामा ।

– ठेकेदारले भन्थ्यो, सडकको पिच बिस्तारै सुरु गरौंला । हजुरलाई उपहार टक्य्राउन आएको ।

– खर्दार पनि भन्थ्यो, ब्रुनाईको ज्याकेटसुज हजुरलाई नै भनेर साथीले पठाइदिएको ।

यस्तैयस्तै मीठो कुरामा रमाउँदै अन्ततले हाकिमे जीवन गुजारेका थिए । उनले आफ्नी श्रीमतीलाई भने – के गर्नु, आज आफ्नै घरका कसैले टेर्दैनन् । जिन्दगी सधैं एकनासको नहुने रैछ बूढी । पहिले परैबाट जदौ गर्नेहरू नचिनेझै गर्छन् ।

उनकी श्रीमतीले पानी पर्न लागेको आकाशझैं अँध्यारो अनुहार लगाएर बूढालाई हेरिन् ।

बाटामा केही हिँडिरहेथे । त्यसमध्येको एकले उनकै घरलाई देखाएर आफ्नो साथीलाई भन्यो – यार, यो नामुद घुस्याहा हाकिमको घर हो ।

प्रकाशित: २१ आश्विन २०७७ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App